खरखडाईका लागि दुई दिन बर्दिया राष्ट्रिय निकुञ्ज खुल्ने
बिहिबार, माघ ०५, २०७९ मा प्रकाशित

बर्दिया, माघ ५(फरकसमाचार) / खरखडाईका लागि बर्दिया राष्ट्रिय निकुञ्ज दुई दिन खुल्ने भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जले सुचना मार्फत खरखडाईको लागि निकुञ्ज खुल्ने जनाएको हो । निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा १६(क) मा भएको व्यवस्था र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको निर्णय अनुसार खरखडाईका लागि निकुञ्ज खुल्नेछ ।

निकुञ्ज मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि दुई दिन निकुञ्ज खुल्नेछ । यही माघ ९ र १० गते निकुञ्ज क्षेत्रबाट खरखडाई संकलन गरि निकासी गर्ने सुविधा निकुञ्जले दिएको छ । खरखडाईका लागि माघ ७ र ८ गते पुर्जी काटिने जारी सुचनामा उल्लेख छ ।

खरखडाई संकलन गर्न इच्छुक मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दाले पुर्जी काट्न सक्नेछन् । खरखडाई पुर्जी दस्तुर रु ५० र संरक्षण शुल्क रु ५० गरि जम्मा रु १ सय लाग्ने जनाईएको छ । खरखडाइ संकलनको क्रममा निकुञ्जले तोकेको सर्तहरु पालना गर्नु पर्ने छ । वन्यजन्तुबाट हुन सक्ने सम्भावित दुर्घटनाबाट निकुञ्ज प्रवेश गर्दा समुहमा हिड्ने र सुरक्षाका उपाय अपनाउनु पर्नेछ ।

त्यसैगरी १६ वर्ष मुनिका बालबालिका, वृद्धाबृद्ध र अशक्त व्यक्तिलाई निकुञ्ज प्रवेशमा रोक लगाईनेछ । खरखडाई संकलन गर्न बिहान ७ बजे निकुञ्ज प्रवेश गर्ने र साँझ ५ बजे भित्र बाहिर निस्कने जनाईएको छ । त्यसैगरी तोकिएको नाकाबाट प्रवेश गर्ने र निस्कने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय