प्रचण्ड भन्छन् : मलाई डेढ लाखको खाटमा सुत्यो भनियो, ओलीले त करोडौंको सामान ल्याएका रहेछन्
शुक्रबार, कार्तिक १२, २०७८ मा प्रकाशित

काठमाडौं, कात्तिक १२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बालुवाटारस्थित निवास दरबारजस्तो बनाइएको र विदेशबाट महँगा-महँगा सामान ल्याएर प्रयोग गरेको बताएका छन् ।

आफू पहिलोपटक प्रधानमन्त्री हुँदा डेढ लाखको खाट प्रयोग गर्यो भनेर हल्ला चलाइएको तर ओलीले थाइल्याण्ड, इटलीलगायत देशबाट अरबौं करोडौंको सामान ल्याएर प्रयोग गरेको प्रचण्डको भनाइ छ ।

आज चितवनको भरतपुरमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘थाइल्याण्ड, इटाली, रोमबाट यति महँगा महँगा सामान ल्याएर त्यहाँ थुपारेको रहेछ हेर्नुस् । त्यो देख्दा अरु त अरु शेरबहादुर देउवाले जिब्रो टोक्नु भाछ रे ।’ प्रचण्डले थपे, ‘नुहाउनका लागि ल्याएको अरबौं, करोडौंको छ ।’

विदेशबाट महँगा सामान ल्याएर प्रयोग गरिएकोबारे गठबन्धनमा छलफल भएको भन्दै प्रचण्डले त्यो सार्वजनिक हुँदै जाने पनि बताए ।

प्रचण्डले भने, ‘अस्ति हामीले कुराकानी गर्यौं गठबन्धनमा । यो कुरा त जनतालाई थाहा हुनुपर्‍यो। अरबौंको सामान विदेशबाट ल्याउने प्रधानमन्त्री र म जिन्दगीभर प्रधानमन्त्री हुन्छु भन्ने देख्ने प्रधानमन्त्रीलाई नेपाली जनताले चिन्न पर्यो र आउने चुनावमा के सजायँ दिनुपर्ने हो जनतालाई नै फैसला गर्न दिनुपर्यो । यो कुरा अझ बिस्तारै आउँदैछ के के सामान भन्ने कुरा ।’

प्रचण्डले थपे, ‘नुहाउनका लागि ल्याएको अरबौं करोडौंको छ ।’

ती महँगा सामान उपभोग गर्न प्रचण्डले नदिएको भनेर ओलीले रिस गरेकोसमेत प्रचण्डले बताए । उनले भने, ‘ती महँगा सामान उपभोग गर्न नपाउने कसले बनायो ? मलाई लाग्या छ, नेपाली जनताले बनायो । उनलाई (ओलीलाई) लाग्या छ– माओवादीले बनायो, प्रचण्डले नै बनायो ।’अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय