इरानी विमान सडकमा उत्रियो, सबै यात्रु सकुशल
सोमबार, माघ १३, २०७६ मा प्रकाशित

तेहरान, माघ १३ : इरानी यात्रुबाहक विमान बान्दर–ए–मासार विमानस्थलमा सोमबार अवतरण गर्नेक्रममा उछिट्टिएर नजिककै सडकमा आकस्मिक अवतरण गरेको इरानी अधिकारीहरूले बताएका छन् ।

राज्य सञ्चालित टेलिभिजनले स्थानीय अधिकारीहरूको भनाइ उद्धृत गर्दै विमानमा सवार यात्रुसमेत चालक दलका सबै सदस्य सकुशल रहेको जनाएको छ । खुजेस्तान प्रान्तका नागरिक उड्डयन सेवाका प्रमुख मोहमड्रेजा रेजाइयाले विमानका पाइलटले विमानस्थलमा विमान ढिला अवतरण गराएका कारण विमान अनियन्त्रित भएको बताए ।

इरानको क्यास्पियन एयरलाइन्सको स्वामित्वमा रहेको म्याकडोनल डग्लस विमान राजधानी तेहरानको मेहराबाद बिमानस्थलबाट उडेको थियो । विमानमा १३५ जना यात्रु र चालक दलका सदस्य थिए ।

टेलिभिजनले विमानका सबै यात्रु सुरक्षित रहेको जनाएको छ । विमानमै यात्रारत टेलिभिजनका पत्रकारले सडकमा विमान अवतरण गर्नेक्रममा विमानका पाङ्ग्राहरू फुटेको बताए । इरानी नागरिक उड्डयन संस्थाले विमान दुर्घटनाका बारेमा छानबिन शुरु गरिसकेको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध आर्थिक नाकाबन्दी लगाएपछि विश्वका चर्चित विमान कम्पनीहरू एयरबस र बोइङलाई आफ्ना जहाज इरानलाई बिक्री गर्न प्रतिबन्ध लागेको छ । प्रतिबन्धहरूका कारण इरानी हवाई सेवा असुरक्षित रहेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर