अभिभावकको सिकाइले कार्तिका चर्चामा
सोमबार, चैत १३, २०७९ मा प्रकाशित

बर्दिया, चैत १३(फरकसमाचार) / ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँकी ४ वर्षिय कार्तिका रतगैया छरछिमेकको चर्चामा छिन् । कार्तिका अहिले त्रिभुवन माध्यमिक विद्यालय भुरिगाउँमा एलकेजीमा अध्ययनरत छिन् । आमा बुवाको केयर र सानै देखि सिकाईको प्रभावले कार्तिका अहिले चर्चा पाईरहेकी छिन् । कार्तिकाको अनुशासन, बोल्ने शैली र देखाउने व्यवहारले उनको चर्चा भईरहेको छ । देख्दामा सानी तर, कार्तिका धेरै अनुशासित छिन् ।

बाटोमा हिड्ने बाटुवाहरुलाई सानी नानीले माथिल्लो तलबाट नमस्कार भनेर तोते बोलीले सम्बोधन टक्रयाउँदा जोकोही खुसी हुन्छन् । उमेरले सानी तर, कति ज्ञानी र संस्कारी नानी भन्दै कार्तिकाको चर्चा गर्छन् । बाटोमा हिड्ने व्यक्तिहरुले पनि सानो मान्छेको तोते बोलीको नक्कल गर्दै नमस्कार फिर्ताउँछन् ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा थारु महिला उत्थान केन्द्र द्वारा संचालित बालबालिकाको सपना परियोजनाले बालबालिकाको सर्वागिण विकासमा सहयोग पु¥याउने उदेश्यले आवश्यक कुराहरु अभिभावकलाई सिकाएको छ । बालबालिकाको सर्वागिण विकासको लागि परियोजनाले सिकाएको सिकाई अभिभावकले आफ्नो बालबालिकालाई सिकाउँदा त्यसको प्रत्यक्ष प्रभाव बालबालिकामा देखिएको छ ।

कार्तिका विद्यालय पढ्न जान्छिन् । फर्किएपछि घरमा मम्मीले खेलौनाको माध्यमबाट कार्तिकालाई पढ्न सिकाउँछिन् । कार्तिकाको दैनिकी अहिले नयाँ नयाँ कुरा सिक्नमा ठिक्क छ ।

ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँकी २९ वर्षिय सुनिता थारु गर्भमा रहेको बच्चाले आमा बुवाले गर्ने व्यवहार सिक्ने कुरा पहिला थाहा नभएको बताउँछिन् । आफु १२ कक्षा पास गरेपनि यो कुराको ज्ञान नभएको प्रतिक्रिया दिईन् । मेरो छोरी कार्तिका गर्भमा हुर्किएर जन्मिसकेपछि यो कुरा थाहा भयो । यदि गर्भमा बच्चाले सुनेर सिक्ने र ३० प्रतिशत मस्तिष्क विकासको कुरा पहिला नै ज्ञान भएको भए झन् राम्रो हुने उनले सुनाईन् । तर, कार्तिका जन्मेपछि बालबालिकाको सपना परियोजनाले बालबालिको सर्वागिण विकासको लागि सिकाए अनुसार व्यवहारमा लागु गरे ।

कार्तिका जन्मेसकेपछि आमा समुह मार्फत थारु महिला उत्थान केन्द्र द्वारा संचालित बालबालिकाको सपना परियोजनाको कार्यक्रममा सहभागी हुने अवसर पाएको सुनाईन् । ‘बालबालिकाको सपना परियोजनाले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर बच्चाको संर्वागिण विकासमा परिवारिक वातावरण कसरी बनाउने सिके’ थारुले भनिन्,‘अहिले हाम्रो कार्तिकाको लागि बालमैत्री परिवार छ ।’ नानीलाई खेल्न चाहिने खेलौना देखि खाने कुरा सबै स्थानीय र घरमा बनाउने गरेको जनाईन् । बालबालिकाको सपना परियोजनाको कार्यक्रममा सहभागि नहुँदा श्रीमान्ले कार्तिकालाई बोक्ने नमान्ने सुनाईन् । सानो हुँदा गनाउने भन्दै नबोक्ने बुवाले कार्यक्रममा सहभागी भएपछि बोक्न र खेलाउन थालेको जानकारी दिईन् ।

बुवा आफैले बालबालिकाको स्याहार र केयरले गरे बृद्धि विकासमा निकै टेवा पुग्ने सपना परियोजनाले सिकाएपछि श्रीमान्ले धेरै केयर गर्न थालेको उनी बताउँछिन् । अहिले कार्तिकाको बुवा सुरज रतगैयाले पनि कार्तिकाको धेरै केयर गर्छन् । नानीसंग खेल्ने, विद्यालय छोड्ने, नयाँ ठाउँमा घुमाउने गर्छन् । त्यसैगरी कार्तिको हजुरबुवा कृष्ण प्रसाद रतगैयाले पनि नातिनीको बढी ख्यान राख्ने गरेका छन् । बालबालिकाको सपना परियोजनाले कार्तिकाको पुरा परिवार बालमैत्री हुँदा उनलाई नयाँ कुरा सिक्न धेरै सहज भएको छ ।

पुराना कपडाको प्रयोग गरी उनकी मम्मीले स्थानीय खेलौनाको माध्यमबाट कार्तिकालाई धेरै कुरा सिकाउँछिन् । कपडाको गुडियाँ, बल, चरा, माछा, हात्ती र खेलौनाकै रुपमा अक्षर बनाएर उनकी मम्मीले घरमा सिकाउँन व्यस्तछिन् । कार्तिका सुत्ने कोठामा उनकी मम्मले बनाएकी खेलौना राखेकी छिन् । स्थानीय स्तरमा पाईने चिजको खेलौनाले सजाएको कोठाले कार्तिकालाई सिकाई केन्द्रित गरेको छ । बालबालिकाको सपना परियोजनाले घरमा खेलौना बनाउन कार्तिकाको मम्मीलाई तालिमसमेत दिएको छ । मम्मीले घरमा खेलौना बनाउँदा प्रत्यक्ष हेरेर र सोधपुछबाट कार्तिकाको सिकाई पनि हुन्छ ।

बालबालिकाको सर्वागिण विकासको लागि गर्भावस्था देखि नै ख्याल गर्नुपर्ने भ्याउपाएपछि गर्भावस्था देखि नै हेरचाहमा परिवारका सदस्यले सघाँई रहेको बालबालिकाको सपना परियोजनाका कार्यक्रम अधिकृत नरेश थारुले बताए । ‘परियोजना संचालन हुनु भन्दा अगाडि अभिभावकले देखाउने व्यहारमा अहिले व्यापाक परिर्वतन आएको छ’ कार्यक्रम अधिकृत थारुले भने,‘पहिला आमाले मात्र बालबालिका हुर्काउने जिम्मेवारीमा देखिन्थे ।’ पछिल्लो समयमा बालबालिकाको हेरचाह र स्याहारमा आमा भन्दा बढी बुवाले सक्रियाता देखाएका छन् ।

बिगत चार वर्षदेखि ठाकुरबाबा नगरपालिकाको सबै वडामा बालबालिकाको सपना परियोजना संचालमा छ । यस परियोजनाले बालबालिकाको विकासका क्रममा लैगिक मान्यताले सिमित हुन नदिई स्वतन्त्र रुपमा हुर्काउनका लागि उचित पालन पोषण गर्ने अभिभावकको व्यवहार परिर्वतन गर्न र स्थानीय सरकारलाई प्रारम्भिक बालविकासका लागी आवश्यक रणनीति बनाउन सघाँउने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर