विद्यालयलाई तिनतारे बनाउन नियमित अनुगमनसहित महत्वपुर्ण निर्णय
मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित

बर्दिया,चैत ६(फरकसमाचार)/ नगर परियोजना सल्लाहकार समितिको बैठकमा विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धि सुविधाहरुको दिगोपन प्रयोग र तारा प्रमाणीकरणको लागि विद्यालयको नियमित अनुगमनसहित अन्य महत्वपुर्ण निर्णयहरु गरिएको छ ।

यूके ऐड तथा वाटरएड नेपालको आर्थिक सहयोग, राष्ट्रिय अपांगता महासंघ नेपाल, नेपाल प्रजनन स्याहार केन्द्रको प्राविधिक सहयोग र गुलरिया नगरपालिकाको समन्वयमा बेस संस्था द्वारा संचालित वास गेन्स परियोजना अन्तर्गत नगर परियोजना सल्लाहकार समितिको बैठकमा सोमबार महत्वपुर्ण निर्णयहरु गरिएको हो । गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा वास गेन्स परियोजनाले एक वर्ष भित्र प्राप्त गरेको उपलब्धी, सिकाई र चुनौतीको प्रस्तुतीकरण गरिएको छ त्यसैगरि आगामी दिनको लागि सल्लाह सुझाव अदान प्रदानसमेत गरिएको छ ।

बैठकमा श्री गोरी शंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक हरीलाल चौधरीले यस परियोजनाको गतिबिधिले विधार्थीहरुको सिकाइको वातावरण सृजना गर्न र छात्रा छात्राहरुलाई विद्यालयमा टिक्न महत्वपूर्ण योग्दान पु¥याई रहेको बताए । हाम्रो विद्यालय एक तारा प्राप्त गरी दोस्रो तारा प्राप्त गर्न नजिक रहेको छ र तीन तारा घोषणा गर्न प्रतिबद्ध रहको प्रधानाध्यापक चौधरीले जनाए ।

खानेपानी सरसफाई तथा स्वच्छता र महिनावारी स्वास्थ्य स्वच्छता सम्बन्धि सुविधाहरुको दिगोपन प्रयोगको लागि विद्यार्थीहरुको बानी व्यवहार परिर्वतन गर्न शिक्षकहरुलाई सल्लाह सुझावको लागि पालिकाको तर्फबाट मासिक रुपमा नियमित अनुगमन गर्ने बैठकले निर्णय गरेको छ ।

विद्यालयमा निर्माण भएका खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धि सुविधाहरुको दिगोपन प्रयोगको लागि आवश्यकता अनुसारको मर्मत सम्भार गर्न जरुरी रहेकोले पालिकाको तर्फबाट विद्यालयसंग समन्वय गरि मर्मत सम्भार गर्न सहजीकरण गर्ने र वास गेन्स परियोजना अन्तर्गत विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता कार्यविधि २०७४ अनुसार विभिन्न सचेतनामुलक तथा निर्माण सम्बन्धि काम गर्दै आएको कार्यविधि अनुसार तारा प्रमाणीकरण गर्न प्रावधान रहेकोले विद्यालयबाट प्राप्त भएको विधालयको खानेपानी सरसफाई तथा स्वच्छताको स्वःमूल्याँकनको प्रतिवेदनको आधारमा विवधालय अनुगमान गरी कार्यविधिमा तोके बमोजिम तारा प्रमाणीकरण गर्न आवश्यकता अनुसार पालिकाले तारा प्रमाणिकरण गर्ने निर्णय गरिएको छ ।

गुलरिया नगरपालिका विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता कार्यविधिलाई उच्च प्राथमिकतामा राखी पालिकाले स्थानीकरण गर्ने बैठकमा निर्णय गरिएको गुलरिया नगरपालिका शिक्षा शाखाका प्रमुख शतिश यादवले बताए । त्यसैगरि परियोजना अन्तर्गत वर्षभरि भएका कार्यक्रमहरुको योजना बजेट तथा खर्चको बारेमा बैठकमा जानकारी गराईएको संयोजक जगदिश चौधरीले जानकारी दिए ।

‘निर्माण तथा सफ्टवेयर कार्यक्रमको योजना बजेट ९९ लाख ७० हजार १ सय ३७ रुपिया ९ पैसा रहेको थियो’ बेस संस्थाका परियोजना संयोजक चौधरीले भने,‘हालसम्म सफ्टवेयरमा रु १३ लाख र निर्माणमा रु ८६ लाख ९१ हजार ७ सय १२ रुपियाँ ७ पैसा गरि कुल ९९ लाख ९१ हजार ७ सय १२ रुपियाँ ७ पैसा खर्च भएको छ । ’

वास गेन्स परियोजनाको एक वर्षको कार्यप्रगति विवरण कार्यक्रम अनुगमन तथा मुल्यांकन अधिकृत मानबहादुर चौधरीले प्रस्तुतीकरण गरेका थिए ।

विद्यालयमा समाबेशी तथा पहुँचयुक्त खानेपानी, सरसफाई तथा स्वच्छता सुविधा उपलब्ध गराई अपाङ्गता भएका बालबालिकाहरु, किशोर किशारीहरुको पहुँच बृद्धि गरी सिकाईको वातावरण सृजना गर्दै दिगो विकास लक्ष्यको सुचक ४ को उपलब्धिमा योगदान पु¥याउने उदेश्यले वास गेन्स परियोजनाले गुलरिया नगरपालिकाको दश वटा मावि विद्यालयमा काम गरिरहेको छ ।

विद्यालयमा जब खानेपानी, सरसफाई तथा स्वच्छताको सुविधा राम्रो हुन्छ तब विद्यार्थीहरु विद्यालय छोड्ने संख्या कम हुने र सिकाईको वातावरण सृजना हुने वाटरएड नेपालका प्रोजेक्ट म्यानेजर उमाशंकर यादवले बताए । ‘यस नगरपालिका भित्र परियोजनाले काम गरेको विद्यालय बाहेकको विद्यालयमा खानेपानी सरसफाई तथा स्वच्छताको सुविधा राम्रो बनाउनुपर्छ’ प्रोजेक्ट म्यानेजर यादवले भने,‘परियोजाले विद्यालयमा खानेपानी सरसफाई तथा स्वच्छताको लागि निर्माण गरेको संरचनाको संरक्षण गर्नु नगरपालिकाको दायित्व हुन्छ ।’

परियोजनाले एक वर्षमा धेरै राम्रो काम गरेको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताए । ‘परियोजनाले खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धि विद्यालयमा संरचना बनाएर सघाएको छ’ नगर प्रमुख यादवले भने,‘विद्यालयमा बनाईएका खानेपानी सरसफाई तथा स्वच्छताका संरचनालाई नगरपालिकाले मर्मत सम्भार गरेर संरक्षण गर्न प्रतिबद्ध रहेको छ ।’

बैठकमा परियोजना सल्लाहकार समितिका पदाधिकारीहरु, गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव, उप–प्रमुख सावित्रा गौतम, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, वरिष्ठ शाखा अधिकृत मुकुन्द आर्यालय, शिक्षा शाखा प्रमुख सतिस यादवलगायत शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय