मेलम्चीको पानी वितरणको कार्ययोजना बन्दै
शनिबार, चैत ०८, २०७६ मा प्रकाशित

काठमाडौँ, चैत ८ : मेलम्चीको पानी काठमाडौँ ल्याइसकेपछि कसरी वितरण गर्ने भन्ने सम्बन्धमा सरकारले कार्ययोजनाको तयारी थालेको छ । खानेपानी मन्त्रालयमा आज आयोजित छलफलमा मेलम्चीको पानी वितरणको कार्ययोजनाका विषयमा छलफल भएको हो । काठमाडौंँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले कार्ययोजना बनाएर पानी वितरण गर्ने तयारी गरिरहेको छ ।

छलफलमा मन्त्री बिना मगरले पानी वितरण प्रणाली र चुहावटमा बढी ध्यान दिन केयूकेएललाई निर्देशन दिए । पाइप फुटेर कहीँकतै चुहावट भएको पाइए तुरुन्त कार्यस्थलमा गएर मर्मत गरिहाल्न मन्त्री मगरले आग्रह गरे । मेलम्चीको पानी काठमाडौँ आउनुपूर्व अहिले भइरहेको चुहावटमा ध्यान दिन उनले केयूकेएलको ध्यानाकर्षण गराउनुभएको मन्त्री मगरको सचिवालयले जनाएको छ ।

मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा जम्मा भइसकेपछि अहिले वितरण भइरहेको पुरानै प्रणालीबाट काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा वितरण गर्ने र नयँ वितरण प्रणालीबाट पछि वितरण गर्दै जाने केयुकेएलका कार्यकारी प्रमुख मिलन शाक्यले जानकारी दिए ।

सुन्दरीजलमा बनेको प्रशोधन केन्द्रमा मेलम्चीको १७ करोड लिटर पानी प्रशोधन भइसकेपछि त्यही पानी शुरुआती चरणमा पुरानै पाइपलाइन प्रणालीबाट वितरण गर्ने योजना रहेको शाक्यले सुनाए । ‘उपत्यकाका घरघरमा पुरानै प्रणालीबाट पानी वितरण गर्दै लगिनेछ’, शाक्यले भने, ‘नयँ पाइप लाइन प्रणालीलाई पनि हरेक दिन सँगसँगै परीक्षण गरिनेछ । एकै चोटि पानी नयँ प्रणालीबाट वितरण गर्दा समस्या आउला भनेर यसो गर्न लागिएको हो ।’

मेलम्चीको पानी पहिलो चरणमा अनामनगरस्थित नयँ पाइपलाइन वितरण प्रणालीबाट वितरण गर्ने तयारी रहेको छ । शुरुआतमा ५१० धारामा पानी वितरण हुनेछ । अहिले काठमाडौँ उपत्यकामा दुई लाख २१ हजार ६०० धारा बनिसकेका छन् । पानी वितरण गर्दै जाने र द्रुत तरिकाले चुहावट (लिकेज) भएका ठाउँमा पनि मर्मत गर्ने योजनानुसार नै शाक्यको संयोजकत्वमा मेलम्चीको पानी वितरण तयारी समिति पनि बनाइएको छ । उक्त समितिले द्रुत गतिमा चुहावट मर्मत गर्न फिल्डमा प्राविधिक टोली खटाउने छ ।

मेलम्चीको पानी संकलनका लागि राजधानीमा नौ पानी पोखरी (ठूला पानी टंयाकी) निर्माण सम्पन्न भइसकेको छ । ती पोखरीबाट उपत्यकाका विभिन्न स्थानमा पाइपद्वारा पानी वितरण गरिनेछ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले आरुबारी, बाँसबारी, महाँकाल, खुमलटार, बालाजु, भक्तपुरको टिगनी, महाराजगञ्ज, कीर्तिपुर र धोबीघाटमा पोखरी निर्माण गरिसकेको छ । यसैबीच बैठकमा मन्त्री मगरले कोरोनाको सम्भावित संक्रमणबाट सावधानी अपनाउन तथा खानेपानीको महसुल तिर्नुपर्ने समयावधि एक महिना थप गर्न निर्देशन दिए । एक महिनापछि पनि जरिवाना तिर्न नपर्ने गरी महसुल तिर्ने समयावधि बढाउन उनले केयूकेएललाई आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर