धनुषामा हावाहुरी र असिना-पानी : घरको छाना उड्यो
शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित

जनकपुरधाम, वैशाख १२ : धनुषामा शुक्रबार मध्यान्ह आधा किलोसम्मको असिना झरेसँगै भारी वर्षा भएको छ । तीव्र गतिको हावाहुरीसँगै सुरुमा सुक्खा  असिना खसेको छ । असिनापछि भारी वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा लगाएका बालीनालीमा समेत क्षति पुगेको छ।

सुक्खा असिना, हावाहुरी र वर्षाका कारण दर्जनौँ घरका छाना उडाएको छ भने कतिको घर, गोठ, पसल समेत भत्काएको धनुषा बटेश्वर गाउँपालिकाका स्थानीय किसान गौरीशंकर महतोले बताए । उनले भने, ‘खेतमा लगाएको काँक्रो, टमाटर, सिमी, मकै सबै ढुटो बनायो ।’

जिल्लाका विभिन्न स्थानका कृषकहरुले दिएको जानकारी अनुसार बारीमा लगाइएका ठूलो परिमाणका नगदे तरकारी बालीहरुमा पनि ठूलो क्षति भएको छ ।  नगदे बालीको बिक्री गरेर जीविका गर्दै आएका कृषकहरुलाई असिना, पानीले आर्थिक सङ्कट पर्ने भएको छ ।

बटेश्वर लक्ष्मिनीवासका जागृत महतोले हावाहुरी र असिनाले आँपको स-साना टिकुला सखाप पारेको बताए । उनले भने, ‘आँप राम्रो फलेको थियो, तर आजको हुरी र असिनाले सखाप बनायो, रुख बाहेक बोटमा एकआध बाहेक आँपको टिकुला सबै तल खस्यो ।’

जिल्लाको बटेश्वर गाउँपालिकासहित मिथिला, सबैला, धनुषाधाम, गणेशमान चारनाथ, महोत्तरीको गौशाला, बर्दिबास भंगहा, औरही लगायत स्थानीय तहमा हावा, वर्षा र असिनाले क्षति पुर्‍याएको छ।

सयौं हेक्टर जग्गामा स्थानीय किसानले लगाएको मकै तथा तरकारीबाली नष्ट बनाएको किसानले बताएका छन् । त्यसैगरी, तीव्रगतिका हावाहुरीका कारण जिल्लाका आधा दर्जनभन्दा बढी गाउँमा बिजुलीका पोल रुख ढलेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर