अफगानिस्तान र पाकिस्तानमा राष्ट्रसङ्घीय सहायता संस्थाको सहयोग
बुधबार, माघ ०८, २०७६ मा प्रकाशित

संयुक्त राष्ट्रसङ्घ, माघ ८ : अफगानिस्तान र पाकिस्तानका चिसो पीडित नागरिकलाई संयुक्त राष्ट्रसङ्घीय संस्थाले सहयोग गरिरहेको ती संस्थाले जनाएका छन् । चिसोका कारण समस्यामा परेका नागरिकलाई राष्ट्रसङ्घीय निकायले सहयोग गरिरहेको संयुक्त राष्ट्रसङ्घीय प्रवक्ताले मङ्गलबार जानकारी दिएका छन् ।

ती निकायले दुई देशका चिसो पीडितलाई न्यानो कपडा, ज्याकेट, कम्बल एवम् खाना उपलब्ध गराएका छन् । राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले मङ्गलबार आफ्नो ट्वीटर अकाउन्टमार्फत सो जानकारी गराउनुभएको समाचारमा जनाइएको छ ।

यी दुई देशमा हाल जारी रहेको हिमपात, बाक्लो हुस्सु र शीत लहरका कारण कतिपय क्षेत्रका नागरिकलाई ठूलो समस्या परिरहेको छ । प्रवक्ता डुजारिकले यस्तो समस्यामा परेका नागरिकलाई संयुक्त राष्ट्रसङ्घीय कर्मचारीकै उपस्थितिमा उद्धारकार्य भएको र उनीहरूलाई सहायता सामग्री पनि प्रदान गरिएको जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।

पाकिस्तानको उत्तरी र दक्षिणी भू–भागका कतिपय स्थानमा शीत लहर र हिमपातका कारण जनजीवन कष्टकर बन्दै गएको छ । यसका कारण त्यहाँ कम्तीमा पनि १२७ जनाको ज्यान गएको छ । ती नागरिकको ज्यान जानेक्रम जारी नै रहेको र केही स्थानमा चिसोबाट बच्नका लागि विभिन्न सहायता निकायले उपायका बारेमा पनि जानकारी गराउने गरेको उनीले बताए ।

पाकिस्तानका ती क्षेत्रमा हिमपातका कारण एक हजारभन्दा बढी घरमा क्षति पुगेको छ । हिउँले थिचेर घर भत्किएको समाचारमा जनाइएको छ । त्यसैगरी अफगानिस्तानमा पनि भारी हिमपात भएको छ । हिमपातपछि भएको वर्षापछि आएको बाढी र हिउँपहिरोका कारण यहाँका कम्तीमा पनि ११ वटा प्रान्त प्रभावित भएको छ ।

यहाँ बाढीले कैयौँ घर बगाएको छ । राजमार्गमा हिउँले सवारी सञ्चालन हुनसक्ने अवस्था छैन । कतिपय बाटा सेनाको प्रयासमा सफा गरिएको भए पनि यसबाट जनजीवन सामान्य हुन सकिरहेको छैन ।

प्राकृतिक प्रकोपको उद्धारमा खटिएका यहाँका सरकारी निकाय तथा सुरक्षाकर्मीलाई संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी सङ्घसंस्थाका कर्मचारीले पनि सघाएका छन् । अफगानिस्तानका ३४ मध्ये ११ वटा प्रान्तमा मानवीय सहायताको ठूलो खाँचो रहेको प्रवक्ता डुजारिकले जानकारी दिएका छन् ।

उनीले यहाँका कैयौँ भू–भागमा न्यानो कपडा र खाद्यान्न मात्र नभएर बस्नका लागि अस्थायी शिविर र पालको नै आवश्यकता रहेको जानकारी दिए । उनीले यस्तो अप्ठेरो समस्यामा सहायताका लागि सबै क्षेत्र र स्थानबाट लाग्न पनि सबैलाई ट्वीटरमार्फत आग्रह पनि गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर