अस्पताल सञ्चालनमा सरकार अभिभावक बन्छ : मुख्यमन्त्री गुरुङ
सोमबार, फागुन १२, २०७६ मा प्रकाशित

पोखरा, फागुन १२ : पोखरा महानगरपालिका एवं काठमाडौँ इन्स्टिच्यूट अफ चाइल्ड हेल्थको सहकार्यमा बाल अस्पताल सञ्चालन गरिने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको रोहवरमा महानगरपालिकाका प्रमुख मानबहादुर जीसी र चाइल्ड हेल्थका संस्थापक अध्यक्ष भगवान कोइरालाले अस्पताल निर्माण तथा सञ्चालन गर्ने सम्झदारी पत्रमा आज एक कार्यक्रमका बीच हस्ताक्षर गर्नुभयो ।

काठमाडाँै इन्स्टिच्यूट अफ चाइल्ड हेल्थको सातवटै प्रदेशमा विशेषपत्रसहितको विशिष्टिकृत बाल स्वास्थ्य सेवा प्रदान गर्नुका साथै बाल स्वास्थ्यसम्बन्धी अध्ययन अनुसन्धान गर्ने लक्ष्यका साथ अस्पताल स्थापना गर्न लागिएको हो । पोखरा महानगरपालिका–२७ स्थित तत्कालीन लेखनाथ नगरपालिकाको कार्यालयको भवनमा आवश्यक भौतिक संरचना तयार गरी अस्पताल सञ्चालन गर्नेसमेत सहमति भएको छ ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले चाइल्ड हेल्थले मुलुकका सबै प्रदेशका राजधानीमा अस्पताल निर्माण गर्ने योजनाअनुसार गण्डकी प्रदेशबाट शुरु गर्न लागेकोमा खुशी व्यक्त गर्दै प्रदेश सरकारले अस्पताल निर्माण र सञ्चालनमा अभिभावकत्व निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महानगरपालिकाका प्रमुख जीसीले चालू आर्थिक वर्षमै अस्पताल सञ्चालन गर्ने गरी काम अघि बढाउने बताउँदै त्यसका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए । चाइल्ड हेल्थका संस्थापक अध्यक्ष कोइरालाले आगामी तीन महिनाभित्र अस्पताल निर्माण गरी सञ्चालन गरिने जानकारी दिँदै नाप, नक्सा एवं लागत अनुमान तयार भइरहेको बताए ।

अस्पताल निर्माणसँगै आवश्यक उपकरण खरिदका लागि ४० देखि ५० करोड खर्च हुने जानकारी दिँंदै उनले शुरुमा ५० श्ययाको अस्पताल बनाउने योजना रहेको र विस्तार गरी कूल एक सय श्ययासम्म पु¥याउने संस्थाको लक्ष्य रहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय