एसएसपीबाटै घर जानुपर्ने चिन्तामा आईजीका १४ ब्याची
आइतबार, मङि्सर १४, २०७७ मा प्रकाशित

काठमाडौं, कुनै समय प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेशलाल कर्ण र दिलीपकुमार चौधरी हालका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीभन्दा अगाडि थिए। थापा आईजीपी भएको ६ महिना भइसक्यो। तर, उनीहरुको एसएसपीबाट बढुवा हुने टुंगो छैन।

प्रहरीमा ८ डीआईजी रिक्त छन्। एक एआईजीको दरबन्दी थपिएसँगै ९ जना डीआईजीमा बढुवाको तयारी छ। उनीहरुभन्दा पछिको ब्याचका ६ जना डीआईजी भइसके। अरु अहिले पनि प्रतिस्पर्धामा छन्। तर, आईजीकै ब्याचका १४ जना भने एसएसपीबाटै घर फर्किनुपर्ने चिन्तामा छन्।

२०४९ वैशाख १९ गते प्रहरी निरीक्षकमा भर्ना हुँदा तेश्रो नम्बरमा रहेका पुरुषोत्तम कँडेल यसपटक पनि डीआईजीमा बढुवा नभए एसएसपीबाटै घर फर्किने निश्चित छ। त्यतिबेला उनीभन्दा अगाडि रहेका थापा आईजी छन्। दोश्रो नम्बरमा भर्ना भएका ईश्वरबाबु कार्की पनि डीआईजी भएर प्रदेश नं १ को प्रमुुख भइसकेका छन्।

एसएसपीसम्म सँगै बढुवा हुँदै आएका उनीसहितका प्रहरी अधिकारीहरुलाई तारावाला गाडी चढ्न पाइने हो वा होइन, थाहा छैन। शक्ति केन्द्रले कसलाई रुचाउँछ भन्नेमा उनीहरुको करिअर निर्भर छ।

गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, दिलीपकुमार चौधरी, राजेशलाल कर्ण, देवबहादुर बोहरा, सौरभ राणा, रामकृपाल शाह र उमेश रन्जितकार एसएसपीसम्म हालका आईजीपी शैलेश थापासँगै थिए। अहिलेका तीन एआईजी पनि उनीहरुकै ब्याची हुन्।

२०५८ वैशाख १८ गते राजेशलाल कर्ण ब्याचीलाई छाड्दै डीएसपीमा बढुवा भएका थिए। हालका आईजीपी थापा उनीभन्दा १० महिनापछि मात्रै डीएसपी भएका हुन्। एसपी बढुवामा पनि उनी अगाडि नै थिए। आईजीपी थापासहितका ब्याचीभन्दा १३ महिना पहिले नै २०६६ मंसिर ३ गते एसपी भए कर्ण। तर एसएसपीपछि उनी पछाडि धकेलिएर १५ औं नम्बरमा पुुगे।

जसरी शक्तिको आडमा उनी अगाडि आएका थिए, उसैगरी पछाडि धकेलिए। थापाले सिंगो संगठनको नेतृत्व गर्दा कर्ण भने एउटा प्रदेश इन्चार्ज पाउन मरिहत्ते गरिरहेका छन्।

एसएसपीहरु प्रकाश अधिकारी, देवबहादुर बोगटी, राजेन्द्रप्रसाद चौधरी, किशोर कुमार दाहाल, शेखर कोइराला, प्रदीपकुमार श्रेष्ठ पनि आईजी थापाकै ब्याची हुन्।

तर उनीहरु बढुवामा पछाडि पर्दै आए। उनीहरुको पनि अहिले उही चाहना छ, अवकाशको मुखमा डीआईजी बन्ने। यो ब्याचले २०७९ वैशाख १९ गते अनिवार्य अवकाश पाउनेछ।

२०४९ चैत २९ गतेको ब्याची पनि भावी आईजीपीको दौडमा लागिसके। यो दौडबाट छुटिसकेका १० एसएसपी पनि यही लटमा डीआईजी बन्ने दौडमा छन्। २०७४ साउन १९ गते एसएसपी भएर रोकिएका यो ब्याचका दिवेश लोहनी मात्रै हुन् डीआईजीमा छुटेका।

२०७५ जेठ २ गते एसएसपी बढुवामा परेका अरु ९ जना पनि डीआईजीको दौडमा छन्। यो ब्याचबाट गत असारमा सहकुल थापा र अरुणकुमार बीसी डीआईजी भए। सहकुल थापा भावी आईजीकै दौडमा लागिसके। तर अरु ९ जना डीआईजीकै सकसमा छन्।

सुशीलकुमार यादव, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रमबहादुर चन्द, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, नरबहादुर खत्री र मसाउद आलम खाँ पछिल्लो ब्याचका डीआईजी दाबेदार हुन्।

यसपटक फड्को मार्न नसके उनीहरुको प्रहरी सेवा यहीँ टुंगिन सक्छ। प्रहरी उच्च श्रोतका अनुसार आईजीपी थापा आफ्नै ब्याचबाट डीआईजी बनाउन चाहन्छन्। तर यसका लागि उनलाई सहज छैन।

पछिल्लो ब्याचबाट यसअघि नै डीआईजी भइसकेकाले अब त्यो ब्याचलाई रोक्न सहज छैन। अर्को पक्षको तर्क छ, पहिले असक्षम भनेर छुटेकाहरु अब ६ महिनापछि कसरी सक्षम मानेर बढुवा गर्ने?

त्यसमाथि २०५१ चैत ५ गते प्रहरी निरीक्षकमा भर्ती भएका एसएसपीहरु पनि अहिले नै डीआईजीको दौडमा छन्। यो ब्याचबाट डीआईजी बढुवा गरिए थप एसएसपीको करिअर यहीँ टुंगिने छ।

प्रहरी निरीक्षकमा ठूलो संख्यामा भर्ती गरिन्छ। तर जति माथि बढुवा हुँदै गयो, उति नै कोटा साँघुरिँदै जान्छ। त्यसमाथि बढुवामा अस्पष्ट र अपारदर्शी नीतिले धेरै सकल दर्जाले तल्लै तहमा सेवा टुंग्याउँछन्।-उजिर कार्की/Nepalkhabar

प्रतिक्रिया

सम्बन्धित खवर