नेपालमा औलोको जोखिम अझै कायमै
सोमबार, बैशाख १२, २०७९ मा प्रकाशित

बर्दिया, बैैशाख १२ (फरकसमाचार) / ‘औलोको भार कम गर्न नयाँपनमा जोड दिऔँ र जीवन बचाऔँ’ भन्ने नाराका साथ ‘विश्व औलो दिवस’ मनाइएको छ । विश्व स्वास्थ्य संगठनले सन् २००८ मा २५ अप्रिललाई विश्व औलो दिवसका रूपमा मनाउने घोषणा गरे अनुरूप नेपालले ‘विश्व औलो दिवस’ मनाउँछ र बर्दियामा पनि सोमबार मनाएको हो ।

नेपालले सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिएको छ । सन् २०२२ सम्म स्थानीय औलोलाई शून्यमा पु¥याएर सन् २०२५ सम्ममा औलो नियन्त्रण गर्ने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए । चालु आर्थिक वर्षमा १४ जना औलोका बिरामी बर्दियामा देखिएको उनले जानकारी दिए । ‘औलोका बिरामी निरन्तर भेटिएका छन्’ प्रमुख गिरीले भने,‘औलोलाई निवारण गर्न स्थानीय स्तरबाट केन्द्रसम्म पहल हुन जरुरी छ ।’ यस रोगलाई शून्य अवस्थामा ल्याउन सबैले ध्यान दिनुपर्छ ।

स्थानीय,प्रदेश र केन्द्रबाट यस रोग निवारण गर्न बजेट छुट्याएर व्यापक प्रचार प्रसार गर्नु पर्छ । घरमा बस्दा साँझ बिहान फुल कपडा लगाउने, झुल लगाउने, घरको झ्यालमा जाली प्रयोग गरी यस रोगबाट हुने जोखिम कम गर्न सकिने प्रमुख गिरीले सुझाए । औलो रोगबाट विशेष गरी गर्भवती महिला तथा पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुने गर्छन् ।

स्वास्थ्य कार्यालय बर्दियाको आयोजनामा सोमबार संचारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम गरि विश्व औलो दिवस मनाईएको छ । कार्यक्रममा स्वास्थ्य कार्यलयका प्रमुख गिरीले औलो रोगको अवस्थाको बारेमा संचारकर्मीलाई जानकारी गराएका थिए । कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरी, सुचना अधिकारी तथा जनस्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दिका अध्यक्ष यादव आचार्यलगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय