छठ पर्वको अवसरमा भोलि गुलरियामा भोजपुरी कलाकार आउँदै
शनिबार, मङि्सर ०२, २०८० मा प्रकाशित

बर्दिया, मंसिर २ (फरकसमाचार) / छठ पर्वको अवसरमा भोली (आइतबार) भोजपुरी भजन गायक गायिकाहरु गुलरिया आउँदैछन् । गुलरिया नगरपालिका–७ स्थित छठ घाटमा भारतीय भोजपुरी भजन गायकहरुको बेजोड प्रस्तुती रहने वडा अध्यक्ष मनोज कुमार यादवले जनाएका हुन् । अध्यक्ष यादवका अनुसार आइतबार बेलुका ६ बजे देखि छठ घाटमा साँस्कृतिक कार्यक्रम सुरु हुनेछ ।

आइतबार साँझ देखि सोमबार बिहानसम्म कलाकारहरुको प्रस्तुती रहनेछ । छठ पर्वको लागि भारतको बनारस, देवरियाबाट भजन गायक गायिका र लखनउबाट झाँकीको लागि कलाकार ल्याएको अध्यक्ष यादवले बताए । ‘नदीको किनार छठ घाटमा रातभरि भक्तालुहरु जागराम बस्ने भएकोले झाँकीसहित भजन क्रितन हुनेछ’ अध्यक्ष यादवले भने,‘छठ घाटमा सम्पुर्ण तयारी भईसकेको छ ।’

भोजपुरी भजन गायिका प्रियंका पाण्डे, भजन गायक राकेश तिवारी, निर्तेशलाल यादव र धिरज तिवारी आउने जनाए । त्यसैगरी लखनउ छलिया आर्ट ग्रुपको झाँकी प्रर्दशन हुनेछ । कलाकारहरुको भजन र बिचबिचमा झाँकी प्रर्दशनले साँस्कृतिक कार्यक्रमको शोभा बढ्ने अध्यक्ष यादवले विश्वास व्यक्त गरेका छन् ।

सन्तान एवं पारिवारिक सुख समृद्धिको कामना गरी चार दिनसम्म मनाइने आस्थाको महापर्व छठ शुक्रबार देखि नहाय खाय विधिबाट सुरु भएको छ । पहिलो दिन ब्रतालुहरुले नुहाएर अरबा अरबाइन एवं चोखो भोजन गर्छन् ।

आदिदेव सूर्यको उपासना गरी अत्यन्त नियम निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाईन्छ । दोस्रो दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइन्छ । दिनभर उपबास बसेका छठ ब्रतालुले दोस्रो दिन साँझ नियम निष्ठाकासाथ खीर बनाएर ग्रहण गर्दछन् ।

तेस्रो दिन भोली आइतबार छठ पर्वको मुख्य दिन रहेको छ । ब्रतालुहरुले भोली छठको पूजा सामग्री घाटमा लगेर अस्ताउँदो सूर्यको अर्घ्य दिन्छन् । यो दिनलाई सौझकारक पनि भनिन्छ । सोमबार बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठपर्व समापन हुनेछ । छठको मुख्य दिन अर्थात अस्ताउँदो सूर्यको अर्घ्य दिने दिनलाई सौझकारक र अन्तिम दिन अर्थात उदउँदो सूर्यलाई अर्घ्य दिने दिनलाई पारन भनिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर