विदेशबाट आएकाको तथ्याङ्क सङ्कलन
बिहिबार, चैत २०, २०७६ मा प्रकाशित

काभ्रेपलाञ्चोक, चैत २० : कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकका स्थानीय तहले विदेशबाट आएकाको तथ्याङ्क सङ्कलन गरेका छन् । केही स्थानीय तहले आफ्ना क्षेत्रमा विदेशबाट घर फर्केकाको विवरण सङ्कलन गरिसकेका छन् भने केहीले गरिरहेका हुन् ।

पाँचखाल नपामा बुधबार साँझसम्म ४९ नगरवासी विदशेबाट फर्किएको तथ्याङ्क सङ्कलन गरिएको छ । उनीरुमध्ये १४ भारतबाट फर्किएको पाइएको नगर उपप्रमुख लक्ष्मी दनुवारले बताए । उहाँका अनुसार स्वास्थ्य जाँचपछि १३ लाई घर बाहिर ननिस्कन भनिएको छ भने दुईलाई धुलिखेलस्थित क्वारेन्टाइनमा बस्न पठाइएको छ । ’विदेशबाट फर्किएकालाई घरमै बस्न र कोरोना भाइरसको जस्तै लक्षण देखिए तत्काल स्वास्थ्यचौकी जान भनेका छौँ‘, दनुवारले भन्ए ।

एक महिनाको अवधिमा बनेपा नपामा ४२ जना विदेशबाट घर फर्केको विवतरण सङ्कलन भएको छ । जसमध्ये एक महिलालाई धुलिखेलस्थित क्वारेन्टाइनमा राखिएको बनेपा नगर उपप्रमुख रेखा दाहालले बताए । उनका अनुसार जनप्रतिनिधिको रोहवरमा अन्यको स्वास्थ्य परीक्षण गरी घरबाट ननिस्कन भनिएको छ ।

बनेपा नगरले बुडोलस्थित रेडक्रसको तालिम केन्द्रमा ६५ श्ययाको क्वारेन्टाइन हालै सञ्चालनमा ल्याएको छ । ’विदेशबाट फर्किएका नागरिकलाई स्वास्थ्यकर्मीले निगरानी गरिरहेका छन्‘, उपप्रमुख दाहालले भने, ’अन्य बिरामीको सङ्ख्या थपिए पोलिटेक्निक स्कूल, चेतना केन्द्र, आइटीपार्क, सामुदायिक विद्यालय तथा होटललाई क्वारेन्टाइन बनाउने योजना बनाएका छौँ ।‘

पनौती नगरले पनि हालसम्म १७ विदेशबाट फर्केकाको विवरण सङ्कलन गरेको छ । नगरप्रमुख भीम न्यौपानेले भने, ’उनीहरूको स्वदेश आगमनबारे बुझ्दै घरभित्रै सुरक्षित बस्न र कुनै समस्या आए तत्काल स्वास्थ्य संस्था जान सुझाएका छौँ ।‘ उनका अनुसार नगरस्थित विपद् व्यवस्थापन समितिको बैठकले ‘फुडबैंक’ सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस्तै, नमोबुद्ध नगरमा हाल २२ विदेशबाट घर फर्किएका छन् । उनीहरूलाई ‘होम क्वारेन्टाइन’मा राखिएको नगरप्रमुख टङ्कप्रसाद शर्माले जानकारी दिए । पछिल्लो समय भारतबाट आएकालाई घरबाट कतै नजान भनिएको र उनीहरूलाई नगर स्वास्थ्यकर्मीले निगरानी गरिरहेको उनले बताए ।

रोशी गाउँपालिकामा एक महिनाको अविधिमा १२ जना विदेशबाट फर्किएको तथ्याङक छ । उनीहरूलाई कुनै समस्या नदेखिएपछि घरमै बस्न भनिएको बताइएको छ । मण्डनदेउपुर नपा, चौँरीदेउराली गाउँपालिकालगायत स्थानीय तहले विदेशबाट घर फर्केकाको विवरण सङ्कलन गरिरहेको जनाइएको छ । काभ्रेपलाञ्चोकमा छ नपा र सात गाउँपालिका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर