बालबालिका हुर्काउन बुवाहरु व्यस्त
बिहिबार, फागुन ११, २०७९ मा प्रकाशित

बालबालिकाको सपना परियोजनाले सफलता पाउँदै

राम प्रसाद चौहान

बर्दिया, फागुन ११ (फरकसमाचार) / पछिल्लो समय बालबालिका हुर्काउन बुवाहरु व्यस्त हुदै गएका छन् । बालबालिका हुर्काउने महिलाहरुको मात्र जिम्मेवारी हो भन्ने हाम्रो समाजमा धारणा छ । तर, पछिल्लो समय बालबालिका हुर्काउन बुवाहरुको प्रत्यक्ष सहभागिता हुँदा बालबालिकामा हुने फाइदा बुझेपछि अहिले बुवाहरु आफ्ना बालबालिको स्याहार सुसार गर्ने जिम्मेवारी सम्हालेका छन् । आमाको मात्र बालबालिकालाई खुवाउने, नुहाउने, खेलाउने देखि सम्पुर्ण जिम्मेवारी हुने मानसिकता राखेका बुवाहरु अहिले बच्चा हुर्काउन जिम्मेवारी लिएका छन् ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा थारु महिला उत्थान केन्द्र द्वारा संचालित बालबालिकाको सपना परियोजनाले बालबालिकाको सर्वागिण विकासमा सहयोग पु¥याउने उदेश्यले तीन पालिकामा काम गरिरहेको छ । पछिल्लो समय ठाकुरबाबा, राजापुर र बारबर्दिया नगरपालिकाका बुवाहरु आफ्नो बालबालिकालाई स्याहार सुसार गरेर नमुना बुवाको रुपमा चिनिएका छन् ।

पहिला बालबालिका स्याहार्न खासै वास्ता नगर्ने मान्छेले अहिले आफ्नो बालबालिका स्याहार्न ठिक्क भएको ठाकुरबाबा नगरपालिका–४ का बडघर ओम प्रकाश बिष्टले बताए । ‘पहिला बालबालिकाको स्याहारमा खसै ध्यान थिएन’ बिष्टले भने,‘अहिले बालबालिकालाई बुवाले गाईड गर्दाको फाइदा थाहा पाएपछि सबै कुरामा सघाउने गरेका छौं ।’ बच्चालाई विद्यालय छोड्ने देखि लिएर हरेक काममा सघाँएको उनले जानकारी दिए ।

त्यसैगरी गर्भावस्था देखि बच्चाको स्याहार सुसार गरि बारबर्दिया नगरपालिका–२ का राम बहादुर थारु नमुना बुवा बनेका छन् । बुवाको स्याहारले बच्चाको मस्तिष्क तिखो हुने कुरा बुझेपछि बच्चाको स्याहारमा दैनिकी चलेको उनले बताए । ‘अहिले बच्चा आमा भन्दा मलाई खोज्छ’ उनले भने,‘म आफै पकाएर जाउलो, लिटो बच्चालाई खुवाउछु ।’ घर बस्दा बच्चासंगै खेल्छु ।

 

असल समाज निर्माण गर्न यो कार्यक्रमले सघाँईरहेको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलक राम लम्सालले बताए । ‘गर्भावस्था देखि नै हाम्रो बालबालिकालाई कसरी संस्कारी, शिक्षित र समाजको असल नागरिक बनाउने यस कार्यक्रमको मुख्य लक्ष्य हो’ नगर प्रमुख लम्सालले भने,‘जब सम्म हामीले असल समाज निर्माण गर्न सक्दैनौ, तबसम्म हामीले परिकल्पना गरेको विकास गर्न सक्दैनौं ।’ त्यसकारण यो कार्यक्रम महत्वपुर्ण रहेको छ । यस कार्यक्रमलाई आफ्नो कार्यकालमा निरन्तर अघि बढाउने जनाए । कार्यक्रममा उपस्थित बड्घर र नमुना बुवाहरुलाई यस कार्यक्रमले सिकाएको कुरा अन्यलाई शेयर गर्न अनुरोधसमेत नगर प्रमुख लम्सालले गरे ।

परियोजनाले सफलता पाईरहेको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताए । ‘अहिले बिद्यालय समयमा बिद्यालय बाहिर बुवाहरुको भिडभाड लाग्छ’ अधिकृत रिजालले भने,‘परियोजनाको सिकाईले बुवाहरु आफ्ना बालबालिका बिद्यालय छोड्न आएका छन् ।’ बालबालिकाको बृद्धिविकासमा बुवाको धेरै महत्वपुर्ण भुमिका हुन्छ । बच्चा जन्मिदा तीन वटा कुरा सिकेर आएको हुन्छ । स्पर्शबाट थाहा पाउन, रुन र समाउन बाँकी सबै सिकाउनु पर्छ । स्पर्शबाट थाहा पाउने भएर जन्मेको बच्चालाई एक्लो महसुस हुन नदिन एक वर्षसम्म आमाले बच्चालाई आफुसंग टाँसेर राख्नु पर्छ । बच्चा जन्मेको दुई वर्षको अवधि बृद्धि विकासको लागि महत्वपुर्ण हुन्छ । त्यस अवधिमा बुवाहरु बच्चाको विषेश ध्यान गर्न आवश्यक रहेको प्रमुख प्रशासकीय अधिकृत रिजालले जानकारी दिए ।

गर्भावस्था देखि स्याहारमा बुवाको प्रत्यक्ष सहभागीता हुँदा आमा र बच्चालाई धेरै सहज हुन्छ । गर्भवती महिलालाई शान्त र तनाव मुक्त हुन्छ । त्यसैगरी प्रसवको बेला एकदमै कष्टपुर्ण हुने हुँदा संगै भएपछि सुत्केरीलाई सान्त्वना मिल्छ । स्याहारमा बुवा संलग्न हुँदा बच्चाहरुको संज्ञानात्मक सिकाई राम्रो हुन्छ । विद्यालयमा ए ग्रेड ल्याउने सम्भावना बढी हुन्छ । मर्यादित रोजगारी पाउने सम्भावना बढी हुने र असल नागरिक बन्न मद्दत हुन्छ ।

यस कार्यक्रम मार्फत बालबालिका हुर्काउन पुरुषको सहभागिता गराउने उदेश्यले अघि बढिरहेको थारु महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक प्रिज्म सिंह थारुले बताईन् । ‘जसले गर्दा समाजमा हुने जुनसुकै कार्यक्रममा बुवाको सहभागिताको कुरा सिकाउन आवश्यक छ’ कार्यकारी निर्देशक थारुले भनिन्,‘बालबालिकाको स्याहारमा बुवाको सहभागिता र भविष्य सुनिश्चिताको कुरा बुवाहरुलाई बुझाउन सके पक्कै पनि परियोजना सफल हुनेछ ।’

राजापुर नगरपालिका–६,८,९ र १०, बारबर्दिया नगरपालिका–१ देखि ५ सम्म र ठाकुरबाबा नगरपालिकाको सबै वडामा बालबालिकाको सपना परियोजना संचाल भईरहेको परियोजना अधिकृत नरेश चौधरीले जानकारी दिए । ठाकुरबाबा र बारबर्दिया नगरपालिकाका समुदायका बड्घर र नमुना बुवाहरुबिच अन्तरक्रिया गरिएको छ । अन्तरक्रिया कार्यक्रममा थारु महिला उत्थान केन्द्रकी अध्यक्ष लिलावति थारु, उपाध्यक्ष दिपा लामिछाने, कोषाध्यक्ष पुन्यकला चौधरी, कार्यक्रम व्यवस्थापक तेजमणि पन्थ र मिल व्यवस्थापक किशोर चौधरीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय