ऐतिहासिक महत्व बोकेको प्राचिन ठाकुरजिको मन्दिर
मङ्गलबार, असोज ०९, २०८० मा प्रकाशित

बिद्या प्रसाद खनाल
लेखक

हुन त हिन्दु दर्शनशास्त्र अनुसार मानिसको भौतिक शरीर भित्र रहेको मन नै एक मन्दिर हो,
भगवानले पहाड, ताल वा जंगलमा विचरण गरेको, नृत्य गरेको, थकान मेटाएको वा अन्य कुनै
अलौकिक कृत्य गरेको स्थानलाई पनि हामी पवित्र मन्दिर नै मान्छौँ यद्यापी त्यहाँ कुनै भौतिक
वास्तुशास्त्र बमोजिम भव्य भवन ठडिएका हुँदैनन् तर पनि ती प्रकृति प्रदत्त स्थानले मन्दिरको स्थान
ग्रहण गरेका हुन्छन् । यसको ज्वलन्त उदाहरण हामी कैलास पर्वतलाई लिन सक्छौँ ।

प्रकृतिले वरदानको रुपमा छोडेको त्यस्ता विशेष प्राकृतिक स्थान बाहेक मानव निर्मित भौतिक भव्य भवनभित्र
मनमा कल्पित भगवानको मूर्ति राखेर गरिने प्रार्थनास्थललाई पनि हामी मन्दिर भन्दछौँ । अझ भनौँ
भने मानिसले आफ्नो दिव्य अन्तस्करणबाट श्रृजना भएको वास्तुशास्त्रीय दिव्य भवन नै मन्दिर हो ।
मन्दिरले अशान्त मनलाई शान्त बनाउँछ । व्यक्तिमा देखिएको अधैर्यतालाई अन्त गर्दै धैर्यवान अथवा
संयमित हुन, जतिसुकै कठिन परिस्थितिमा पनि सत्य पथमा हिँड्न उत्प्रेरित गर्छ, मन्दिरले मानिसलाई
जीवनदायी उर्जा दिन्छ ।
प्राकृतिक रुपले मनोरम, वनजंगल, ताल सरोवर नदी, पर्वत श्रृंखला जस्ता अलौकिक स्थानमा
मन्दिरहरु निर्माण गरिएको हुन्छ, जहाँको प्राकृतिक वातावरण नै मनमोहक हुन्छ । हो यस्तै मन्दिर
मध्येको एक हो बर्दिया ठाकुरद्वारा स्थित ठाकुरजीको पवित्र प्राचीन मन्दिर। यो मन्दिर हालको रुपमा
वि.सं. 1886 मा अस्तित्वमा आएको हो, मन्दिरमा रहेको मूर्ति कहिले, कसले बनाएको हो त्यसको
वस्तुनिष्ठ प्रमाणद्वारा पुष्टि गर्ने नसकिएपनि मूर्ति प्राग ऐतिहासिक हो भन्ने तथ्यमा कुनै दुईमत हुन
सक्दैन । नेपाल एकिकरणको दौरानमा जव बाइसी राज्य मध्येको एक धुलीकोट राज्य पनि नेपाल मा
विलय भयो, तब धुलीकोटे राजाहरुलाई चौतरियाको उपाधी दिइयो र उनीहरुलाई कैलालीको
मलवारा क्षेत्र र बर्दियाको हजारौँ विगाहा जमीन आवाद गुल्जार गर्न तत्कालिन नेपाल सरकारले
अनुमति दिएको थियो। उक्त जमीन आवाद गुल्जार गर्ने क्रममा वि.सं. 1886 को वर्षे हो वा हिँउदे
बालीका लागि जग्गा खनजोत गर्ने क्रममा जमीन मुनि पुरिएको अवस्थामा ढुङ्गाको ढलौटमा बनेको
भव्य मूर्ति फेला परेको रहेछ, उक्त मूर्तिलाई जमीनबाट उकास्न लाख कोशिश गर्दा पनि नसकिएको
रहेछ । मूर्ति भेटिएको गाउँ भरी हल्ला खल्ला भएको रहेछ र थप गाउँलेहरु पनि आई मूर्तिलाई
निकाल्ने प्रयास पनि निरर्थक भएको रहेछ । सो खबर चौतरिया चन्द्रभान शाह रायाको कानमा पुगेको
र उनी पनि उक्त स्थलमा गै उनले मूर्तिमा हात मात्र लगाउँदा मूर्ति बाहिर आएछ अनि उक्त मूर्तिलाई
जतनका साथ हात्तीमा राखी त्यही खेत नगिच किनारमा मूर्तिलाई सोही वर्षमा ठड्याइएको रहेछ ।
उक्त मुर्ति वि.सं. 1886 मा भेटिएर जमीनमा ठड्इएको भएतापनि त्यसको ११ वर्ष पछि
वि.सं. 1905 मा भव्य मन्दिरको निर्माण गरी पुजा अर्चनाको शुभारम्भ पनि उनै चौतरिया चन्द्रभान
शाहले गरेका रहेछन् । वि.सं. 1905 देखी नित्य पुजा अर्चना भण्डारा प्रसादको विशेष व्यवस्था गर्न
थालिएको रहेछ । जे होस् प्राचीन ऐतिहासिक महत्वको ठाकुरजीको मन्दिरमा रहेको मूर्ति वि.सं.
1886 मा जमीन मुनी पुरिएको अवस्थामा भेटिइ खेतको किनारमा ठड्याइएको र वि.सं. 1905 मा
भोज भण्डारा आयोजना गरिन्थ्यो, पुजारीहरुका लागि घर निर्माण गरिएको थियो साधु, सन्त महन्थ र
बटुवाहरुका लागि पनि टहराको निर्माण गरिएको थियो, मन्दिर व्यवस्थापनका विशेष कोषको

व्यवस्था गरिएको थियो त्यतिखेरको जमीन प्राय चौतरियाहरुको स्वामित्वमा थियो त्यसो हुँदा
उनीहरुको खेतबाट उब्जनी हुने अन्न तिहाइको आधारमा उठाई कोषमा जम्मा गरिन्थ्यो । मन्दिरमा
चढाउने दुध, दही तथा खानपिनको लागि गोरस आदीको अभाव नहोस् भन्नका लागि ५० वटा गाई र
५० वटा भैँसी पालनको व्यवस्था गरिएको थियो, मन्दिरमा भजन किर्तन गर्ने पचलन बसालिएको
थियो, मन्दिरमा बस्ने, खाने, नित्य पुजा गर्ने भजन किर्तन आदिको राम्रो व्यवस्था गरिएको हुँदा सन्त
महन्त जोगी र दीन दु:खीहरु त्यहाँ महिनौँ सम्म बस्ने गर्दथे।
हाल परम्परा देखि नै थारु जातिको नयाँ वर्ष माघे संक्रान्तिको दिनमा ठाकुरजी मन्दिर
परिसरमा भव्य मेला लाग्ने गरेको छ । उक्त मेला कहिले देखि लाग्न सुरु गरेको हो भन्ने एकिन प्रमाणका
साथ भन्न नसकिएतापनि आजभन्दा 175 वर्ष अघि भव्य मन्दिरको निर्माण भएको र नित्य पुजा
आजाको व्यवस्था पनि सोही समयदेखि हुँदै आएको हुँदा माघीमा मेला लाग्ने प्रचलन पनि कम्तीमा
170 वर्ष भन्दा पहिले देखि हुँदै आएको हुनुपर्छ ।
ठाकुरद्वारा स्थित उक्त ठाकुरजीको मन्दिरमा रहेको मुर्ति आजभन्दा १९४ वर्ष अघि फेला परेको
भएतापनि उक्त मुर्ति सो भन्दा पनि सयौँ वर्ष अघि प्राग ऐतिहासिक कालखण्डको मुर्ति हुनुपर्छ ।
कतिपय पुरातत्वविदहरुले उक्त मुर्ति लिच्छिवीकालीन समयको हो पनि भनेका छन् । नेपालमा
लिच्छिवीकाल इ.सं. 465 मा सुरु भएको हो । यो तथ्यलाई हेर्ने हो उक्त मुर्ति नेपालमा रहेका
प्राचीनतम् मुर्ति मध्ये एक मुर्ति हो भन्ने तथ्य प्रमाणित गरहेको छ । यी तथ्यहरुलाई केलाउँदा
बर्दियाको ठाकुरद्वारामा सगौरव शानको रुपमा रहेको उक्त ठाकुरजीको मन्दिर, बाँकेको वागेश्वरी,
पोखराको विन्दवासिनी, पाँचथरको पाथीभरा, सुर्खेतको देउतीबज्यै जस्तै उच्च महत्वको सनातन हिन्दु
धर्मावलम्बीहरुको धरोहर रहेछ ।
बर्दिया भूरीगाउँ निवासी 2011 सालका राष्ट्रिय सल्लाहकार समितिका माननीय सदस्य तथा
राष्ट्रिय पञ्चायतका प्रथम सदस्य र उक्त मन्दिरका एक समयका पुजारी ठाकुरबाबा -४ बाहुनपुरका
नवराज गिरीका साथमा रहेका ऐतिहासिक दस्तावेजहरुलाई अध्ययन गर्ने हो भने उक्त मन्दिरका
विषयमा थप रोचक जानकारी हामी पाउँछौँ । यसले उक्त मन्दिरको ऐतिहासिकतालाई थप पुष्टी गरेको
पाउँछौँ । तत्कालीन समयमा मन्दिरको रेखदेख संरक्षण तथा मन्दिरको पुजारीको नियुक्ति लगायतका
कार्य बर्दिया मालअड्डाबाट तत्कालिन श्री ५ को सरकार गुठी बन्दोवस्त सम्बन्धी कानुन बमोजिम हुने
गरेको रहेछ । २०१२ माघ ७ गते सम्म मन्दिरको खास पुजारी थारु जातिका महन्त हुँदा रहेछन्, सो
मितिसम्म मन्दिरको पुजारी भगवान दास लोध साधु रहेछन् । निज पुजारी निसन्तान रहेका र मृत्यु
२०१२ माघ ७ गते भएपछि पुजारीको स्थान खाली भएको रहेछ । तत्कालिन जिमिन्दारहरु कृष्ण
विक्रम शाह, रङ्ग विक्रम शाह, लक्षीराम जैशी, विशाखर जैशी, मिन कुमारी शाह, मनकुमारी शाह,
महेन्द्र विक्रम समेतका व्यक्तिहरुले मन्दिरको पुजारी खाली पर्न गएको हुँदा नित्यानिनित्य भइ आएको
पुजा आजामा बाधा उत्पन्न भएको हुँदा नवराज गिरीलाई पुजारीमा नियुक्तिका लागी माल अड्डामा
उजुरी दिएका रहेछन् । मन्दिरका पुजारी भगवान दास लोध साधु निसन्तान रहेका र निजको जेठो

चेला हुँ, मन्दिरको पुजा आजा मैले नै गरी आएको थिएँ, गुरुको मृत्युपछि मैले पुजारीको हक पाउने हो
भनी राजा महेन्द्रको नेपालगंज भ्रमण २०१२ सालमा हुँदा कैलाली मलवार सुर्जेपुर बस्ने दलबहादुर
भगतले राजा महेन्द्र समक्ष विन्ती पत्र जाहेर गरेका रहेछन् । यस्तै आफ्नो हकमा पुजारीको निर्णय
हुनुपर्ने जिकिर सहितको विन्तीपत्र नवराज गिरीले पनि गरेका रहेछन् । दलबहादुर भगतले दिएको
विन्तीपत्र अनुसार ठाकुरजीको मन्दिर गुठी अन्तर्गत रहेको र मन्दिरको आफ्नै जग्गा रहेको र पुजारी
नियुक्त नहुँदा उक्त मन्दिरको जग्गा भोगचलन नभई अलपत्र परेको रहेछ । गुठी अन्तर्गत रहेको उक्त
मन्दिर तथा जमीन राजगुठीमा दर्ता भएको रहेनछ ।
वि.सं. २०१२ सालमा मन्दिरका पुजारीको मृत्यु भएको अर्को पुजारीको नियुक्ती नभएको हुँदा
जग्गा जमीन चर्चिन नसकी अलपत्र परेको रहेछ । नवराज गिरी र दलबहादुर भगत बीचको पुजारी को
हुने विवादमा बर्दिया मालअड्डाले नवराज गिरीलाई २०१३ असार १ गते देखि पुजाआजा गर्नु भनी
पुजारीको हक बहाली पुर्जी २०१३ जेष्ठ ३१ गते दिएको रहेछ । बर्दिया मालको निर्णय विरुद्ध
दलबहादुर भगतले रजिष्ट्री मार्फत राजा महेन्द्र समक्ष विन्तीपत्र जाहेर गरेका रहेछन् र विवाद बाँके
बर्दिया गोश्वारामा पुगेको रहेछ । बाँके बर्दिया गोश्वाराका प्रमुख तथा वडा हाकिम मकरबहादुरले
पुजारी भगवान दास लोध साधुको मृत्यु पछि पुजारीको हक दलबहादुर भगतले पाउने र निज
दलबहादुर भगतको पनि मृत्यु २०१४ सालमा भएको हुँदा निजको हकवाला छोरा अम्बरराज भगतले
पुजारीको हक पाउने निर्णय गरेका रहेछन् । पुजारीको हक बेहक सम्बन्धी नवराज गिरी र दल बहादुर
भगतको छोरा अम्बरराज भगत बीचको विवाद त्यसपछि पश्चिमाञ्चल उच्च अदालतमा पुगेको रहेछ,
उक्त अदालतका मुख्य न्यायधीश श्री पशुपति प्रसाद उपाध्यायले हक बेहकको विवाद माल गोश्वाराले
गर्ने नभई अदालतको अधिकार क्षेत्र भएको हुँदा विवाद निरुपणको लागि ईलाका अदालत बर्दियामा
उक्त मुद्दा हस्तान्तरण गरेका रहेछन् । ईलाका अदालत बर्दियाले श्री ५ को गुठी वन्दोवस्त सम्बन्धी ऐन
सवाल बमोजिम २०१७।०३।०४ मा “पुजाआजा गरी मालअड्डाबाट बहाली पुर्जी गराइ लिने नवराज
गिरीलाई उक्त पुजारी हक प्राप्त हुन्छ । उक्त गुठी राजगुठीमा दर्ता गर्न सम्बन्धित माल विभागमा
मालगत पठाइदिनु भनी बर्दिया माललाई सूचना पठाइ दिनु” भनी फैसला भएको रहेछ । फैसलामा
पुजारीको हक पाउँ भने दलबहादुर भगतको छोरा अम्बरराज भगतलाई भारु १।– दण्ड गरिएको रहेछ,
भने नवराज गिरीले –।२५ पैसा जितावरी बापत पाएका रहेछन् ।
ठाकुरजी मन्दिरको महिमा यो सानो भूखण्डमा मात्र सिमित थिएन यो सीमा समेत पार गरेर
राजधानी काठमाण्डौ सम्म फैलिएको थियो, जसको ज्वलन्त उदाहरण हो वि.सं. १९९३।९।२९ मा
तत्कालीन राणा सरकारले सनद जारी गरी कम्पनी दुई रुपैयाँ मासिक रुपमा ठाकुरजीको मन्दिरमा
पुजाआजाका लागि बर्दिया मालअड्डा मार्फत नियमित रुपमा पठाउँने गरेका रहेछन्। वि.सं. १९९३
भनेको आजभन्दा ८७ वर्ष अगाडि को कुरा हो त्यो बेला बर्दिया बासीको काठमाण्डौमा बस्ने राणा
शासकसँग कुनै पहुँच थिएन न त आज भोली जस्तो संचारको प्रविधिको सुविधा थियो न डेलीगेशन
जाने प्रचलन थियो । त्यो बेलाको सरकारले मासिक खर्च कम्पनी रु.२।– पुजाआजाको लागी पठाउनुले
ठाकुरजीको मन्दिरको सुगन्ध चारैतिर फैलिएको पुष्टि हुन्छ। मन्दिरको व्यवस्थापनको लागि

जमिन्दारहरुले मात्र होइन स्थानीय जनताले पनि आयश्रोतको स्थायी व्यवस्था गरेका रहेछन् । यसका
लागि परम्परागत रुपमा वर्षौँ देखि बबई नदीदेखि पश्चिम र मैला नाला देखि पूर्वका गाउँदेखि
किसानहरुबाट दशसेरी, आधासेरी धान मन्दिर संचालनको लागि स्वतस्फुर्त रुपमा ठाकुरजीको
मन्दिरमा आउँदो रहेछ र यसले मन्दिर संचालनमा ठूलो टेवा दिँदो रहेछ ।
स्थानीय जनताको आस्था तथा संस्कृतिको धरोहरको रुपमा रहेको ठाकुरजीको मन्दिरलाई कहि
शंकरजीको त कहि श्री रामचन्द्रजीको मन्दिर पनि भनिएको छ उक्त मन्दिर तत्कालीन राणा सरकारको
पनि दृष्टि परेको मन्दिर हो र ठाकुरजीको उक्त मन्दिरको गुठी ऐन सवाल बमोजिम नै सम्पूर्ण
व्यवस्थापन हुने गर्थ्यो। ऐतिहासिक तथ्यले ठाकुरजीको मन्दिरले ठूलो गौरव बोकेको छ, हिन्दु
धर्मावलम्बीहरुको अगाध आस्था विश्वासको यो धरोहर हो, यो जनताको सम्पत्ति हो, हाम्रा पूर्वजहरुले
हामीलाई विरासतको रुपमा मन्दिररुपी यो सुम्पिएको नासोलाई जतनका साथ हामीले हाम्रो
सन्ततिहरुलाई हस्तान्तरण गर्नुपर्छ । जय श्री ठाकुरजी ।

प्रतिक्रिया

सम्बन्धित खवर