बर्दियामा टाइफाइड विरुद्धको खोपबाट कोही बालबालिकालाई नछुटाउन प्रजिअ बास्तोलाको निर्देशन
बिहिबार, चैत २४, २०७८ मा प्रकाशित

बर्दिया, चैत २४ (फरकसमाचार)/ जिल्लामा टाइफाइड रोग विरुद्धको खोपबाट कोही बालबालिका नछुट्ने गरी खोप लगाउन प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले स्वास्थ्य कार्यालयलाई निर्देशन दिएका छन् । बुधबार श्री महाकवि देवकोटा माध्यमिक विद्यालयमा ‘टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको शुरुवात’ शुभारम्भ कार्यक्रममा प्रजिअ बास्तोलाले स्वास्थ्य कार्यालयलाई निर्देशन दिएका हुन् ।

टाइफाइड रोग विरुद्धको खोप अभियान देशव्यापी रुपमा चैत २५ गतेबाट संचालन हुने तर बर्दियामा आन्तरिक समन्वयबाट बुधबारदेखि नै सुरु गरिएको बताए । ‘अधिकांश बालबालिकाहरु विद्यालयमा भेटिने छन्’ प्रजिअ बास्तोलाले भने,‘विद्यालयमा नभेटिएका बालबालिकालाई नजिकैको खोप केन्द्रमा खोप लगाईन्छ ।’ टाइफाइड विरुद्धको खोप अभियानलाई सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट सहजीकरण गरी कोही बालबालिका नछुटाउन प्रजिअ बास्तोलाले आग्रह गरे ।

प्रजिअ बास्तालाले श्री महाकवि देवकोटा माध्यमिक विद्यालय कक्षा ७ मा अध्ययनरत जैद पठानलाई खोप कार्ड र जिल्ला समन्वय समितिका प्रमुख शंकर प्रसाद थारुले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरी टाइफाइड रोग विरुद्धको खोप अभियान शुभारम्भ गरेका थिए ।
टाइफाइड विरुद्धको खोप अभियान चैत २३ गतेदेखि चैत २८ गतेसम्म सञ्चालन हुनेछ ।

जिल्लामा १५ महिनादेखि १५ वर्ष मुनिका १ लाख २८ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य स्वास्थ्य कार्यालयको रहेको छ । लक्षित उमेर समुहका बालबालिकालाई खोप केन्द्र निर्धारण गरिएको विद्यालय वा पायक पर्ने नजिकको स्वास्थ्य संस्थामा लगि खोप लगाउन सकिने स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए । चैत २३ गतेदेखि २७ गतेसम्म विद्यालयमा र २८ गते स्वास्थ्य संस्थामा खोप केन्द्र संचालन हुने प्रमुख गिरीले जनाए ।


जिल्लामा रहेका विद्यालय मध्य ३ सय ३ वटा विद्यालय र ७५ वटा स्वास्थ्य संस्था गरी जम्मा ३ सय ७८ स्थानमा खोप केन्द्र निर्धारण गरिएको स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक सुचना अधिकारी कृष्ण गोपाल चौधरीले जानकारी दिए । पायक पर्ने नजिकको खोप केन्द्रमा सजिलै बालबालिकालाई खोप लगाउन सकिने उनले सुनाए ।

टाइफाइड विरुद्धको ‘टाइफाइड कन्जुगेट भ्याक्सिन’ बालबालिकालाई लगाईएको छ । नेपालमा टाइफाइड रोगको उच्च जोखिम छ । जोखिमलाई न्युनिकरण गर्न टाइफाइड रोग विरुद्धको खोप अभियान सुरुवात गरिएको छ । टाइफाइड रोग विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा प्रजिअ बन्धु प्रसाद बास्तोला, जिल्ला समन्वय समितिका प्रमुख शंकर प्रसाद थारु, स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरी, गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा, गुलरिया नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुनिल पाण्डेलगायत स्वास्थ्यकर्मी, संचारकर्मी, शिक्षक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय