स्वास्थ्य बिमाको तीन करोड बढी बर्दिया अस्पतालले भुक्तानी लिन बाँकी
शुक्रबार, चैत १६, २०८० मा प्रकाशित

बर्दिया,चैत १६(फरकसमाचार)/ नेपाल स्वास्थ्य बिमा बोर्डले अस्पताललाई समयमा भुक्तानी नदिदाँ समस्या भएको छ । स्वास्थ्य बिमाले अस्पतालको भुक्तानी रोक्दा अस्पतालाई औषधी खर्च व्यवस्थापन गर्न समस्या भएको हो । अस्पतालमा बिहीबार आयोजित सामाजिक सेवा ईकाइ/जेरियाट्रिकको दोस्रो चौमासिक समिक्षा बैठकमा बिमाले समयमा भुक्तानी नदिदाँ समस्या भईरहेको कुरा उठान गरिएको छ ।

चालु आर्थिक वर्षको क्लेम स्विकृत भएको रु ३ करोड ३७ लाख २४ हजार ९ सय ८४ स्वास्थ्य बिमाले अस्पताललाई भुक्तानी नदिएको समिक्षा बैठकमा सामाजिक सेवा इकाइका सहजकर्ता हेमन्त चौधरीले प्रस्तुतीकरणमा देखाए । चालु आर्थिक वर्षको पहिलो चौमासिकको रु १ करोड ६१ लाख ७ हजार ४ सय १६ र दोस्रो चौमासिक (मंसिर देखि फागुन)सम्मको १ करोड ७६ लाख १७ हजार ५ सय ६८ गरि जम्मा रु ३ करोड ३७ लाख २४ हजार ९ सय ८४ बिमाले भुक्तानी नगरेको सहजकर्ता चौधरीले जनाए ।

बिमाले अस्पताललाई भुक्तानी दिन ढिलो गर्दा औषधी खर्च थेग्न हम्मेहम्मे परेको अस्पतालका वरिष्ठ मेसु डा.सुभाष पाण्डेयले बताए । ‘बिमाले भुक्तानी दिन ढिलो गरेको छ’मेसु डा.पाण्डेयले भने,‘जसोतसो सेवा दिईरहेका छौं, सेवा रोकेका छैनौं ।’

हामीले औषधी ल्याएको ठाउँमा तिर्नुपर्ने हुन्छ । ढिलो तिर्दा औषधी ल्याउने ठाउँमा सम्बन्ध बिग्रिन सक्छ । त्यसैले सेवा अनुसारको बिमाले अस्पतालको भुक्तानी समयमै दिदाँ खर्च व्यवस्थापन सहजता हुने मेसु डा.पाण्डेयले विश्वास व्यक्त गरे ।

अस्पतालको सेवा अनुसारको भुक्तानी नभएको नेपाल स्वास्थ्य बिमा बोर्ड गुलरियाका कार्यालय प्रमुख रुपेश आचार्यले बताए । ‘सेवा अनुसारको भुक्तानी हुन ढिलो भएको छ’कार्यालय प्रमुख आचार्यले भने,‘तर नदिएको पनि होइन ।’ चालु आर्थिक वर्षमा तीन पटक बोर्डले बर्दिया अस्पताललाई भुक्तानी गरेको दावी गरे ।

बिमा बोर्डमा नयाँ अध्यक्ष आउनु भएको छ । दुई/दुई महिनामा अस्पतालाई औषधीको भुक्तानी दिने बोर्डले निर्णय पनि गरिसकेको छ । रोकिएको रकम एकै पटकमा दिने तयारी छ । प्रक्रियागत कुराले ढिलो भईरहेको छ । बाँकी रकम चैत मसान्तमा आउने कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।

सरकारले निःशुल्क राष्ट्रिय स्वास्थ्य सेवा कार्यक्रम लागु गरि स्वास्थ्य संस्थाहरुमा सामाजिक सेवा एकाइको स्थापना गरेको छ । बर्दिया अस्पतालमा आव ०७४/०७५ देखि सामाजिक सेवा इकाई स्थापना भई संचालनमा छ । लक्षित समुह र आर्थिक स्थिती कमजोर भएका बिरामीलाई उपचारबाट बञ्चित हुन नदिन सामाजिक सेवा इकाइले सेवा दिईरहेको छ ।

सामाजिक सेवा ईकाईले गरिब, असहाय, अपांङ, जेष्ठ नागरिक, लैङ्गिक हिंसा प्रभावित बालबालिका, महिला स्वास्थ्य स्वयंसेविका, प्राकृतिक प्रकोपबाट प्रभावित, शहिद परिवार, कुपोषित बालबालिका, दुर्घटनामा परेका आकस्किम बिरामी अभिभावक नभएका, प्रहरीबाट ल्याएका थुनुवा र सिमान्कृत तथा लोपोन्मुख आदिवासी जनजातिलाई विषेश प्राथमिकता दिई सेवा प्रदान गरिरहेको छ ।

सामाजिक सेवा इकाई,जेरियाट्रिक स्वास्थ्य सेवा कार्यक्रम, ओसिएमसि, दम तथा बोङकाइटिस, सिकलसेल, स्वास्थ्य बिमा र पेन प्लस कार्यक्रम मार्फत अस्पतालले दोस्रो चौमासिकमा सेवाग्राहीलाई दिएको सेवाको प्रगति विवरण समिक्षामा प्रस्तुतीकरण गरिएको थियो । समिक्षा बैठकमा अस्पतालका बरिष्ठ मेसु डा. सुभाष पाण्डेय, स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरी, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.सामिनी चौधरीलगायत अन्य डाक्टरहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय