आचारसंहिता पालना गर्न प्रतिबद्ध बनाउदै संवाद समुह
सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित

बर्दिया, कात्तिक २८ (फरकसमाचार) / आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन शान्तिपुर्ण बनाउन निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । संवाद समूहको आयोजनामा आईतबार भएको संवादमा पत्रकार महासंघ, उद्योग वाणिज्य संघ र  नागरिक समाजले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका हुन् । यस अघिको संवादमा राजनितिक पार्टीका प्रतिनिधिले आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाईसकेको संवाद समुहका सहजकर्ता भावुक योगीले जनाए ।

संचारकर्मी र मिडिया हाउसले निर्वाचन आचारसंहिता सम्बन्धि सचेत रहेको पत्रकार महासंघका अध्यक्ष यादव आचार्यले बताए । आगामी दिनमा पनि संचारकर्मीले आचारसंहिता उल्लघंन नगर्ने उनले विश्वास व्यक्त गरे । विगतका निर्वाचनमा व्यवसायीले आचारसंहिता पालना गरेर सहयोग गर्दै आएको उद्योग वाणिज्य संघका महासचिव अशोक खड्काले बताए । आउने निर्वाचनमा पनि व्यवसायीहरु आचारसंहिता पालना गर्ने खड्काले प्रतिबद्धता जनाए । अहिलेसम्म आचारसंहिता उल्लघंन नभएको नागरिक समाज संजालकी संयोजक हिमा सुनारले बताईन् ।

निर्वाचन आचारसंहिता सबैले पालना गर्नु पर्ने सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेयले बताए । ‘आचारसंहिता व्यक्तिको आचारण हो’ सहायक प्रजिअ पाण्डेयले भने,‘कसैले छेकबार गरेर पालना गराउनु भन्दा व्यक्तिले आफैंले बुझ्नु पर्ने हो ।’ कसैले आचारसंहिता उल्लघंन गरेमा अनुगमन अधिकृत वा मुख्य निर्वाचन अधिकृत कार्यालयलाई जानकारी गराउन अनुरोध गरे । ‘निर्वाचनलाई शान्तिपुर्ण वातारणमा सम्पन्न गर्ने तयारी छ’ सहायक प्रजिअ पाण्डेयले भने,‘आगामी निर्वाचनको लागि सुरक्षा व्यवस्था बलियो छ ।’

संवाद कार्यक्रममा सहायक निर्वाचन अधिकृत निलकण्ठ बराल, सहायक प्रजिअ रमेश पाण्डेय, पत्रकार महासंघ जिल्ला शाखा बर्दिया अध्यक्ष यादव आचार्य, उद्योग वाणिज्य संघका महासचिव अशोक खड्का, नागरिक समाज संजालकी संयोजक हिमा सुनार, संवाद समूहका सहजकर्ता भावुक योगीलगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर