वासिङटन डिसी, असोज " />
काबुलमा ड्रोन आक्रमण गर्दा १० जना नागरिक मारिएको घटनामा अमेरिकाले माग्यो माफी
शनिबार, असोज ०२, २०७८ मा प्रकाशित
वासिङटन डिसी, असोज २ / गत महिना अफगानिस्थानको काबुलमा भएको ड्रोन आक्रमणप्रति अमेरिकी सेनाले माफी मागेको छ।

हमिद कारजाई विमानस्थलमा भएको सो आक्रमणमा १० जना नागरिकको मृत्यु भएको थियो। जसमा सात जना बालबालिका थिए। यटर्सका अनुसार त्यस आक्रमणप्रति शुक्रबार अमेरिकी सेनाले माफी माग्दै यसलाई ‘दु:खद् गल्ती’ भएको बताएका छन्।

पेन्टागनले अगष्ट २९ मा ‍भएको सो आक्रमण इस्लामिक स्टेटका आत्मघाती लडाकूलाई लक्षित गरेको बताएको थियो। अफगानिस्तान छाड्नेक्रममा ती लडाकूले अमेरिकी सेनालाई खतरा उत्पन्न गरेको भन्दै आक्रमण गरेको पेन्टागनको भनाइ थियो।

सो आक्रमणमा स्थानीय नागरिकको मृत्यु भएको समाचार आएपछि पनि अमेरिकी मरिन कोर्पस् जेनेरल मिककेन्जीले आक्रमणको बचाउ गरेको रोयटर्सले जनाएको छ।

ड्रोन आक्रमणले गर्दा विमानस्थलमा अमेरिकी सेनालाई पैदा भएको खतरा हटेको उनले बताएका थिए। अहिले उनले गल्ती भएको भन्दै माफी मागेका हुन्।

‘हाम्रो अनुसन्धानले अब त्यो आक्रमण दु:खद गल्ती भएको निष्कर्ष निकालेको छ,’ उनले पत्रकारहरूसँग भने। मारिएका व्यक्तिहरू पनि कुनै इस्लामिक स्टेट, आइसिस खोरासन वा अमेरिकी सेनालाई खतरा उत्पन्न गर्नेहरू नभएकोमा विश्वस्त भएको बताए।

पेन्टागनले मृतकका परिवारलाई क्षतिपूर्ति समेत दिने तयारी गरिरहेको मिककेन्जीले बताए।

अमेरिकी रक्षा मन्त्री लोइड अस्टिनले जारी गरेको विज्ञप्तिमा आक्रमणमा अह्मदीको पनि मृत्यु भएको उल्लेख छ। जो एक गैरनाफामूलक संस्था न्युट्रिसन एन्ड एडुकेसन इन्टरनेसनलमा काम गर्थे।

‘अहिले हामीले थाहा पाएका छौं कि मिस्टर अह्मदी र आइसिस खोरासनबीच कुनै सम्बन्ध थिएन। त्यो दिन उनले गरेको गतिविधि पूर्णरूपमा हानीरहित थियो,’ अस्टिनले विज्ञप्तिमा भनेका छन्, ‘हामी माफी चाहन्छौं र यो भयानक गल्तीबाट सिक्ने प्रयास गर्नेछौं।’

पेन्टागनका उच्च अधिकारी र रक्षा मन्त्रीले नागरिक मारिएको घटनामा प्रत्यक्ष रूपमा माफी मागेकोले यसलाई एकदमै दुर्लभ मानिएको छ।

अमेरिकाले गरेको ड्रोन आक्रमणको तीनअघिमात्रै इस्लामिक स्टेटका आत्मघाती लडाकूले विस्फोट गर्दा १३ जना अमेरिकी सेनाको मृत्यु भएको थियो र विमानस्थलमा अमेरिका जान जम्मा भएका अफगानी नागरिकहरू तितरवितर भएका थिए।

त्यही आक्रमणपछि अमेरिकाले पूर्वी अफगानिस्तानमा पनि ड्रोन आक्रमण गरेको थियो। जसमा दुई जना लडाकू मारिएको बताइएको छ। अर्को आक्रमणमा भने १० जना नागरिक मारिएको खुलेको हो। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय