महोत्सवका नाममा कमाउ धन्दा : ओमिक्रोन त्रासकाबीच बाँसगढीमा महोत्सव लगाउँदै संघ
मङ्गलबार, पुष २७, २०७८ मा प्रकाशित

पुस २७ फरक समाचार गुलरिया (बर्दिया)  : गृह मन्त्रालयले सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक, तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यहि प्रकृतिको कार्यक्रम नगर्न भन्दै २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने व्यवस्था कार्यान्वयनका लागि निर्देशन दिएको छ ।

 

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी प्रधान कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र मातहतका विभाग तथा निकायहरुलाई पत्राचार गर्दै कोभिड –१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेका सिफारिसहरु कार्यान्वयन गर्न भनेको हो । तर, बढ्दो कोरोनाको जोखिम र गृहको निर्देशनलाई अवेज्ञा गर्दै जिल्ला प्रशासन कार्यालय बर्दियाले महोत्सव सञ्चालनको अनुमति दिएको पाइएकोछ ।

 

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण बृद्धि भैरहेका बेला सरकारले नै उच्च सर्तकता अपनाउँदै सीमानाकामा कडाई गरिनुका साथै कोभिड परीक्षणको दायारा बढाउने र आइसोलेसन लगायतका अत्यावश्यक तयारी गरिरहँदा जिल्ला प्रशासन कार्यालय बर्दियाले बर्दियाको बाँसगढी महोत्सव सञ्चालनको अनुमति दिएको हो ।

 

बर्दियाको उद्योग बाणिज्य संघ बाँसगढीले ऐतिहासिक पाँचौं बाँसगढी औधोगिक, कृषि, पर्यटन, व्यापार मेला तथा बर्दिया माघ महोत्सव यही पुष २९ गतेदेखि माघ ९ गतेसम्म सञ्चालन गर्दैछ । महोत्सव सञ्चालनका लागि संघले लगभग सम्पूर्ण तयारी गरिसकेकोछ ।

जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गीरीले पछिल्लो समय जिल्लामा कोरोना संक्रमण दर उकालो लागिरहेको बताइरहँदा बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले महोत्सव सञ्चालनका लागी अनुमति दिएर कोभिड संक्रमण झन् फैलाउने कार्यमा अग्रसर देखिएकाछन् ।

 

जिल्लाको समग्र जिम्मेवारी पाएका ब्यक्ति स्वयम सरकारले दिएको निर्देशनलाई अवेज्ञा गर्दै कोभिड कहरमै मेला महोत्सव रोक्नुका साटो सञ्चालन गर्न दिनुले बर्दिया प्रजिअ सुनारसंगै बर्दियाको स्वास्थ्यप्रति चिन्ता ब्यक्त हुन थालेकोछ ।

 

उद्योग बाणिज्य संघ बाँसगढीका अध्यक्ष रामसिंह थारुले महोत्सव देशका अन्य भागमा समेत लागीरहेको अवस्थामा आफुहरुले पनि सञ्चालन गर्न पाउनु पर्ने तर्क दिए । उनले भने–‘प्रशासनसंग समन्वय गरिरहेका छौं, महोत्सवको तयारी पुरा भएको छ ।’

 

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले महोत्सव सञ्चालनका लागी आयोजकबाट निमन्त्रणा पत्र आएको बताउँदै महोत्सव सञ्चालनको लागी आफुले कुनै अनुमति नदिएको बताए ।

 

उनले भने–‘महोत्सव सञ्चालनको अनुमति दिइएको छैन । निमन्त्रणा मात्र आएको हो । अनि थाहा पएको छु ।’ यद्यपी प्रमुख जिल्ला अधिकारी सुनारले महोत्सव सञ्चालन गर्न दिने वा नदिने भन्ने विषयमा प्रष्ट बताउन सकेनन् ।

 

यस्तै बाँसगढी नगरपालिकाका नगरप्रमुख सालिकराम अधिकारीले उद्योग बाणिज्य संघले महोत्सव सञ्चालनका लागी पछिल्ला ३ महिनादेखि नै समन्वय गरेको बताउँदै उक्त समयमा नगरपालिकाबाट अनुमति दिइएको बताए । तर, उनले पनि महोत्सव रोक्ने वा स्थगन गर्ने विषयमा केही बताएनन् ।

 

महोत्सवलाई पछिल्लो पटक आयोजकले स्थानीय कला सँस्कृति, पहिचान तथा स्थानीय उत्पादनलाई प्रोत्साहन भन्दा पनि आयातित बस्तुलाई बढि महत्व दिदैँ आएको छ । तर, महोत्सवलाई आयोजकले आर्थिक संकलनको लागी अपनाउँदै आएको छ । यसअघिका महोत्सव सञ्चालनको हरहिसाबकिताब सार्वजनिक गर्ने भनेपनि संघले उक्त कुरा ढाकछोप गर्दै आएको छ । यो बाटै संघले महोत्सवलाई कमाउ धन्दाको रुपमा प्रयोग गरेको पुष्टि हुन्छ ।साभार सेतोखरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय