दण्डहीनताले मौलाउँदै आपराधिक घटना
बिहिबार, मङि्सर ११, २०७७ मा प्रकाशित

११मंसिर महोत्तरी (फरकसमाचार)  बर्दिबासकी ६ वर्षीया गुलाब खातुनको बलात्कारपछि हत्या गरेको आरोपमा गौशाला–५ का अरूणकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । हत्या आरोपमा साह पहिलोपटक पक्राउ परेका भने होइनन् । गत वैशाखमा पनि आफ्नै साथीलाई हत्या गरेको अभियोग उनीमाथि छ । हत्या अभियोगमा उनीविरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा चलिरहेको छ ।

वैशाख २८ गते साँझ गौशालाको होटलमा सँगै मदिरा सेवन गरी घर फर्कंदै गर्दा बाटोमा विवाद झिकेर साहले आफ्नै साथी दिलीप ठाकुरको हत्या गरेको अभियोगमा साहविरुद्ध मुद्दा चलाइएको हो । उक्त मुद्दा विचाराधीन अवस्थामा छ । एउटा हत्या अभियोगमा मुद्दा चलिरहेकै बेला उनी अर्को हत्या आरोपमा पक्राउ परेका छन् ।

जेठ १९ गते जिल्ला न्यायाधीश सुमनकुमार न्यौपानेको एकल इजलासले साहलाई एक लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । सोही आदेशमा उनी धरौटी राखेर रिहा भएका हुन् । जिल्ला अदालतको धरौटीमा छाड्ने आदेशमा असहमति जनाउँदै थुनामै राखेर मुद्दा चलाउने भन्दै उच्च सरकारी वकिल कार्यालयले उच्च अदालत जनकपुरमा २५ असारमा निवेदन दिए पनि अहिलेसम्म त्यसमा सुनुवाइ भएको छैन ।

यही मंसिर ७ गतेदेखि बेपता बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया खातुनको शव सोमबार राति घर नजिकैको झाडीमा फेला प¥यो । बर्दिबास–१४ स्थित सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फ विनोद साहको खाली जग्गाको झाडीमा कपडाको पोकोभित्र शव भेटिएको थियो । महोत्तरीका प्रहरी प्रमुख टीकाबहादुर केसीले अरोपित साहकै बयानका आधारमा बालिकाको शव फेला पारिएको बताए । मदिराको मातमा आफूले ती बालिकाको हत्या गरेको भनेपछि साहलाई उनकै परिवारले गौशाला प्रहरीको जिम्मा लगाएका थिए । गौशाला प्रहरीले बर्दिबास प्रहरीलाई बुझाएको थियो । प्रहरी स्रोतका अनुसार बयानमा साहले बालिकाको हत्या गरेको आरोप स्विकारेका छन् । बालिका हत्याको विरोधमा मंगलबार प्रदर्शनमा उत्रिएका बर्दिबासका स्थानीयमाथि सुरक्षाकर्मीले गोली चलाएपछि घाइते भएका तीनजनामध्ये एक सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भयो ।

‘सरकार न्यायमुखीभन्दा वितरणमुखी बन्दा दण्डहीनता बढेको छ । अपराधीले दण्डबाट उन्नमुक्ति पाउँदाको बाछिटाले सामाज आक्रान्त छ । बलात्कार, हत्या, अपहरणजस्ता घटना बढिरहेका छन् । प्रदेश सरकार संघीय सरकारलाई दोष देखाउनुभन्दा दण्डहीनता अन्त्य गर्नेतर्फ लाग्नुपर्छ ।’

साउन ३१ गते रौतहट गरुडाका २१ वर्षीय निरञ्जन राम सोही ठाउँस्थित लखन साहको घरमा बर्थडे पार्टीमा गएका थिए । पार्टीबाट फर्कने क्रममा निरञ्जनको हत्या भयो । हत्या आरोपमा विजयकुमार राम पक्राउ परे । गरुडा नगरपालिका–८ जिंगडिया गाउँको राम समुदायमा कक्षा ११ पढेका १९ वर्षीय विजयकुमार मात्र थिए । विजयकुमारले हिरासतमा आफू निर्दोष भएको दाबीसहित रिहा गरिदिन प्रहरीलाई बिन्ती गरिरहे । तर, प्रहरीले निरञ्जनको हत्या कबुल गराउन विजयकुमारलाई चरम यातना दियो । यातनाका कारण बिरामी परेका विजयकुमारलाई उपचारका लागि भदौ ८ मा वीरगन्जस्थित नेसनल मेडिकल कलेजको आइसियुमा भर्ना गरियो । उपचारका क्रममा १० गते विजयकुमारको मृत्यु भयो । विजयकुमारका मामाका छोरा निरञ्जन गरुडा–८ स्थित लखनको नर्सरीमा काम गर्थे । सोही नाताले उनी लखनको घरमा बर्थडे पार्टीमा गएका थिए । पार्टीबाट फर्कने क्रममा उनको घाँटी रेटेर हत्या गरिएको थियो ।

यातनाकै कारण विजयकुमारको मृत्यु भएको दाबी प्रस्तुत भएपछि प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक नवीन सिंह तथा हवल्दार फिरोजमियाँ धुनियाँ र मुन्ना सिंहलाई निलम्बन गरेको छ । इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ज्ञानकुमार महतो प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्का प्रहरी प्रधान कार्यालय तानिएका छन् । तर दोषी प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउनुपर्ने पीडित परिवारको माग अझै सुनवाइ भएको छैन  र घटनाको सत्यतथ्य पनि प्रहरीले बाहिर ल्याएको छैन ।

धनुषाको सबैला नगरपालिका–१२ का २३ वर्षीय शम्भु सदाले ट्याक्टर चलाएर परिवार पालिरहेका थिए । उनी स्थानीय सञ्जय साहको ट्याक्टर चलाउँथे । जेठ १२ गते उनले चलाउने ट्याक्टर दुर्घटना हुँदा सबैला–१३ की ५५ वर्षीया समुन्द्रीदेवी साहको मृत्यु भयो । दुर्घटनापछि शम्भु इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा पुगे । उनी जेठ २८ मा हिरासतको शौचालयमा मृत अवस्थामा भेटिए ।

भेस्टले घाँटीमा पासो बाँधिएको र मुखमा कपडा कोचेको अवस्थामा उनी मृत भेटिएका थिए । प्रहरीले उनले झुन्डिएर आत्महत्या गरेको दाबी लियो । तर सदा परिवारले हिरासतमा यातनाका कारण उनको मृत्यु भएको आरोप लगाउँदै न्यायको गुहार लगायो ।

प्रहरीले पैसा लिएर ‘केस’ मिलाउन खोजेको तर गाडीधनी पैसा दिन तयार नभएकाले शम्भु चरम यातनाको सिकार भए । सदा परिवारका अनुसार जेठ २७ मा शम्भुले आमा सियालीलाई फोन गरेर भनेका थिए, ‘मलाई चाँडो छोडाउनुस्, नभए हिरासतमै मार्छन् ।’ शम्भुको पोस्टमार्टम गर्न एक साता लाग्यो । त्योबेलाम्म शव गलिसकेकाले शरीरमा कुनै घाउचोट देखिएन । पीडित परिवारले न्याय माग्दै पटक–पटक प्रदर्शन पनि गरे । तर अहिलेसम्म न्याय नपाएको पीडित परिवारको गुनासो छ ।
०००
असार दोस्रो साता धनुषा हंसपुर नगरपालिकाका १६ वर्षीय राजु सदा प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन वार्डमा पीडाले छटपराइरहँदा पनि स्वास्थ्यकर्मी, चिकित्सकले उनलाई हेरेनन् । अन्ततः उनको मृत्यु भयोे । भारतको अहमदाबादमा काम गर्ने उनी कोरोनाबाट बच्न घर फर्केका थिए । एक साता हिँडेर जेठ ३ गते घर आइपुगेका उनलाई कोरोना संक्रमण फैलिएको क्षेत्रबाट आएका कारण क्वारेन्टिनमा राखियो । क्वारेन्टिन बस्दा समेत लामो समयसम्म पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएन । जेठ २० गते उनलाई पखाला लाग्यो । उनी सिकिस्त बन्दै गए । जेठ २८ मा बल्ल उनीसहित तीनजनालाई टिपरमा राखेर जनकपुरधामस्थित प्रादेशिक अस्पताल पु¥याइयो । उनलाई अस्पतालले आइसोलेसन कक्ष बेड नभएकाले भुइँमा राख्यो तर उपचार भएन कोरोना परीक्षणको रिपोर्ट नआएका कारण चिकित्सक र स्वास्थ्यकर्मीले उनलाई हेरेनन् । रिपोर्ट आइसक्दा उनी सिकिस्त भइसकेका थिए । रिपोर्ट नेगेटिभ आएपछि बल्ल चिकित्सकले उनलाई उपचारका लागि आकस्मिक कक्षमा लगे । तर ढिला भइसकेको थियो, उनले त्यहीँ दम तोडे । राजुका परिवारले छोराको मृत्यु होइन, हत्या भएको भन्दै अस्पतालका आइसोलेसन संयोजकसहित पाँचजनामाथि कारबाही माग गर्दै जोहरी दिए पनि सुनुवाइ भएको छैन ।
०००
गत पुस २५ मा मिथिला नगरपालिका–५ का २५ वर्षीय दिलीप महतोको हत्या भयो । औरही खोलामा भइरहेको अवैध उत्खननको विरोध गर्दै रोक्न पुगेका महतोको कोखामा फलाम घोचेर र टिपरले किचेर हत्या गरिएको थियो । महतोको हत्या आरोपमा पक्राउ परेकामध्ये तीनजना अदालतको आदेशमा पुर्पक्ष थुनामा छन् । सोही आरोपमा पक्राउ परेका अन्य तीनजना धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत धनुषाका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले टिपरचालक मुनीन्द्र महतो, लोडरचालक रञ्जित भनिने जितेन्द्र महतो र क्रसर सञ्चालक विपीन महतोलाई पुर्पक्ष थुनामा राख्ने आदेश दिएको छ । महतोको हत्या आरोपमा पक्राउ परेका अन्य तीनजना रोशनकुमार यादव, सत्यनारायण महतो र शत्रुधन महतोलाई भने जनही २५ हजार धरौटीमा तारेखमा छाड्न आदेश भएको थियो । महतोको हत्यापछि रोकिएको औरही खोलाको अवैध उत्खनन पुनः सुरु भएको छ । पालिकाले नै यस खोलामा डोजर लगाएर उत्खनन गर्न ठेक्केदारसँग सम्झौता गरेको छ ।
०००
उल्लिखित अपराधका घटनाबाट पीडित धेरैजसोलाई प्रदेश सरकारले राहत रकम दिए पनि न्याय मिल्न सकेको छैन । घटना छानबिन समितिले दिएका प्रतिवेदन सार्वजनिक गरिएको छैन । दोषी भनिएका कतिपयमाथि आवश्यक कारबाही प्रक्रिया पनि थालिएको छैन । दोषीलाई कारबाहीको दायरामा ल्याउन नसक्दा प्रदेश २ पछिल्लो समय आपराधिक कर्मको अखडा बन्दै गएको सामाजिक अभियन्ताहरूको भनाइ छ । सामाजिक अभियन्ता राजकुमार महतो नकारात्मक सोच, जातिवाद, भ्रष्टाचार, अपराध र दण्डहीनताले मधेसलाई गाँजेको बताउँछन् ।

महतोले भने, ‘सरकार न्यायमुखीभन्दा वितरणमुखी बन्दा दण्डहीनता बढेको छ । अपराधीले दण्डबाट उन्नमुतिm पाउँदाको बाछिटाले सामाज आक्रान्त छ । बलात्कार, हत्या, अपहरणजस्ता घटना बढिरहेका छन् । प्रदेश सरकार संघीय सरकारलाई दोष देखाउनुभन्दा दण्डहीनता अन्त्य गर्नेतर्फ लाग्नुपर्छ ।’ संघीय सरकारले अधिकारमाथि अंकुश लगाएका कारण चाहेजस्तो सबै काम गर्न नसकेको प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको भनाइ छ ।साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर