गोंगबु घटनाबारे छानबिन गर्न डीआईजी खाँको नेतृत्वमा समिति गठन
बिहिबार, फागुन ०४, २०७९ मा प्रकाशित

काठमाडौं, फागुन ४ / यातायात व्यवसायीले सोमबार गोंगबुमा गरेको आन्दोलनमा भएको क्षति, लुटपाट र प्रहरीतर्फबाट भएका कमजोरीबारे जाँचबुझ गर्न समिति गठन भएको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालले घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मसउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलका अनुसार शान्तिपूर्ण भनिएको आन्दोलन कसरी उग्र बन्यो र धेरै क्षति भयो भन्ने विषयमा छानबिन गर्न बुधबार यो समिति बनाइएको हो ।

समितिमा उपत्यका प्रहरीकै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हिमालय श्रेष्ठ, जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजाल, उपत्यका प्रहरी कार्यालयका एसपी सानुराम भट्टराई र प्रहरी नायब उपरीक्षक (डीएसपी) खुमलाल भुसाल सदस्य छन् ।

ट्राफिक प्रहरीले लगाएको जरिवानाको विरोध गर्दै यातायात व्यवसायीले गरेको प्रदर्शनले उग्र रुप लिँदा प्रहरी वृत्त, बालाजुका दुई गाडीमा तोडफोड र आगजनी भएको थियो । अरु सार्वजनिक सम्पत्तिमा पनि क्षति पुगेको थियो ।

उग्र भिडले लोत्से मलमा लुटपाट समेत गरेको थियो । यसमा संलग्न १५ जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले नियन्त्रणमा लिइसकेको छ ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय