काठमाडौं,मंसिर ४ / तिहारको भाइ" />
भारतबाट लिटरमै ७ रुपैयाँ घटेर आउँदा पनि आयल निगमले घटाएन डिजेलको मूल्य
सोमबार, मङि्सर ०४, २०८० मा प्रकाशित

काठमाडौं,मंसिर ४ / तिहारको भाइटीकाको दिन २९ कात्तिकमा भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्य सूची पठायो । निगम स्रोतका अनुसार यस पटक डिजेलको मूल्य लिटरमै ७ रुपैयाँ हाराहारीले घटेर आएको छ । पेट्रोल, मट्टितेल, हवाइ इन्धनको मूल्य पनि केही मात्रामा घटेको छ ।

नेपाल भारत पेट्रोलियम व्यापार सम्झौताअनुसार भारतीय कम्पनी इन्डियन आयल कर्पोरेसन (आईओसी) ले हरेक अंग्रेजी महिनाको १ र १५ तारेखमा इन्धनको नयाँ मूल्य आयल निगमलाई पठाउँछ । खाना पकाउने ग्यासको मूल्य भने हरेक महिनाको १ तारेखमा पठाउँछ । भारतबाट आएको नयाँ मूल्यका आधारमा निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि २०७९ अनुसार त्यसै दिन वा भोलिपल्टदेखि लागू हुने गरी नेपालभर इन्धनको उपभोक्ता मूल्य निर्धारण गर्छ ।

तर यसपटक भारतबाट नयाँ मूल्य आएको ५ दिन बित्दा पनि निगमले मूल्य समायोजन गरेको छैन । भारतबाट इन्धनको मूल्य घटेर आएको बिक्रेताले पनि थाहा पाइसकेका छन् । त्यसैले निगमले जुनसुकै बेला मूल्य घटाउन सक्ने आशंका गर्दै उनीहरु थोरै मात्रामा इन्धन खरिद गरेर बिक्री गरिरहेका छन् । जसका कारण कैलाली, पोखरा, धादिङ, नुवाकोट लगायतका क्षेत्रमा इन्धनको आंशिक अभाव देखिएको छ । मूल्य समायोजन नहुँदा उपभोक्ता भने महंगोमा मूल्यमा इन्धन खरिद गर्न बाध्य छन् ।

आयल निगमको तालुक मन्त्रालय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालिरहेका मन्त्री रमेश रिजालले मूल्य समायोजनबारे निगमको तयारीबारे आफूलाई जानकारी नभएको बताए । तिहार बिदाका कारण आफू उपत्यका बाहिर रहेको भन्दै मन्त्री रिजालले भने, ‘घट्यो होला भनेको घटेको रहेनछ । म अब बुझ्छु ।’

कालोबजारीको जोखिम

इन्धनको मूल्य भारतबाट घटेर आएको सूचना इन्धन बिक्रेताले भोलिपल्टै पाउँछन् । भारतबाट इन्धन ढुवानी गर्ने ट्यांकर व्यवसायीले इन्धन खरिद गर्दाको बिल पाएपछि मूल्य घटेको सूचना उनीहरुसम्म पुग्छ । त्यसैले नयाँ मूल्य सूची पाएको केही एकदिन भित्रै निगमले उपभोक्ता मूल्य निर्धारण गर्न नसके इन्धन बिक्री गर्ने व्यवसायीले व्यक्तिवगत लाभ लिनसक्ने उच्च जोखिम रहन्छ ।

यही जोखिम कम गर्न भन्दै निगमले गत भदौदेखि नयाँ मूल्य सूची प्राप्त भएको साँझ नै मूल्य समायोजन गर्दै आएको थियो । तर, यसपटक नयाँ मूल्य आएको एक साता पुग्नै लाग्दा पनि निगम चुपचाप बस्नु गम्भीर रहेको उपभोक्ता अधिकारकर्मी बताउँछन् । अधिकारकर्मी माधव तिमिल्सिना लिटरमै ७ रुपैयाँ मूल्य घटेको बजारभरि हल्ला हुँदा पनि मूल्य समायोजन नहुनु आयल निगमको बदमासी भएको बताउँछन् ।

निगमले अहिले काठमाडौं लगायतका सहरमा १६४ रुपैयाँ लिटरमा डिजेल बिक्री गरिरहेको छ । अहिले प्राप्त नयाँ मूल्यले डिजेलको मूल्य कम्तीमा ७ रुपैयाँले घट्न सक्ने निगम स्रोत बताउँछ । यदि स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोन गरे डिजेलको उपभोक्ता मूल्य काठमाडौं, पोखरा दिपायलमा १५७ रुपैयाँमा झर्नेछ ।

सुर्खेत र दाङ क्षेत्रमा १५६ रुपैयाँमा झर्नेछ भने धनगढी, अमलेखगञ्ज र नेपालगञ्जमा डिजेलको मूल्य १५४ रुपैयाँ ५० पैसामा झर्नेछ । इन्धनको मूल्य एकै पटक लिटरमा ५ रुपैयाँ भन्दा बढी घटेमा सार्वजनिक यातायातको भाडा पनि घटाउने प्रचलन छ । त्यसैले डिजेलको मूल्य घट्नेवित्तिकै सार्वजनिक यातायातको भाडा पनि घटाउनुपर्नेछ ।

उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन अन्तर्राष्ट्रिय बजार मूल्य घटेपछि निगमले घरेलु बजारमा मूल्य घटाउनैपर्ने बताए । निगमका कारण सर्वसाधारण महंगीमा परिरहेको उनको भनाइ छ ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर