फरक समाचार , नेपालगन्ज — सीमा क्षेत्रको निरीक्षणमा पुगेका बाँकेका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख छक्क परे । सीमा वारिपारि नेपाली र भारतीयका घर छन्, आँगन भने एउटै छ – दशगजा । जिल्लाको पूर्वी सीमा क्षेत्रको अवस्था बुझ्न पुगेका उनीहरूलाई बस्तीको नाम ‘घोडदौडिया’ सुन्दै अचम्म लागेको थियो ।
सीमास्थित बाँकेको नरैनापुरको घोडदौडिया गाउँ । दशगजाको बायाँ नेपाल र दायाँतर्फका भारतीय बस्ती हुन् । तस्बिर : जे पाण्डे/कान्तिपुर
‘दुईतिरको एउटै आँगन देखियो,’ दशगजामा उभिएका प्रजिअ सूर्यबहादुर खत्रीले भने, ‘यसलाई कसरी दशगजा भन्ने ? यो त गोठजस्तो देखिन्छ ।’ दुवै मुलुकका बासिन्दाको दशगजा साझा आँगन बनेको छ ।
नेपाली अधिकारीहरूलाई देखेपछि नजिकै सुरक्षा पोस्टबाट भारतीय सशस्त्र सीमा बलका जवानहरू दशगजामै आए । आपसमा परिचय गरे । छोटो कुराकानीपछि आफ्नै सुरक्षा पोस्टतर्फ फर्किए । दुईतिरका उक्त बस्तीका नेपाली र भारतीय एकअर्कालाई सहयोग गर्छन् । उनीहरू फरक मुलुकका बासिन्दाजस्ता लाग्दैनन् । बिहे होस् वा मर्दापर्दा साथै हुन्छन् ।
घोडदौडियाका बासिन्दाले कसैको मन कुँडिने काम नगरेको बताए । ‘यहाँ कुनै मनमुटाव छैन,’ स्थानीय इस्लाम साईले भने, ‘तर, भारतीय पक्षले कैयौं ठाउँमा सीमा र दशगजा मिचेको सुन्दा दुःख लाग्छ ।’
नरैनापुर गाउँपालिकाअन्तर्गत रहेको घोडदौडिया बस्ती दशगजाभन्दा उत्तर र दक्षिणमा छ । पहिलो पटक यहाँ पुग्नेहरूलाई नेपाल र भारत छुट्याउन गाह्रो पर्छ । दुवैतिरको रहनसहन, संस्कृति, परम्परा, वेशभूषा र भाषा एउटै छ । घरहरू पनि एउटै खालका छन् । आर्थिक अवस्था मिल्दो छ ।
निरीक्षण क्रममा पुगेका प्रजिअ खत्रीले पनि दशगजालाई आँगन बनाएर बसेकाहरूको मित्रवत् सम्बन्ध अनुकरणीय पाएको टिप्पणी गरे । बाँकेको ६५ किलोमिटर दक्षिणी सीमामा बस्ती छ ।
घोडदौडियामा दुई मुलुकबीचको दशगजा आँगनका रूपमा प्रयोग गरिँदै आएको भए पनि कुनै खालको भौतिक पूर्वाधार निर्माण भने गरिएको छैन । भारतीय पक्षबाट पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म नेपालको सीमावर्ती ६ सय ६८ स्थानको जमिनमा भोगचलन हुँदै आएको छ । नेपाली पक्षले २ सय ७४ ठाउँमा खेती गर्दै आएको पाइएको छ ।साभार कान्तिपुर