प्रहरी दिवसमा आत्मियता र सम्मान एकै साथ पाउँदा खुसी भयौ
बिहिबार, असोज २१, २०७८ मा प्रकाशित

नगर प्रमुख यादव, प्रहरी कर्मचारी, अमर प्रहरी परिवार र जग्गादाता ६६औं प्रहरी दिवसमा सम्मानित भएका छन् ।

राम प्रसाद चौहान

बर्दिया, असोज २१

अमर प्रहरी कर्तव्य पालना गर्ने क्रममा शाहदत प्राप्त गरेका अमर थारुलाई सम्मान गर्ने क्रममा सम्मान थाप्न आएकी पत्नि शर्मिला चौधरी प्रहरी प्रमुख ईश्वर कार्की सामु पर्दा खुसीको आँसु गहभरी भयो । सम्मान थापेर फर्किदा आँसुका बलेन धारा बगे । सम्मानमा बोलाउँदा मात्र उनले खुसी व्यक्त गरेकि थिएनन् ।

अमर प्रहरी र पूर्व प्रहरीलाई स्वास्थ्य सामाग्री बोकेर भेटघाटमा पुगेका प्रहरी प्रमुख कार्कीको आत्मियता देख्दा खुसीको आँसु झारेको उनले सुनाईन् । प्रहरी प्रमुख कार्कीले कोरोना कहरका बेला अमर प्रहरी र पूर्व प्रहरीसँग अनुभव साटासाट गरेको पलले एसपी कार्कीलाई उनीहरुको सामु लोकिप्रिय बनाएको छ ।

यस्तै कर्तव्य पालना गर्ने क्रममा शाहदत प्राप्त गरेका देवेन्द्र बहादुर खडकाको सम्मान थाप्न आएकी पत्नि धना खड्का पनि आत्मियता र सम्मान एक साथ पाउँदा भावनाले ओतप्रोत भएको सुनाईन् ।

यस्तै ६६औं प्रहरी दिवसका अवसरमा बर्दियाका ८ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । जिल्ला प्रहरी कार्यालयमा बुधबार आयोजित विशेष कार्यक्रममा उत्कृष्ठ काम गरे वापत प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको हो ।

इलाका प्रहरी कार्यालय ढोढरीका प्रमुख प्रहरी निरीक्षक राजन कुमार गौतम, जिल्ला प्रहरी कार्यालयका लेखा प्रमुख प्रहरी नायव निरीक्षक कपिल शर्मा, जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक गोपाल ज्ञवालीसहित ८ जना जुनियर प्रहरी अधिकृत तथा जवानलाई पुरस्कृत गरिएको हो । प्रहरी दिवसमा आयोजना गरेको व्याडमिन्टन प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासील गर्ने प्रहरी खेलाडी जोडिले पनि सम्मान पाए ।

सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सक्रिय सहभागिता जनाई प्रहरी र समुदायबीचको समन्वय एवं सहकार्यको भुमिका निर्वाह गरे वापत गुलरिया नगरपालिकाको तर्फबाट नगर प्रमुख मुक्तिनाथ यादवलाई कदर पत्रले सम्मानित गरिएको छ ।

प्रहरी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले प्रहरीले विकास निर्माणमा पु¥याएको योगदानको प्रशंसा गर्दै धन्यवाद दिएका दिए । प्रहरी प्रशासनको समन्वयमा गुलरिया बजार तथा गाउँ क्षेत्रमा बाटो निर्माण गर्दा कुनै असहजता नभएकोसमेत नगर प्रमुख यादवले स्मरण गरे ।

जिल्ला स्थित प्रहरी चौकीका नाममा जग्गा दान गर्ने ६ जना जग्गादातालाई प्रहरी प्रधान कार्यालय नक्सालबाट प्राप्त कदर पत्रले प्रहरी दिवसको अवसरमा प्रहरी उपरीक्ष ईश्वर कार्कीले सम्मानित गरेका छन् ।

बारबर्दिया नगरपालिका–६ का ठग्गुलाल शर्मा, गेरुवा गाउँपालिका–६ नारायणपुरका बसन्त गिरी, बढैयाताल गाउँपालिका –८ स्याउलीबजारका बसन्त खड्का, बढैयाताल गाउँपालिका–८ स्याउलीबजारका टुकराज घिमिरे, बढैयाताल गाउँपालिका–८ कण्ठपुरका ज्ञान बहादुर श्रेष्ठ र बढैयाताल गाउँपालिका–८ कण्ठपुरका टेक नारायण ढकाल सम्मानित भएका छन् ।
जिल्ला प्रहरी कार्यालयको भौतिक पुर्वाधार निर्माण तथा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गुलरिया नगरपालिका–६ का वडा अध्यक्ष निरज कुमार शर्मा, उद्योग वाणिज्य संघका पुर्व उपाध्यक्ष मनोज कुमार यादव, खानेपानी उपभोक्ता समितिका अध्यक्ष मिनराज शर्मा, सन्तोष गुप्ता र जकिर हुसेन मनिहारलाई सम्मानित गरिएको छ ।
कार्यक्रममा स्वागत प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले गरेका थिए । कार्यक्रममा जिल्ला प्रमुख अधिकारी सन्त बहादुर सुनार, सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष यादव आचार्य र विभिन्न राजनितिक पार्टीका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय