न्युनतम सेवा मापदण्डमा बर्दिया अस्पताल लुम्बिनी प्रदेश र देशमै पहिलो
बिहिबार, असोज ०६, २०७९ मा प्रकाशित

राम प्रसाद चौहान 

बर्दिया, असोज ६ (फरकसमाचार) / न्युनतम सेवा मापदण्डमा बर्दिया अस्पताल लुम्बिनी प्रदेश र देशमै पहिलो भएको छ । अधिराज्य भरिका सेकेन्डरी ए लेभलका अस्पतालहरुमा न्युनतम सेवा मापदण्ड फ्लोअपको समिक्षामा बर्दिया अस्पतालले ९५ प्रतिशत अंक प्राप्त गरी लुम्बिनी प्रदेश र देशमै पहिलो भएको हो । देशभरिका सेकेन्डरी ए लेभलका अस्पताल न्युनतम सेवा मापदण्डमा ९५ प्रतिशत अंक प्राप्त गरी बर्दिया अस्पताल पहिलो, ९४ प्रतिशत अंक प्राप्त गरी त्रिशुली अस्पताल दोस्रो र ९३ प्रतिशत अंक प्राप्त गरी धाधिङ्ग अस्पताल तेस्रो भएको छ ।

त्यसैगरी लुम्बिनी प्रदेशमा सेकेन्डरी ए लेभलका अस्पतालहरुमा न्युनतम सेवा मापदण्डमा ९५ अंक प्राप्त गरी बर्दिया अस्पताल पहिलो, ८७ प्रतिशत अंक प्राप्त गरी कपिलवस्तु अस्पताल दोस्रो र ८६ प्रतिशत अंक प्राप्त गरी गुल्मी अस्पताल तेस्रो भएको छ ।

अस्पतालहरुको न्युनतम सेवा मापदण्डको अनुगमन मुल्याङ्कन गरी एमएमएस आरपी दुर्गा लक्ष्मी श्रेष्ठले बर्दिया अस्पताल देशमा र लुम्बिनी प्रदेशमा ९५ प्रतिशत अंक प्राप्त गरी पहिलो भएको बुधबार सार्वजनिक गरिन् । अस्पतालको न्युनतम सेवा मापदण्ड अनुसार बर्दिया अस्पताल पहिलो हुन सफल भएको श्रेष्ठले बताईन । ‘देश भरिका सेकेन्डरी ए लेभलका अस्पतालमा बिरामीलाई कुर्ने कुरुवाहरुको लागि बस्ने व्यवस्था छैन’ श्रेष्ठले भनिन्’ तर बर्दिया अस्पतालले बिरामी कुरुवाहरुको लागि ७ बेडको छुट्टै वार्ड बनाएको छ ।’ यो देशमै नमुना हो । त्यसैगरी अस्पतालको रिकर्ड सिस्टमलगायत संचालन भएका अन्य सेवाहरुको आवस्था राम्रै भएको कारणले ९५ प्रतिशत अंक प्राप्त गरी लुम्बिनी प्रदेश र देशमा पहिलो हुन सफल भएको श्रेष्ठले जानकारी दिईन् । आगामी दिनमा सेवाग्राहीको सन्तुष्टिलाई मध्यनजर गरी गुणस्तरीय सेवा प्रर्वाह गर्न उनले सुझाईन् ।

बर्दिया अस्पतालले राम्रो अंक ल्याउन सफल भएकोमा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले अस्पतालको टिमलाई धन्यवाद व्यक्त गरे । ‘अस्पताललाई गुलरिया नगरपालिकाले सबै भन्दा बढी सहयोग गरेको देखिन्छ’ प्रजिअ बास्तोलाले भने,‘अस्पताललाई अझै राम्रो बनाउन सबै स्थानीय तहले उत्तिकै सहयोग गर्नुपर्ने आवश्यक छ ।’

बर्दिया अस्पतालले गत वर्ष न्युनतम सेवा मापदण्डमा ८६ प्रतिशत अंक प्राप्त गरेको थियो । न्युनतम जनशक्तिको उपस्थितीमा अस्पतालले गुणस्तरीय सेवा, सेवाको विस्तार, भौतिक संरचनाको विस्तार र व्यवस्थापकिय पक्षलाई सुधार गरी ९५ प्रतिशत अंक प्राप्त गरि पहिलो भएको छ । अस्पतालले गरेको कार्यको प्रस्तुतिकरण बर्दिया अस्पतालका बरिष्ठ मेसु डा.सुभाष पाण्डेयले गरेका थिए ।

अस्पताल न्युनतम सेवा मापदण्ड फ्लोअपको समिक्षा कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष नारायण गौतम, जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर बिष्ट, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, सहायक प्रजिअ रमेश पाण्डे, निर्देशक स्वास्थ्य निर्देशनालयका डा.बिनोद प्रसाद गिरी, एमएमएस फोकल पर्सन कौशल भण्डारी, बर्दिया अस्पतालका बरिष्ठ मेसु डा. सुभाष पाण्डेय, स्वास्थ्य कार्यालयका गोकर्ण गिरीलगायत अस्पतालका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय