गुलरिया नगरपालिकाले हस्तान्तरण गर्यो एम्बुलेन्स र शव वाहन
बुधबार, साउन ०३, २०८० मा प्रकाशित

बर्दिया,साउन ३ (फरकसमाचार) / गुलरिया नगरपालिकाले एकैदिन एम्बुलेन्स र शव वाहन हस्तान्तरण गरेको छ । गुलरिया नगरपालिकाले बर्दिया अस्पताललाई शव वाहन र गुलरिया नगरपालिका–१ खैरापुर स्वास्थ्य चौकीलाई मंगलबार एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

जिल्लामा एउटा पनि शव वाहन नरहेको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताए । ‘केही दिन अघि सार्वजनिक कार्यक्रममा अस्पताललाई शव वाहन उपलब्ध गराउने प्रतिबद्धता गरेको थिए’नगर प्रमुख यादवले भने,‘त्यो प्रतिबद्धता आज पुरा भएको छ ।’

अस्पतालमा उपचार हुँदा हुँदै नगरवासीहरुको मृत्यु हुँदा शवलाई घरसम्म पु¥याउन निकै समस्या थियो । त्यो समस्या समाधान गर्न अस्पताललाई शव वाहन उपलब्ध गराएको नगर प्रमुख यादवले जिकिर गरे । अस्पताललाई हस्तान्तरण गरिएको शव वाहनको संचालन व्यवस्था मिलाउने कार्यको जिम्मा अस्पताल विकास समितिले गर्नेछ । नगरवासीलाई सहजताको लागि एउटा शव वाहन गुलरिया नगरपालिकामा छ । गुलरिया नगरपालिका भित्र फ्रि रुपमा शव ओसार्ने नगर प्रमुख यादवले जनाए । ‘नगरवासीको स्वास्थ्यको विषयमा गुलरिया नगरपालिका अत्यन्तै संवेदनशील छ’ नगर प्रमुख यादवले भने,‘महिलाहरुको पाठेघर अप्रेशन निशुल्क गराउन अस्पताललाई नगरपालिकाले शोधभर्ना गरेको छ, त्यसैगरी गरिब दुखी बिरामीको लागि नगरपालिकाले रु १० लाख बजेट छुट्याएको छ ।’ राजदूतावासबाट भर्खरै भेन्टिलेटरसहितको थप एउटा एम्बुलेन्स गुलरिया नगरपालिकालाई प्राप्त भएको छ । शव वाहन र एम्बुलेन्सको अभाव खड्किन नदिने नगर प्रमुख यादवले दावी गरेका छन् ।

गुलरिया नगरपालिकाको लागतमा अस्पताललाई शव वाहन र खैरापुर स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको गुलरिया नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुनिल पाण्डेले बताए । ‘स्वास्थ्य चौकीलाई मुल्य रु ११ लाख ५० हजार बराबरको एम्बुलेन्स र एम्बुलेन्समा चाहिने थप सामाग्री मुल्य रु ३ लाख गरि रु १४ लाख ५० हजार बराबरको छ’ शाखा प्रमुख पाण्डेले भने,‘अस्पताललाई मुल्य रु ११ लाख ५० हजार बराबरको शव वाहन र कोरोना कालमा संघसंस्थाले नगरपालिकालाई उपलब्ध गराएको ७ वटा बेड हस्तान्तरण गरिएको छ ।’

गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले अस्पताल विकास समितिका अध्यक्ष नारायण गौतमलाई शव वाहन र बेड हस्तान्तर गरेका छन् । शव वाहन र बेड हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रदेशकी सांसद मालती सोडारी, अस्पतालका मेसु डा.सुभाष पाण्डेय, गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, स्वास्थ्य शाखाका प्रमुख सुनिल पाण्डेलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर