क्यानले गर्‍यो सन्दीप लामिछानेलाई निलम्बन
शुक्रबार, भदौ २४, २०७९ मा प्रकाशित

काठमाडौं, भदौ २३ / क्रिकेट एसोसिएशन नेपाल (क्यान)ले राष्ट्रिय क्रिकेटका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेलाई क्यानले राष्ट्रिय टिमबाट निलम्बन गरेको कार्यबाहक सचिव प्रशान्त विक्रम शाहले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्‍याएर नाबालिगमाथि पटकपटक बलात्कार गरेको लामिछानेमाथि आरोप छ। आफूमाथि बलात्कार गरेको भन्दै पीडितले मंगलबार प्रहरी वृत्त गौशालामा पुगेर जाहेरी दिएकी थिइन्। जाहेरी परेसँगै प्रहरीले अनुसन्धान अघि बढाएको थियो। उनीविरूद्ध प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति पनि लिएको छ।

अदालतबाट पक्राउ पुर्जी जारी गरेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको हो। ‘काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णयअनुसार सन्दीप लामिछाानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रहरीले उनीहरू बसेको भनिएको होटलको सिसिटिभी फुटेज पनि प्रमाणको रूपमा संकलन गरिसकेको छ। त्यस होटलमा लामिछानेले आफूमाथि पटकपटक बलात्कार गरेको प्रहरीसमक्ष पीडितले बयान दिएकी छन्।

यस्तै उक्त होटल जानुअघि उनीहरू भक्तपुरको नगरकोट गएका थिए। त्यहाँबाट पनि सिसिटिभी फुटेज ल्याएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।आफूमाथि बलात्कारको आरोप लागेपछि क्यारेबियन मुलुक सेन्ट लुसियामा रहेका सन्दिप लामिछानेले क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान) सँग सम्पर्क गरेका छन्। लामिछानेले क्यानसँग सम्पर्क गरेर कानुनी सहयोगको अपेक्षा राखेका हुन्।

क्यारेबियान प्रिमियर लिग (सिपिएल) खेल्न गएका उनी कहिले नेपाल फर्किन्छन् टुंगो छैन। सिपिएल आगामी अक्टोबर १ सम्म चल्नेछ। सन्दीप आबद्ध जमैकाको अन्तिम लिग खेल सेप्टेम्बर २५ मा छ। उनी नेपाल कहिले फर्किन्छन् भन्ने टुंगो लागेको छैन।

१८ वर्षमुनीका नाबालिगमाथि सहमतिमै गरेको करणीलाई कानुनले बलात्कार मानेको छ। मुलुकी अपराध संहिता, २०७४ को  परिच्छेद-१८ करणी सम्बन्धी कसूरको दफा २१९ को उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै महिलालाई मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा उनले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ।’ सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय