दिल्ली मतगणनाको तयारी पूरा
सोमबार, माघ २७, २०७६ मा प्रकाशित

नयाँदिल्ली, माघ २७ : नयाँदिल्लीमा शनिबार सम्पन्न विधानसभा चुनावको मतगणना भोलि अर्थात मङ्गलबार हुँदैछ । दिल्ली निर्वाचन आयोगका प्रमुख रनवीर सिंहले मतगणनाका लागि दिल्लीका विभिन्न स्थानमा २१ वटा केन्द्रको व्यवस्था गरिएको जानकारी दिए ।

मतगणना कार्य बिहान ८ बजे शुरु हुनेछ । विद्युतीय मतदान भएकाले चुनावी परिणाम मङ्गलबार नै सार्वजनिक हुने अनुमान गरिएको छ । उहाँले दिल्लीको मतदान केन्द्रहरूमा खटिएका मतदान अधिकृतहरूले दिनरात लगाएर तथ्याङ्कहरू रुजु गरिरहेको जानकारी दिए । सिंहले चुनावको नतिजा स्वच्छ र विश्वसनीय बनाउन आयोगले हरसम्भव प्रयास गरिरहेको छ भने ।

दिल्लीको सत्तारुढ आम आदमी पार्टी (आप) का नेताहरूले निर्वाचन समाप्त भएपछि विद्युतीय मतदान उपकरणहरू अनधिकृत तरिकाबाट अन्यत्र लगिएको भन्दै विरोध जनाएका छन् । तर प्रमुख आयुक्त सिंहले आपको उक्त दाबीमा सत्यता नरहेको दाबी गरे ।

उहाँले पर्यवेक्षक र सबै दलका उम्मेदवारहरूको रोहबरमा विस्तृत अनुसन्धान पनि गरिसकेको पनि बताउनुभयो । अनुसन्धानमा विद्युतीय मतदान केन्द्रहरू सबै ठीक र दुरुस्त अवस्थामा रहेको भेटिएको पनि उहाँले बताउनुभयो ।

नयाँदिल्लीको ७० स्थानका लागि भएको निर्वाचनको नतिजाप्रति सबैको ध्यान गएको छ । चुनावपछि सार्वजनिक मत सर्वेक्षणले मुख्यमन्त्री अरविन्द केजरीवालको नेतृत्वमा रहेको आपले दुई तिहाई स्थान जित्ने अनुमान प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर