निर्वाचनले सन्नाटा रहेको सबै क्षेत्रमा चहलपहल बढ्दै
शुक्रबार, जेठ ०६, २०७९ मा प्रकाशित

बर्दिया, जेठ ६ (फरकसमाचार) / स्थानीय तह निर्वाचनले अघिल्लो साता देखि सन्नाटा रहेको सबै क्षेत्रमा बिहीबार देखि चहलपहल बढेको छ । निर्वाचनले गर्दा विगत एक साता देखि सबै क्षेत्र सुनसान बनेको थियो । बैशाख ३० गतेको स्थानीय तहको निर्वाचन सम्पन्न भई ६ दिनको अवधिमा जिल्लाको आठ वटै पालिकाको मतपरिणाम आएको छ ।

मतदान गरेका स्थानीयले मतपरिणामको प्रतिक्षामा कामधन्दा रोकी कस्तो जनप्रतिनिधी आउनेमा बढी चासो देखाएका थिए । सदरमुकाम गुलरियामा आस्थायी रुपमा बसोबास व्यापारी व्यवसायीहरु स्थानीय तहको जनप्रतिनिधी छनौटको लागि मतदान गर्न आफ्नो पालिका तर्फ हिडेका थिए । मतपरिणाम नआउँदासम्म प्रतिक्षा गरेर बसेका थिए । जसले गर्दा भिडभाड हुने सबै क्षेत्रमा सेवाग्राहीको गिरावट भएको थियो । बुधबारसम्म सबै स्थानीय तहको मतपरिणाम आईसकेकोले बिहीबार देखि सबै क्षेत्रमा सेवाग्राहीको चहलपहल बढेको छ । जनप्रतिनिधी छनौटको लागि मतदान गर्न गाउँतिर गएका व्यक्तिहरु फर्किने क्रम जारी छ ।

आफुले चाहेको जनप्रतिनिधीलाई मतदान गरी विजयी गराई हर्ष र उल्लासकासाथ बिस्तारै कर्ममा फर्किएको राजापुरबाट बिहीबार मालपोत कार्यालयमा आएका सेवाग्राही जनक थारुले बताए । ‘आफुले चाहेको जनप्रतिनिधी चयन गर्न लगभग सबै कामधाम थप्प थियो’ थारुले भने,‘सबै कामलाई थाती राखी चुनावमा एकोहोरो लागेका थियौं ।’ स्थानीय तहको जनप्रतिनिधी चयन गरी फेरी आफ्नो कर्ममा लागेका छौं । अब कामधाम छोडेर निर्वाचनमा होमिएका सबै व्यक्तिहरु बिस्तारै आ–आफ्नो काममा फर्किदै गरेको थारुले सुनाए ।

जिल्लाको आठ वटै पालिकामा बुधबारसम्म स्थानीय तहको मतपरिणाम आएपछि बिहीबार देखि सबै क्षेत्रमा चहलपहल बढेको छ । बिहीबार देखि मालपोत कार्यालय, नगरपालिकालगायत कार्यालयहरुमा सेवाग्राहीहरुको भिडभाड बढेको छ । चुनाव सकिए लगत्तै सरकारी, गैरसरकारी तथा अन्य क्षेत्रमा चहलपहल सुरु भएको छ ।

त्यसैगरी विद्यालय पनि खुल्न सुरु भएका छन् । निर्वाचन सम्पन्न गरेर सदरमुकाम तर्फ व्यक्तिहरु फर्किदा एक साता देखि सुनसान रहेको सबै क्षेत्रमा चहलपहल बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय