कात्तिक २ / प्रधानमन्त्री " />
बाढी प्रभावितलाई राहत र उद्धारको व्यवस्था गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन
मङ्गलबार, कार्तिक ०२, २०७८ मा प्रकाशित

काठमाडौं,कात्तिक २ / प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न ठाउँमा आएको बाढीबाट प्रभावित भएकालाई तत्काल राहत तथा उद्धारको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएका छन् । आइतबारदेखिको अविरल वर्षाका कारण सुदूरपश्चिमलगायत देशका विभिन्न क्षेत्रमा धनजनको क्षति भएको छ ।

वर्षाका कारण भएको डुबानबाट हजारौं हेक्टरमा लगाइएको धान तथा अन्य बाली नष्ट भएको छ भने खेतीयोग्य जमिन बाढीले कटान गरेको छ । त्यसबाट प्रभावितहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्री खाणलाई निर्देशन दिएको प्रधानमन्त्री देउवाले ट्वीटमार्फत जनाएका छन् ।

यसैबीच, सुदूरपश्चिमलगायत देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण कृषिमा भएको क्षतिको बारेमा अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ ।

कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बाढीका कारण कृषिमा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी नै रहेको र मातहतका निकायहरूलाई क्षतिको विवरण संकलन गरेर पठाउन भनेको बताए ।

‘वर्षा भइरहेको कारण क्षतिको विवरण संकलनमा समस्या भइरहेको छ,’ उनले भने, ‘तै पनि प्रयास भइरहेको छ ।’ सञ्चारमाध्यममा आएका समाचारहरु हेर्दा ठूलै क्षति भएको अनुमान गरिए पनि पूर्ण तथ्याङ्क नआएसम्म कति क्षति भएको हो भनेर प्रस्ट भन्न नसकिने उनले बताए ।रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय