लक्षित समुहलाई बुष्टर खोप दिईदैं
सोमबार, फागुन १५, २०७९ मा प्रकाशित

बर्दिया,फागुन १५ (फरकसमाचार) / लक्षित समुहलाई कोभिड–१९ बिरुद्ध फाईजर खोपको बुष्टर मात्रा लगाउने कार्यक्रम सुरु हँुदैछ । भोली मंगलबार देखि बिहीबारसम्म बुष्टर खोप लगाउने कार्यक्रम संचालन हुने जिल्ला कोभिड खोप समन्वय समितिले जनाएको हो । खोप कार्यक्रमलाई प्रभावकारी बनाउन गुलरिया नगरपालिकाका वडा अध्यक्ष र संचारकर्मीहरुसंग आइतबार व्यापक छलफल गरिएको छ । पहिलो चरणमा भारतीय सिमानासंग जोडिएका चार पालिकामा बुष्टर खोप लगाउने योजना छ । बढैयाताल गाउँपालिका, गुलरिया नगरपालिका, मधुवन नगरपालिका र राजापुर नगरपालिकामा बुष्टर खोप लगाईदै छ ।

अहिले कोभिड रोगलाई सामान्य रुपमा लिएको र कोभिड बिरुद्ध खोप लगाउनेको संख्या घट्दै गएको छ । तर, कोभिड–१९ को जोखिम अझै पनि कायम रहेकोले बुष्टर खोप लगाउन जरुरी रहेको छ ।

पहिलो बुष्टर लिएको ६ महिना पुगेका ५५ वर्ष माथिका सबै जना तथा स्वास्थ्यकर्मी र १२ वर्ष माथिका दिर्घ रोगीलाई कोभिड बिरुद्धको बुष्टर खोप लगाईने स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए । ‘यी लक्षित समुहका मानिसले पहिलो बुष्टरको मात्रा नलिएकालाई पहिलो मात्रा दिने’ प्रमुख गिरीले भने,‘पहिलो मात्रा लिईसकेकालाई दोस्रो बुष्टरको मात्रा दिने तयारी छ ।’ त्यसैगरी गर्भवती महिला र रोग प्रतिरोधात्मक क्षमता कम भएलाई बुष्टरको मात्र दिइने प्रमुख गिरीले जनाएका छन् ।

पहिलो चरणमा चार पालिकामा २९ हजार ५ सय ९ जनालाई बुष्टर खोप दिने तयारी छ । जिल्लाको लागि ५४ हजार बुष्टर मात्राको खोपको माग गरिएको छ । तर, पहिलो चरणमा सबै जनालाई पुग्ने गरी २६ हजार बुष्टर खोपको मात्रा आएको प्रमुख गिरीले जानकारी दिए । दोस्रो चरणको लागि मिति तय भएको छैन । जिल्लाको जनसंख्या मध्ये ९५.५ प्रतिशतले पहिलो डोज, ८८.७ प्रतिशतले दोस्रो र ५४.३ प्रतिशतले कोभिड बिरुद्धको तेस्रो डोजको खोप लगाएको स्वास्थ्य कार्यालयको रेकर्डले देखाएको छ । ८ वटै पालिका मध्ये गुलरिया नगरपालिकामा सबै भन्दा कम ३८ प्रतिशतले खोप लगाएको स्वास्थ्य कार्यालयको रेकर्डले पुष्टि गरेको छ । कोभिड बिरुद्धको खोप लगाएपछि कोभिडबाट हुने मृत्युदर कम हुँदै गएको छ । जिल्लामा कोभिडको पहिलो लहरमा २१, दोस्रो लहरमा २ सय २७ र तेस्रो लहरमा ३ जनाको मृत्यु भएको रेकर्ड सुरक्षित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय