बर्दिया अस्पतालको सामाजिक सेवा इकाइले उत्कृष्ट सेवा दिदैँ
मङ्गलबार, चैत १४, २०७९ मा प्रकाशित

बर्दिया, चैत १४ (फरकसमाचार) / बर्दिया अस्पताल अन्तर्गत संचालनमा रहेको सामाजिक सेवा इकाईले उत्कृष्ट सेवा दिदैँ आएको छ । सोमबार सामाजिक सेवा इकाइले दोस्रो चौमासिक समिक्षामा प्रगति विवरण प्रस्तुत गरेको छ । इकाइले चार महिनामा गरेको प्रगति विवरणलाई केलाउँदा उत्कृष्ट सेवा दिएको पाईएको छ । इकाइको दोस्रो समिक्षामा उपस्थित अस्पतालका पदाधिकारीले सन्तोषजनक सेवा दिएको प्रतिक्रिया दिएका छन् ।

सामाजिक सेवा इकाइले स्वास्थ्य बिमा, दम जन्य, रगत, सिकलसेल र आमा सुरक्षा जस्ता सेवा दिदैँ आएको अस्पतालका बरिष्ठ मेसु डा.सुभाष पाण्डेयले बताए । ‘सामाजिक सेवा इकाइले आर्थिक स्थिती कमजोर, असहाय, जेष्ठ नागरिक, अपाङ्ता भएका व्यक्तिलाई सेवा दिएको छ’ मेसु डा.पाण्डेयले भने,‘सामाजिक सेवा इकाइले विमा सेवालाई प्रभावकारी बनाएको छ ।’ यस इकाइका कर्मचारी बिमा सेवामा दक्ष भईसकेको सुनाए । आगामी दिनमा बिलिङ, फार्मेसी र बिमा काउन्टर थप गरि नागरिकलाई अस्पतालबाट सेवा दिने विश्वास दिलाए ।

लक्षित समुह र आर्थिक स्थिती कमजोर भएका बिरामीलाई उपचारबाट बञ्चित हुन नदिन सामाजिक सेवा इकाइले महत्वपुर्ण भुमिका खेलेको अस्पताल विकास समितिका अध्यक्ष नारायण गौतमले बताए । इकाइका कर्मचारीलाई हौसला दिदैँ आगामी झन् प्रभावकारी बनाउन अनुरोध गरे ।
सरकारले निःशुल्क राष्ट्रिय स्वास्थ्य सेवा कार्यक्रम लागु गरि स्वास्थ्य संस्थाहरुमा सामाजिक सेवा एकाइको स्थापना गरेको हो । बर्दिया अस्पतालमा आव ०७४/०७५ देखि सामाजिक सेवा इकाई स्थापना भई संचालनमा छ ।

बर्दिया अस्पतालमा रहेको सामाजिक सेवा ईकाईले गरिब, असहाय, अपांङ, जेष्ठ नागरिक, लैङ्गिक हिंसा प्रभावित बालबालिका, महिला स्वास्थ्य स्वयंसेविका, प्राकृतिक प्रकोपबाट प्रभावित, शहिद परिवार, कुपोषित बालबालिका, दुर्घटनामा परेका आकस्किम बिरामी अभिभावक नभएका, प्रहरीबाट ल्याएका थुनुवा र सिमान्कृत तथा लोपोन्मुख आदिवासी जनजातिलाई विषेश प्राथमिकता दिई सेवा प्रदान गरिरहेको छ ।

आव ०७९/०८० को दोस्रो चौमासिकमा १ सय ८६ जना लक्षित समुहका बिरामीले सेवा लिएका छन् । चार महिनामा १ सय ८६ जनाले रु २ लाख ४९ हजार ३ सय ३३ बराबरको सेवा लिएको सामाजिक सेवा इकाइको रेकर्डले पुष्टि गरेको छ । पहिलो चौमासिकमा २ सय ४ जनाले रु २ लाख ५१ हजार ३ सय ५६ बराबरको सेवा लिएका थिए । रेफरल बजेट रु ७ लाख २३ हजार २ सयमा पहिलो र दोस्रो चौमासिकमा रु ५ लाख ६ सय ८९ खर्च भईसकेको सामाजिक सेवा इकाइका सहजकर्ता हेमन्त चौधरी जानकारी दिए ।

अब तेस्रो चौमासिकको लागि रु २ लाख २२ हजार ५ सय ११ बाँकी बचेको चौधरीले जनाए । त्यसैगरी चार महिनामा ११ हजार १ सय १० जना बिरामीलाई स्वास्थ्य बिमाबाट सेवा दिएको छ । दोस्रो चौमासिकमा बिमाको रकम रु १ करोड ५४ लाख ४० हजार ३ सय ५२ प्राप्त भएको छ भने रु १ करोड १५ लाख ५१ हजार १ सय १० स्वास्थ्य बिमाले भुक्तानी नगरेको जनाईको छ ।

दोस्रो चौमासिक समिक्षामा अस्पताल विकास समितिका अध्यक्ष नारायण गौतम, बरिष्ठ मेसु डा.सुभाष पाण्डेय, बाल रोग विशेषज्ञ डा.विश्वनाथ शाह, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.राम विश्वास राय, डा.सामिनी चौधरीलगायत अस्पतालका अन्य पदाधिकारीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय