इपिएल क्रिकेट : भैरहवामा श्रीलङ्का र ओमानका खेलाडी अनुबन्ध
आइतबार, फागुन १८, २०७६ मा प्रकाशित

काठमाडौँ, फागुन १८ : आगामी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिताका लागि भैरहवा ग्ल्याडिएटर्सले टेष्ट राष्ट्र श्रीलङ्का र ओमानका खेलाडीलाई अनुबन्ध गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षकसमेत रहिसक्नुभएका पुबुदु दसानायकेले भैरहवाबाट खेल्ने अन्य तीन विदेशी खेलाडीको नाम आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गर्नुभएको हो ।

दसानायके इपिएलमा भैरहवाको मुख्य प्रशिक्षक हुन्छन् । उनी आजै नेपाल आइपुग्नुभएको हो । ओमानका बायाँ हाते तीव्र गतिका बलर बिलाल खान, श्रीलङ्काका स्पिनर जीवन मेन्डिस र बायाँ हाते अलराउन्डर मिलिन्डा श्रीवार्दानाले भैरहवाबाट इपिएल खेल्ने पक्का भएको उनले बताए । त्यस्तै भैरहवाले यसअघि नै वेस्ट इन्डिजका ब्याट्सम्यान ड्वेन स्मिथको नाम सार्वजनिक गरेकोे थियो ।

इपिएल आगामी चैत्र १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । भैरहवा ग्ल्याडिएटर्सले चैत्र २ गते काठमाडौँ किंग्स११ सँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

भैरहवा टोलीमा शरद भेषवाकर, प्रदीप ऐरी, मोहम्मद आरिफ शेख, कृष्ण कार्की, भुवन कार्की, दीपेश श्रेष्ठ, रोहितकुमार पौडेल, हरिशङ््कर झा, अभिनाश बोहरा, कुशल मल्ल, विकास आग्री र हिमांशु दत्त छन् । त्यसैगरी विदेशी खेलाडीमा बिलाल खान, ड्वेन स्मिथ, जीवन मेन्डिस र मिलिन्डा श्रीवार्दाना रहेका छन् ।

प्रतियोगितामा काठमाडौँ, ललितपुर, विराटनगर, भैरहवा, वीरगञ्ज र पोखरा गरी ६ टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय