बर्दियामा ६२.४० प्रतिशत मत खस्यो
सोमबार, मङि्सर ०५, २०७९ मा प्रकाशित

बर्दिया, मंसिर ५ (फरकसमाचार) / जिल्लामा ७० प्रतिशत मत खस्ने अनुमान रहेपनि त्यो सम्भव भएन । जिल्लामा ६२.४० प्रतिशत मत खसेको छ । ६२.४० प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले आइतबार साँझ सामाजिक संजाल मार्फत जनाएका छन् ।

यस पटकको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा कम मत खसेको अधिकांशको आँकलन छ । खैरापुर शम्भुशरण मावि मतदान केन्द्र नजिक बम बिस्फोट हुँदा सो मतदान केन्द्रमा एक घण्टा मात्र मतदान अबरुद्ध भएको थियो भने जिल्लाको अन्य स्थानमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाईएको छ ।

सहभागी मतदातामा उल्लास देखिएपनि विगतको निर्वाचन भन्दा कम मतदाताले निर्वाचनमा सहभागीता जनाएको मतदान अधिकृतहरुले प्रतिक्रिया दिएका छन् । बैदेशिक रोजगार वा अध्ययनको क्रममा बाहिर हुन सक्ने अनुमान गरिएको छ ।

शान्तिपुर्ण निर्वाचन सम्पन्न भएर आइतबार रातिसम्म मत पेटिका संकलन गरिएको थियो । सोमबार बिहान १० बजे देखि मत गणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयको तथ्यांक अनुसार जिल्लामा कुल तीन लाख १५ हजार २ सय ८४ मतदाता कायम भएका थिए । १ सय ५४ मतदान स्थल र ३ सय ७६ मतदान केन्द्र निर्धारण गरिएको थियो । जिल्लाको दुई निर्वाचन क्षेत्रबाट दुई जना प्रतिनिधि सभा सदस्य र चार जना प्रदेश सभा सदस्य पदको लागि निर्वाचन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय