जाजरकोट बस दुर्घटना: मृतक ५ जनाको सनाखत, गम्भीर घाइतेलाई हेलिकप्टरबाट नेपालगञ्ज पठाइने
आइतबार, मङि्सर १२, २०७८ मा प्रकाशित

जाजरकोट,मंसिर १२ / जाजरकोटमा भएको बस दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार रुकुम पश्चिमको आठविसकोट नगरपालिका–५ की २४ बर्षीय सन्ध्या मल्ल शाही, उनकी चार वर्षीय छोरी दिव्या शाही, जाजरकोटको नलगाड नगरपालिका–१० का शेरबहादुर परियार, कुशे गाउँपालिका–९ की १८ बर्षीया अनिला नेपाली र सप्तरीका ४० बर्षीया गंगाराम यादवको मृत्यु भएको छ।

नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको बस सदरमुकाम पुग्नुभन्दा करिब १० किलोमिटर यता भेरी नगरपालिका–१३ कुदुनजिकै बाराखोलामा दुर्घटनामा परेको थियो। शनिबार राती नेपालगञ्जबाट छुटेको ना ६ ख २७५७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालकसहित २८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ। उनीहरुलाई हेलिकप्टर मगाएर नेपालगञ्ज पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए।

‘अवस्था सामान्य नभएको बिरामीलाई हेलिकप्टर मगाएर नेपालगञ्जको अस्पतालमा लैजाने योजना बनाएका छौं,’ उनले भने।

दुर्घटनामा परेर घाइते भएकाहरुमध्ये नेपालगञ्जका २५ वर्षीय मोहन खत्री, प्रकाश थापा, जाजरकोटको बारेकोट गाउँपालिका–९ का संगिता बुढा, कालीबहादुर बोहरा, मनिषा बोहरा, वडा नम्बर ७ का प्रेम सिंह, वडा नम्बर ६ का कमल चलाउने, वडा नम्बर १ का खम्ब प्रसाद पुन रहेका छन्।

जाजरकोटको नलगाड नगरपालिका–१० का अमित ध्यार, अमित धामी, अमर दमाई, वडा नम्बर ४ का हजारी वली, वडा नम्बर १ का अभिषेक परियार, वर्षा परियार, विपना परियार रहेका छन् भने रुकुमको आठविसकोट नगरपालिकाका धर्मी मल्ल, जयकुमार रिजाल, सरोजचन्द्र शाही छन्।

जाजरकोटको कुशे गाउँपालिका–९ का गिता नेपाली, गणेश नेपाली, कोहलपुरका शेरबहादुर खत्री, रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका रमेश विष्ट, सप्तरीका हिरनजित यादव उक्त दुर्घटनामा घाइते भएका छन्।

दुर्घटनामा घाइतेहरु रेम्बो पुन र आस्या वली ठेगाना नखुलेको प्रहरीले जनाएको छ। अरु चार जनाको ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय