भारतमा सडक दुर्घटना पन्ध्रको मृत्यु्
शनिबार, पुष २६, २०७६ मा प्रकाशित

नयाँ दिल्ली, पुस २६ : भारतमा भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । विपरित दिशाबाट आइरहेका यात्रुवाहक बस र ट्रक शुक्रबार राति एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी अरु २५ जना घाइते भएका छन् ।

देशको उत्तरप्रदेश राज्यमा दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीले सिन्ह्वालाई टेलिफोनमा जानकारी दिएका छन् । दुवै साधन एक आपसमा ठोक्किएपछि बसमा आगलागी भएको थियो । बसमा झण्डै ५० जना यात्रु रहेका थिए । उत्तर प्रदेशको कान्नौज जिल्लाबाट राजस्थान राज्यको राजधानी जयपुरतर्फ जाँदै गरेको बससँग ट्रक ठोक्किएको हो ।

प्रारम्भिक अनुसन्धानले ट्रक चालकको लापर्वाहीका कारण दुर्घटना भएको देखिएको प्रहरी अधिकारीले जनाएका छन् । ट्रक चालकले उल्टो दिशामा तिव्र गतिले ट्रक चलाएको उनीहरुको भनाई छ । प्रत्यक्षदर्शीले दिएको जानकारीअनुसार बस र ट्रक एक आपसमा ठोक्किएपछि कम्तीमा दुईभन्दा बढी इन्धन ट्याङ्की विस्फोटनसमेत भएका थिए । विस्फोटनसँगै आगलागी पनि भएको उनीहरुले बताएका छन् ।

दुर्घटनामा परी घाइते भएकाहरुलाई स्थानीय विभिन्न अस्पतालमा भर्ना गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । अझै १८ देखि २० जनाभित्र च्यापिएको अनुमान गरिएको छ, उनीहरुलाई जिवितै बाहिर निकाल्ने प्रयास भइरहेको पनि छ,’ एक प्रहरी अधिकारीले भने ।

दुर्घटनाको खबर थाहा पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । उनले मृतकप्रति श्रद्धाञ्जलि र मृतकका आफन्तमा समवेदना व्यक्त गर्नुका साथै घाइतेको सिघ्र स्वास्थ्य लाभकोसमेत कामना गरेका छन् ।

त्यसैगरी उत्तरप्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले पनि दुर्घटनाप्रति दुु:ख व्यक्त गर्दै मृतकका परिवारलाई राहतको घोषणा गरेका छन् । उनले मृतकका परिवारजनलाई प्रति परिवार दुई लाख रुपैया र घाइतेलाई प्रतिव्यक्ति ५० हजार रुपैया राहतको घोषणा गरेका हुन् । (रासस÷सिन्ह्वा)

प्रतिक्रिया

सम्बन्धित खवर