सङ्क्रमित किशोरलाई वीरगञ्ज पठाइयो
शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित

सर्लाही, वैशाख १२ : सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवाका १४ वर्षीय किशोरमा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ पाइएपछि थप उपचारका लागि उनलाई वीरगञ्ज पठाइएको छ ।

किशोरलाई बिहीवार राति उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा पठाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए।

किशोरको परिवारका पाँच सदस्यलाई धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको प्रजिअ जिसीले बताए किशोर बुधवार साँझ क्वारेन्टाइनबाट आफ्नो घर गए पनि उनी आफ्नो परिवारका सदस्य बाहेक कसैको सम्र्पकमा नगएको उनले जानकारी गराए। गाउँपालिकामा अहिले सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ जिसीले बताए।

गत शुक्रवार वैशाख ५ गते आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि किशोरलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पिसिआर जाँचका लागि लगिएको थियो । त्यहाँ किशोरमा कोरोना सङ्क्रमण नदेखिएपछि वैशाख ७ गते धनकौलको क्वारेन्टाइनमा पठाइएको थियो ।

ती किशोरलाई जनकपुरबाट धनकौल पठाएको चार दिनपछि बिहीवार पुनः कोरोना रहेको भन्दै रिपोर्ट आएको हो । टेकुमा गरिएको परीक्षणमा किशोरमा कोरोना सङ्क्रमण पुष्टि भएको बिहीवार सार्वजनिक गरिएको छ ।

लकडाउनको बेला ती किशोर गत चैत २३ गते भारतको राजधानी नयाँदिल्लीबाट रौतहटको गौर हुँदै धनकौल फर्केका थिए । सङ्क्रमित किशोर नयाँदिल्लीस्थित एक ब्याग फ्याक्ट्रीमा काम गर्दै आएका थिए ।

भारतबाट एक किशोर आएको सूचना पाएलगत्तै प्रहरीले हरकठवास्थित क्वारेन्टाइनमा लगेर उनलाई राखेको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर