इन्डोनेसियामा बाढी पहिरोमा २३ को मृत्यु
शनिबार, पुष १९, २०७६ मा प्रकाशित

जाकार्ता, पुस १८ : इन्डोनेसियामा आएको बाढी पहिरोमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । अत्याधिक वर्षासँगै जाकार्ता क्षेत्रमा ठूलो बाढी र पहिरो आएको अधिकारीले बुधबार जानकारी दिएका छन् ।

दशौँ हजार स्थानीय वासिन्दा विस्थापित भएका छन् भने उनीहरुलाई अस्थायी शिविरमा राखिएको छ । हजाराँै मानिसको घर भत्किएका छन् । बाढी पहिरो प्रभावित क्षेत्रमा घर, कारलगायतका भौतिक सामग्री पानी र माटोमा डुबेको तथा तैरिएको अवस्थामा देखिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

मृत्यु भएका मध्ये कम्तीमा २१ जनाको जाकार्तामा मात्रै मृत्यु भएको र अरु दुई जनाको छिमेकी जाभाको लेबाकमा मृत्यु भएको उद्धारकर्ताले जनाएका छन् । ‘अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ,’ सामाजिक मामिला मन्त्री जुलियरी पिटर बाटुबाराले बिहीबार पत्रकारसँग भने । उनले मृत्यु हुनेको सङ्ख्या अव नबढ्ने अपेक्षा पनि व्यक्त गरे ।

लेबाकका स्थानीय उद्धारकर्ताले पनि दुई जनाको मृत्यु भएको बताएका छन् । उनीहरुले अरु तीन जनाको पनि मृत्यु भएको हुनसक्ने भन्दै अनुसन्धान भइरहेको जनाएका छन् ।

जाकार्तामा एक जना आठ वर्षीय बालकदेखि ८२ वर्षीय बृद्धसम्मको मृत्यु भएको पिडितले बताएका छन् । ‘बर्षा अत्यन्त छिटो भएको थियो, चाडो चाडो बढेर गएको थियो, हामीले के गर्ने कसो गर्ने भन्ने नै निर्णय गर्न नसक्ने अवस्थामा प¥यौँ,’ एक महिलाले भनिन् ।

बाढी पहिरोपछि जाकार्ताका केही क्षेत्रमा विद्युत् तथा यातायात सेवा अवरुद्ध भएको थियो । त्यसैगरी रेल सेवा र विमान सेवा पनि केही समय रद्द गरिएको अधिकारीहरुले जनाएका छन् । जाकार्तामा यसअघि सन् २०१३ मा पनि विनाशकारी बाढी पहिरो आएको थियो । त्यतिबेला पनि दर्जनौँको मृत्यु भएको थियो । यस क्षेत्रमा बेला बेलामा बाढी पहिरो आइरहने गरेको अधिकारीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर