२८औँ पटक सगरमाथाको चुचुरोमा कामिरिता
मङ्गलबार, जेठ ०९, २०८० मा प्रकाशित

काठमाडौँ, जेठ ०९ / नेपाली हिमाल आरोही कामिरिता शेर्पा २८ औं पटक सगरमाथापको चुचुरोमा पुग्न सफल भएका छन्। उनले सबैभन्दा धेरे पटक सगरमाथा चढ्ने व्यक्तिको कीर्तिमानी पनि बनाएका छन्।

उनी सेभेन समिट ट्रेक्स प्रालिमा आवद्ध भएर २८ औं पटक सगरमाथा चढेका हुन् भने यो सिजनमा उनको यो दोस्रो आरोहण हो। एक हप्ताको बीचमा उनी दोस्रो पटक सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन्।

आज बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाको २८औँ पटक सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ। यसअघि गत बुधबार २७औँ पटक सगरमाथाको चुचुरोमा पुगेका थिए। तर सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर कीर्तिमान बराबरी गरेपछि कामिरिता लगत्तै सगरमाथा चढेर पुनः कीर्तिमान आफ्नो नाममा राख्न सफल भएका छन्।

कामीरिताले सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए। खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चोयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, केटु आरोहण एक गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन्।

सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण  गरेको कीर्तिमान छ। यही याममा पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका हुन्।

सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले पाएको थियो। वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार ४४ आरोही समूहका चार सय ७८ आरोहीले आरोहण अनुमति लिएका हुन्। सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो।नागरिकन्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय