स्वास्थ्य कार्यालयलाई नयाँ चार पाङ्ग्रे
शुक्रबार, असोज १२, २०८० मा प्रकाशित

बर्दिया,असोज १२(फरकसमाचार)/ स्वास्थ्य कार्यालयलाई नयाँ चार पाङ्ग्रे गाडी उपलब्ध गराउने लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका मन्त्री राजु खनालले बताएका छन् । बर्दिया अस्पतालको नवनिर्मित आवास भवनको समुद्घाटन र अस्पताल अनुगमन गर्न आएका मन्त्री खनालले  स्वास्थ्य कार्यालयलाई नयाँ चार पाङ्ग्रे गाडी उपलब्ध गराउने शुक्रबार बताएका हुन् ।

‘स्वास्थ्य कार्यालयले औषधी र खोप सम्बन्धित ठाउँमा समयमा पुगाउनु पर्ने हुन्छ’ मन्त्री खनालले भने,‘स्वास्थ्य कार्यालयसंग जिर्ण अवस्थाको गाडीले त्यो सम्भव छैन ।’ त्यसैले यस वर्षको बजेटमा स्वास्थ्य कार्यालयलाई नयाँ चार पाङ्ग्रे गाडी उपलब्ध गराउनको लागि बजेट विनियोजन गरिएको छ ।

बर्दिया अस्पतालको लागि जेनेरेटर, प्रयोगशाला र एक्सरे सुदृढको लागि बजेट विनियोजन गरेको सुनाए । सिक्कलसेलका बिरामीको बिमा प्रदेशले गर्ने, बालबालिकामा देखिएको रक्तअल्पत्ताको समस्या खोज्ने र ८० वर्ष माथिकालाई घरमै गएर स्वास्थ्य जाँच गर्नेलगायतको कार्यक्रम लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले अघि सारेको भनाई राखे ।

सरकारी स्वास्थ्य संस्थाहरुलाई सबल र सुदृढ बनाउने मन्त्री खनालले बताए । स्वास्थ्य क्षेत्र अत्यन्त संवेदनशिल क्षेत्र हो । ‘हाम्रो आर्थिक अवस्थाको अनुसार स्वास्थ्य क्षेत्र महङ्गो हुदै गएको छ, हामीले थेग्न सक्ने अवस्था छैन’ मन्त्री खनालले भने,‘त्यसैले सरकारी स्वास्थ्य संस्थाहरुलाई सबल र सुदृढ बनाउन स्वास्थ मन्त्रालय लागेको छ ।’ स्वास्थ्य जनताको मौलिक हकसंग संविधानमा व्यवस्था गरे अनुसार उपलब्ध गराउनको लागि हामीसंग रहेको सिमित स्रोतसाधनका बिच प्रभावकारी सेवा उपलब्ध गराउन लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय कटिबद्ध रहेको मन्त्री खनालले जिकिर गरे ।

बर्दिया अस्पतालको अवस्था र सेवाको प्रगति विवरण अस्पतालका वरिष्ठ मेसु डा.सुभाष पाण्डेय र जिल्लाको स्वास्थ्यको अवस्था बारे स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले प्रस्तुतीकरण गरेका थिए । त्यसैगरी आयुर्वेद स्वास्थ्य केन्द्रको समस्याको बारेमा प्रमुख डा.कलावती विश्वकर्माले प्रस्तुत गरेकी थिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर