अस्पताल निर्माणका लागि निःशुल्क जग्गादान
मङ्गलबार, फागुन १३, २०७६ मा प्रकाशित

सिञ्जा, फागुन १३ : कनकासुन्दरी गाउँपालिकाले इलाका स्वास्थ्य चौकी हाडसिञ्जामा १५ श्ययाको अस्पताल निर्माण प्रक्रिया अगाडि बढाएको छ । सो क्षेत्रमा अस्पताल नहुँदा स्थानीयवासी उपचारबाट वञ्चित हुँदै आएका छन् ।

अस्पताल भवन निर्माणका लागि स्थानीयवासीले वडा नं ४ हाडसिञ्जामा सात रोपेनी जग्गा निःशुल्क उपलब्ध गराएको इलाका स्वास्थ्य चौकी हाडसिञ्जाका इन्चार्ज वीरेन्द्रप्रसाद उपाध्यायले बताए । रविलाल आचार्य र नाना आचार्यलगायतका स्थानीयवासीले १५ श्ययाको अस्पताल निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराए । उनका अनुसार २५ देखि ३० लाख मूल्य बराबरको उक्त जग्गामा तीन भवन बन्ने छन् । संघीय सरकारको ‘एक स्थानीय तह, एक अस्पताल’ योजनाअन्तर्गत अस्पताल निर्माण गर्न लागिएको उनले बताए । गत माघ २८ गते स्वास्थ्य मन्त्रालयमा निर्माण प्रक्रियाको फाइल दर्ता आफैँले गरेको इन्चार्ज उपाध्यायले जानकारी दिए ।

ल्याबमा चाहिने उपकरण आइसकेको इलाका स्वास्थ्य चौकी हाडसिञ्जाले जनाएको छ । जनस्वास्थ्य प्रयोगशाला टेकुबाट चार लाख बराबरको ल्याबमा चाहिने उपकरण स्वास्थ्य चौकीमा पुगिसकेको छ । काठमाडाँैदेखि जिल्लासम्म ढुवानी खर्च २० हजार कनकासुन्दरी गाउँपालिकाले सहयोग गरेको छ भने जिल्लादेखि इलाका स्वास्थ्य चौकी हाडसिञ्जासम्म स्वास्थ्यका लागि सक्षम प्रणाली कार्यक्रमले सहयोग गरेको छ । जुम्लाका आठै स्थानीय तहमध्ये १५ श्ययाको अस्पताल निर्माण प्रक्रिया अगाडि बढाउने पहिलो गाउँपालिका भएको उपाध्यायले जिकिर गरे ।

उनले अस्पताल बनाउनका लागि प्रक्रियासमेत अगाडि बढिसकेको बताए । उक्त अस्पताल निर्माणपछि गाउँपालिकाभित्रका बिरामीलाई उपचारका लागि घण्टौँ हिँडेर सदरमुकाम पुग्नुपर्ने अवस्था अन्त्य हुनेछ । इलाका स्वास्थ्य चौकी हाडसिञ्जामा अस्पतालमा स्तरोन्नति गरी १५ श्ययाको अस्पताल बनाइने भएपछि त्यहाँका स्थानीयवासी खुशी देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय