धर्म निरपेक्ष र गौहत्या
बुधबार, भदौ १३, २०८० मा प्रकाशित

बासु देव चौधरी

गुलरिया बर्दिया

धरानबाट सुरु भएको नेपालको राष्ट्रिय जनावर गौहत्या बिवाद देश ब्यापी बन्दै राजनितीकरण समेत भएको छ । यो बिवादलाई निराकरण नगर्ने हो भने यसले अझै ठूलो द्वन्ध निम्त्याउन सक्ने कुरालाई कम आँक्न हुँदैन । नेपालको कानुन बिधिको पुर्ण पालना गराउन सरकार कठोरताका साथ प्रतिबद्ध हुन आवश्यक छ । बिधि कानुनको शासन भन्दा कुनै समुदाय जाती वा वंश वा ब्यक्ति कदाचित माथि हुन सक्दैन । यही हो लोकतान्त्रमा कानुनको शासनको मुलभूत सिद्धान्त । नेपालको संबिधानले पनि कानुनको शासनको सिद्धान्तलाई स्विकार गरेको छ । धरानको गाई गोरु मारेर सार्वजनिक भोज गरी भिडियो समेत सामाजिक सञ्जालमा हाल्नु भनेको साँस्कृतिक धार्मिक सहिष्णुता र सार्वजनिक शान्तीमा खलल पार्ने नियत लुकेको पाईन्छ ।

धर्म निरपेक्षता

गाई गोरु नै धार्मिक आस्थाको केन्द्र मान्दै सनातनी धर्मावलम्बीहरुलाई चिढाउने गरी धर्म निरपेक्षताको नाउँमा गौहत्या गर्नु के धर्म निरपेक्षता हो त ? त्यसो भए धर्म निरपेक्ष लाई अङ्ग्रेजीमा सेकुलारिजम भनिन्छ । बर्मिंघम का जॉर्ज जेकब हॉलीयाकले सन् 1846 ताका यो शब्द प्रयोग गरेका थिए । उनले तेतीबेला अनुभव द्वारा मनुष्य जीवनलाई अझ राम्रो बनाउने तरीक़ाहरु दर्शाउनको लागि प्रयोग गरेका थिए ।

“आस्तिकता-नास्तिकता र धर्म ग्रंथहरुमा नफसेरै मानिसहरुको शारीरिक, मानसिक, चारित्रिक, बौद्धिक स्वभावलाई उच्चतम संभावित बिंदु सम्म विकसित गर्नको लागि प्रतिपादित ज्ञान र सेवालाई धर्मनिरपेक्षता हो” भन्ने कुरा विकीपिडियामा पाईन्छ। धर्मलाई अलग राख्ने भन्ने पनि हो अर्थात धर्म मानिसको नितान्त ब्यक्तिगत कुरा भएकोले राजनितिक साँस्कृतिक सामाजिक आर्थिक पक्षबाट धर्मलाई अलग्गै राख्ने भन्ने हो ।

संबिधानको धारा ४ मा धर्म निरपेक्ष भन्नाले सनातन देखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक सांस्कृतिक स्वतन्त्रता सम्झनु पर्छ भनेको छ । नेपालकै सर्बोच्च अदालतले मिति २०६८।२।१ मा एउटा परमादेश मुद्दामा  धर्मनिरपेक्ष राज्यमा सरकार वा सरकारका निकायहरू धर्मबाट पृथक रहनु पर्छ भन्ने मानिन्छ । तरयसको अर्थ ऐतिहासिक तथा धार्मिक महत्वका स्थानको संरक्षणमा सरकारको प्रशासकीय जिम्मेवारी हुने कुरामा विवाद छैन । धार्मिक कार्यमा आमजनसाधारण संलग्न हुने हुँदा सार्वजनिक शान्ति र सुव्यवस्था कायम राख्ने सम्बन्धमा राज्यको जिम्मेवारी अपरिहार्य हुने  भनी सिद्धान्त प्रतिपादन भएको पाईन्छ । राज्यको सरकार धर्मबाट अलग हुने हो तर सँस्कृतिको रक्षाका साथै शान्तीसुरक्षा गर्नुपनि राज्यको कर्तब्य हो ।

गाई गोरु मारे किन सजाय हुने

अब गाई गोरु मारेर खाएको भन्ने कुरा दण्डनिय छ त । पहिलो कुरा त गाई नेपालको राष्ट्रिय जनावर हो । अर्को कुरा गाई सनातनी हिन्दु धर्मावलम्बीहरुको आस्थाको प्रतिक पनि हो । कुनैपनि देशमा राष्ट्रिय चिन्ह प्रतिकहरुको संरक्षण गर्नेगरी कानुनहरु बनाईएको हुन्छ । त्यस्ता कानुनहरुमा राष्ट्रिय चिन्ह प्रतिकहरुमा हानी नोक्सानी गर्ने गराउनेलाई सजायको ब्यवस्था भएको हुन्छ ।

भारतमा राष्ट्रिय पशु बाघ हो । यसको संरक्षण गर्नको लागि भारतमा बाघ मार्नु भनेको  कारावास सजाय भोग्नु हो ।  १७ मई २०१७ मा भारतको राजस्थान प्रान्तको हाई कोर्टले गाईलाई भारतको राष्ट्रिय पशु घोषणा गर्न र गौहत्या गर्नेलाई आजिवन कारावासको सजायको ब्यवस्था गर्न भनी निर्देशन दिएको छ भने बाघ मारेमा  ७ बर्ष जेल सजाय र ३० लाख भारतिय रुपैयाँ बराबर सम्म जरीवाना हुन्छ । अमेरिकामा टाउको खुईलिएको चिल  अमेरिकन बिसोनलाई राष्ट्रिय पशुपंक्षी मानेको छ । यसलाई  मार्दा एक लाख अमेरिकी डलर जरीवाना र दुई बर्ष सम्म जेल सजाय दिन सक्छ ।

अमेरिका भारत  दुवै  देश धर्म निरपेक्ष राष्ट्र हुन् । त्यहाँ सजाय हुन्छ भने नेपालमा राष्ट्रिय जनावर मारेपछी सजाय नगर्ने त । नेपालमा पहिले १२ बर्ष जेल सजाय थियो भने मुलुकी अपराध संहिता २०७४ लागु भए देखि ३ बर्ष सम्म जेल सजाय छ । अझ भन्ने हो भने धार्मिक सहिष्णुता र सार्वजनिक शान्तीसुरक्षामा समेत खलल परेको  समेत कानुन बमोजिमको सजाय हुन सक्छ । नेपालको संबिधानले पनि धार्मिक स्वतन्त्रताको नाममा सार्वजनिक शान्ति भंग गर्ने शिष्टाचार नैतिकता प्रतिकूल हुने धर्म परीवर्तन गराउने वा अरुको धर्ममा खलल पुर्याउने जस्ता ब्यवहार कार्यहरु गर्न हुँदैन भनेको छ र यस्ता ब्यवहार कार्यहरु दण्डनिय हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर