बबई क्याम्पसको शिक्षक निजीमा पढाउँदै, पढाईको स्तर खस्किदैँ
आइतबार, चैत १९, २०७९ मा प्रकाशित

बर्दिया, चैत १९ (फरकसमाचार) / बबई बहुमुखी क्याम्पसमा अध्यापन गराउने अधिकांश शिक्षक (प्राध्यापक)ले क्याम्पस भन्दा बढी महत्व अन्य शैक्षिक संस्थालाई दिएको खुलेको छ । मध्यपश्चिम विश्व विद्यालय अन्तर्गतको सरकारी क्याम्पसको रुपमा रहेको बबई बहुमुखी क्याम्पसका स्थायी र करार प्राध्यापकहरुले अन्य शैक्षिक संस्थामा अध्यापन गराउन नपाउने मापदण्ड छ । तर, विश्व विद्यालयको मापदण्डलाई मिचेर क्याम्पसका प्राध्यापकहरुले बाहिरी निजी विद्यालय, प्राइभेट क्याम्पस, सामुदायिक विद्यायल र अन्य शैक्षिक संस्थामा पढाईरहेको व्यापाक जनगुनासो छ । बबई क्याम्पसका प्राध्यापकहरुले जनज्योति, लिटल हेभन, जनमुखी, बर्दिया मेडिकल कलेज र शम्भुशरण माविमा पढाईरहेको स्रोतको दावी छ ।

जिल्लाको १० वटा क्यापम्स मध्ये बबई बहुमुखी क्याम्पस सबभन्दा पुरानो र ठुलो क्याम्पस हो । यस क्याम्पसका अधिकांश प्राध्यापकहरुले अन्य शैक्षिक संस्थालाई महत्व दिदाँ पछिल्लो समय रिजल्ट खस्किदैँ जाँदा अभिभावक चिन्तित छन् । क्याम्पसले राम्रो प्राविधिक विषय ल्याउन नसक्दा त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त भएको बेला भन्दा अहिले मध्यपश्चिम विश्व विद्यालय अन्तर्गतको क्याम्पसमा विद्यार्थीको आकर्षण घट्दै गएको स्वंयम शिक्षक गुनासो गर्छन् ।

क्याम्पसमा अध्यापन गराई रहेका प्राध्यापकहरुले आफ्नो विषयसहित अन्य विषयमा पठनपाठन गराई रहेका छन् । यस वर्ष पहिलो सेमेस्टरमा मानविकी तर्फ ग्रामिण विकास, समाजशास्त्र, नेपाली, अंग्रेजी विषयमा स्नातक तर्फ विद्यार्थी भर्ना भएनन् । त्यसैगरी एमएड शिक्षा तर्फ पहिलो सेमेस्टरमा स्वास्थ्य, अंग्रेजी, नेपाली विषयमा विद्यार्थी भर्ना भएका छैनन् । क्याम्पसमा यी विषयमा विद्यार्थी भर्ना नहुनु दुखद हो ।

बबई बहुमुखी क्याम्पसमा अध्यापन गराई रहेका स्थायी र करार प्राध्यापकहरुले कम पिरेट लिएर विभिन्न विषयका आंशिक प्राध्यापकलाई बढी पिरेट दिएको बुझिएको छ । विश्वविद्यालयसंग करारको माग गरि क्याम्पस भित्रका आंशिक प्राध्यापकलाई करार गराउने उदेश्यले आन्तरिक रुपमा विभिन्न संघ संगठन लागि परेका छन् ।

क्याम्पसका प्राध्यापकहरु बाहिर पढाएको व्यापाक गुनासोपछि मध्यपश्चिम विश्व विद्यालयले स्वघोषणा पत्र पठाएको क्याम्पस प्रमुख बिरेन्द्र राज लम्सालले बताए । ‘क्याम्पसका प्राध्यापकले बाहिर पढाएको आफुलाई आधिकारी जानकारी आएको छैन’ क्याम्पस प्रमुख लम्सालले भने,‘विश्व विद्यालयले पठाएको स्वघोषणा पत्रमा पनि क्याम्पसका स्थायी र करार प्राध्यापकहरुले बाहिर पढाएको खुलाएका छैनन् ।’ अब आफैले खोज्नु पर्ने स्थिती आएको क्याम्पस प्रमुख लम्सालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय