“बर्दियाली किसान नेता राधाकृष्ण थारुको संघर्ष गाथा”
सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित

सम्पूर्ण बर्दियाली जनताले शिर ठाडो गरेर हाम्रो नेता भन्न लायक व्यक्तित्व हुनुहुन्थ्यो राधाकृष्ण थारु । एक कुलीन सम्भ्रान्त परिवारमा उहाँको जन्म भएको थियो तर उहाँले प्रजातान्त्रिक शासन व्यवस्था गरिब, निमुखा, भूमिहिन, शोषित पीडित र अधिकारहिन रैतीहरुको पक्षमा सदा संघर्ष गर्नुभयो । बर्दियाको कोठिया, आशापुर, पकडिया, मतंगा, बालापुर, लैबुर्वा, खैरहनी, मोतीनगर, फुलपुर, बहादुरपुर, रतनपुर गरी ११ गाऊँ अर्थात मौजाको मालिक राधाकृष्ण थारुका पर बाजे खुशहाल थारु हुनुहुन्थ्यो । ११ मौजाको हजारौँ विगाहका स्वामी उहाँ बर्दियाली भूमिको एक चम्किला तारा हुनुहुन्थ्यो ।

राधाकृष्ण थारुको पूर्वजहरुको पनि रोचक कथा रहेछ । खासमा उहाँका परबाजे खुशहाल ‘थारु’ जातिका नभएर एक ठाकुर जाति हुनुहुँदो रहेछ । भारतको पवित्र धार्मिक नगरी स्थित चित्रकुटका खुशहाल ठाकुर १८ औँ शताब्दीमा मुगल सम्राट औरेङ्गजेवले भारतमा हिन्दूहरु माथि गरेको ज्यादातीबाट आफ्नो धर्म रक्षाका खातिर भागेर नेपालको दाङ्ग देउखुरीमा आश्रय लिइ बस्नु भएकको थियो, त्यही थारु समुदायसँग घुलमिल भइ आफ्नो थर ‘ठाकुर’ लाई बदलेर ‘थारु’ राख्नु भएको थियो र बर्दियाका धर्तीपूत्र ‘थारु’ हरुको उद्दारक बन्नुभयो।

राधाकृष्ण थारु राजनैतिक रुपमा माहात्मा गान्धि, जवाहरलाल नेहरु, डा. राजेन्द्र प्रसाद बाट प्रेरित व्यक्तित्व हुनुहुन्थ्यो । भारतमा अंग्रेज छोडो आन्दोलन सुसुप्त अवस्थामा थियो, उहाँ भारत बहराइच स्थित महाराज सिंह मिडिल स्कुलमा अध्ययन गर्नुहुन्थ्यो, त्यसै बखत माहात्मा गान्धीले आह्वान गरेको सत्याग्रह आन्दोलनबाट प्रेरित भई भारतीय स्वतन्त्रता संग्राममा होमिनु भयो । तत्कालिन भारतीय काँग्रेसका वरिष्ठ नेता जवाहरलाल नेहरु, राधाकृष्ण थारुको व्यक्तित्वबाट अत्याधिक प्रभावित हुनुहुन्थ्यो, राधाकृष्ण थारु बहराइचमा पढ्दा आन्दोलनको क्रममा जवाहरलाल नेहरुसँग भेट भई उहाँले राधाकृष्ण थारुलाई भारतमा नै बस्न, भारतीय नागरिक बन्न उत्प्रेरित गर्नु भएको थियो र निर्वाचन भएमा रोजेको निर्वाचन क्षेत्रमा उम्मेदवार बनाउने प्रतिबद्धता जनाउनु भएको थियो तर राधाकृष्ण थारुले नेहरुलाई भन्नुभयो मेरो जन्मभूमि नेपालमा राणा शासन छ, जमिन्दार राजा, रजौटाहरुको कुशासन छ, देशमा शासक र तिनका मतियारद्वारा अन्याय, अत्याचार, शोषण उत्पिडन छ । राणा शासन फाली नागरिकहरुको हकमा काम गर्ने व्यवस्था ल्याउनु पर्ने छ भन्नु भएको थियो र उहाँका उक्त विचार सुनेपछि नेहरुले राधाकृष्ण थारुलाई सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

राधाकृष्ण थारु आफ्नो अध्ययन छोडी स्वदेश आउनु भयो बर्दिया प्रथमत: वि.सं. २००१ सालमा मैनापोखरमा साधु सन्तहरुको भण्डाराको बहानामा ठूलो मिटिङ्ग बोलाउनु भयो, बैठकमा उहाँले किसानहरुलाई खेतीपाती गर्नको लागि नम्बरी जग्गा हुनुपर्ने, सिँचाईको लागि कुलो, सडक यातायातका साथै सर्वाधिक महत्वपूर्ण विद्यालयको व्यवस्था हुनुपर्ने त्यसका लागि जनता संगठित हुन आह्वान गर्नुभयो । तत्पश्चात उहाँले बर्दियाका गाऊँगाऊँमा गै गोप्य बैठक गर्ने, जनतालाई सचेत, जागरुक बनाउने सामन्ती राणा शासनको विरुद्ध सक्रिय हुनुभयो । जनतालाई जागरुक बनाउने उहाँको कार्यको बर्दियामा जिमिदार राजा रजौटाहरुले थाहा पाउने बित्तिकै राधाकृष्ण थारु काँग्रेसी हो त्यो विद्रोही हो, उसलाई सभा सम्मेलन गर्न दिनुहुँदैन भनि व्यवधान खडा गर्दै राणा दरबारमा उजुरी दिए ।

प्रधानमन्त्री जुद्ध शम्शेरकोमा राधाकृष्ण थारुका विरुद्धमा उजुरी पुग्यो । देशमा एक किसिमको विद्रोह हुँदै थियो, जुद्ध शम्शेरले सोचे यो विद्रोह देशको कुनाकाप्चामा नपुगोस्, राधाकृष्ण थारुलाई कारवाही गर्नुभन्दा कुनै किसिमले चित्त बुझाउँदा राम्रो हुने ठानी बर्दिया जिल्लामा मानजनी अड्डा राख्ने विचार सहित राधाकृष्ण थारुलाई पत्र लेखे त्यसको जवाफमा उहाँले, “किसानहरुको जीवनयापनका लागि खेती गर्ने जग्गा छैन भने मानजनी अड्डाको के काम छ र पहिले त जनताको नाममा जग्गा हुनुपर्यो” भनी जुद्ध शम्शेरको दरबारमा बिन्ती चढाउनु भयो । तर राणा सरकारले राधाकृष्ण थारुको मागमा कुनै सुनुवाइ नगरेपछि २००२ साल मंसिर महिनामा राधाकृष्ण थारुले गोप्य रुपमा थारु जनताहरुको सही गराई बिन्ती पत्र राणा प्रधानमन्त्री पदम शम्शेरकोमा जाहेर गर्नुभयो । गाउँ गाउँमा गै रैती बर्दियाली जनताको बिन्ती पत्रमा सहि गराउने कार्यमा राधाकृष्ण थारुका अनन्य मित्र सरजु प्रसाद थारु, विक्रम चौधरी, दिलिपत चौधरीले साथ दिएका थिए । राधाकृष्ण थारु बिन्ती पत्र चढाउन काठमाण्डौ जानुभयो उहाँले बस्ने डेरा भद्रमान चित्रकारको घरमा थियो ।

उता बर्दियाका जिमिदार, राजा रजौटाहरु पदम शम्शेरको दरबारमा पुगेर राधाकृष्ण थारु काँग्रेसी हो, त्यसको कुरा कुनै सुनुवाइ हुनुहुँदैन, यसलाई जेल हाल्नुपर्छ भन्न पुगे । यो २००३ सालको कुरा हो, राधाकृष्ण थारु भद्रमान चित्रकारको घरमा बस्नु भएको थियो, त्यही उहाँलाई पक्राउ गर्न १६ जना जवान आठपहरिया पुगे, राधाकृष्ण थारु, सरजु प्रसाद, दिलिपत चौधरी, विक्रम चौधरीलाई पक्राउ गरी मोहन शम्शेरकोमा हाजिर गराए ।

मोहन शम्शेरले राधाकृष्ण थारु समेतका ती पक्राउ परेका व्यक्तिहरुलाई डर, धाक, धम्की दिए, “तिमीहरु काँग्रसी हौँ, जनतालाई राणा सरकारका विरुद्ध भड्काउँछौ भन्दै गाली गलौजको वर्षा गरे, तिमीहरुलाई जेलमै सडाउँछु”, भनि निकै त्रास देखाए, त्यसपछि प्रधानमन्त्री पदम शम्शेरकोमा हाजिर गराए त्यहाँ मोहन शम्शेरले, पद्मा शम्शेरसँग यी काँग्रेसी हुन्, रैती जनता भड्काउने काम गर्छन्, यिनीहरुलाई जेल हाल्नुपर्छ भने मोहन शम्शेरको जवाफमा पद्मा शम्शेरसँग राधाकृष्णले, “हामी रैती किसानहरुको वारेस बनेर गरिब, रैती किसानहरुको नाउँमा जग्गा दर्ता हुनुपर्यो भनी बिन्ती चढाउन आएका हौँ” भनि बर्दियाका गाउँ गाउँमा गै संकलन गरेको सहीछाप सहितको बिन्तीपत्र पद्मा शम्शेरलाई दिनुभयो, पद्मा शम्शेरले जुद्ध शम्शेरले जस्तै रैती नभटकिउन भनि राधाकृष्ण थारुको बिन्ती पत्र स्वीकार गरी सो पत्र, ‘मधेश रिपोर्ट निकसारी अफिसमा पठाए त्यसै कारण २००४ सालको वर्षादपछि रैतीहरुको कुरा सुन्न रैतीहरुको मनसाय बुझ्न र नापी गर्न ब्रह्म शम्शेरको नेतृत्वमा शारदा शम्शेर, विजय शम्शेर सहितका व्यक्तिहरु बर्दियाको दोडाहा गरेका थिए ।

ब्रह्म शम्शेरको टोलीले बर्दियाको सम्पूर्ण जग्गा नापी गर्यो जम्मा ८१००० विगाहा जग्गा देखियो, जसमध्ये ५४००० विगाहा जमिन्दारहरुको १ नं. सिरजिरायत भयो । २७००० विगाह जग्गा रैताना भयो रैतीहरु माथि जमिन्दारहरुको ज्याजती रोकिएन उनीहरुले २७००० विगाहा जग्गा मध्ये १३००० मा फेरी जिमिदारहरुले २ नं. सिरजिरायत दाबी गरे । ब्रह्म शम्शेरको उक्त दौडाहा टोली काम सकेर काठमाण्डौ फर्केपछि फेरी जिमिदार, राजा रजौटाहरु पुन: गरिब, निमुखाका विरुद्ध षड्यन्त्रमा लागे, रैतीहरुको नाममा दर्ता भएको १३००० विगाह जग्गा कुनै किसिमबाट खोस्ने प्रपन्चमा लागे, यो देखेर पुन: राधाकृष्ण थारु काठमाण्डौ जानुभयो र विजयशम्शेर, शारदाशम्शेरका साथै मोहन शम्शेरसँग जिमिन्दारहुको ज्याजती, दमन, शोषणका विरुद्ध सिकायत बिन्ती पत्र पेश गर्नु भयो ।

राधाकृष्ण थारुको बर्दियाली आवाज सुनेर मोहन शम्शेरले वासुदेव प्याकुरेलको नेतृत्वमा अधिकार सम्पन्न दोस्रो दौडाहा टोली बर्दिया पठाए । यो टोलीले २५००० विगाहा जग्गा गरिब किसानहरुको नाममा दर्ता गर्यो त्यसपछि राधाकृष्ण थारुले बेठ बेगारी प्रथा बन्द हुनुपर्ने अभियान चलाउनु भयो । यता देशभर एक किसिमको राणा विरोधी अभियान नेपाली काँग्रेसको नेतृत्वमा शुरु भईसकेको थियो, बर्दियामा पनि राधाकृष्ण थारुलाई पक्राउ गर्न आर्मी जवानहरुले राधाकृष्ण थारुको घरमा छापा मारे तर उहाँले आफ्नो गिरफ्तारीको पूर्व सूचना पाइ भूमिगत हुनु भएको थियो, यो बेलामा राधाकृष्ण थारुले १५ दिन सम्म अन्न नखाएर जंगली फलफूल (कन्दमूल) खाएर आफ्नो ज्यान जोगाउनु भएको थियो।

२००७ सालको क्रान्तिमा राधाकृष्ण थारु ज्यूज्यान दिएर लाग्नु भयो बर्दियाको राजापुर, गुलरिया कब्जा उहाँकै नेतृत्वमा भएको थयो । क्रान्तिको सफलता पश्चात बर्दियामा गठिन जनसरकारको प्रमुख पनि राधाकृष्ण थारु नै हुनुहुन्थ्यो । २००८ सालमा राजा त्रिभुवनद्वारा गठित परामर्श दातृ सल्लाहकार सम्मको सदस्य पनि हनु भएको थियो।

राधाकृष्ण थारु २००७ सालको क्रान्तिको सफलता पश्चात बर्दियामा व्याप्त कुरीति, कुसंस्कार, अन्याय, अत्याचारका विरुद्ध लागि रहनु भयो, अशिक्षा, व्याप्त गरिबी, शोषण, उत्पिडनमा परेको देखेर उहाँ दुखित हुनुहुन्थ्यो । थारु समाजमा विवाहका लागि बचनबद्धता गर्ने, प्रचलन जनैसुपारी जस्तै पक्कापोरी प्रचलन हुन्छ त्यसमा केटालाई देखाउँदा पनि वर देखाई खाने, मानिस मरेपछि अन्त्येष्टि क्रिया गर्ने ठाउँमा दारुजाँड खाने, सुंगुर, खसी, बोका, मुर्गा खाने अनावश्यक फजुल खर्च गर्नुहुँदैन भनी समाज सुधारका लागि सचेतता कार्यक्रम पनि राधाकृष्ण थारुले गर्नुभयो । गरिब निमुखाहरुले विवाह आदीमा जिमिदारहरुबाट ऋण लिने (थारु भाषामा सौकी लिने), सौकी बापत जिमिदारको घरमा गरिब थारु समुदायका सम्पूर्ण परिवारले कमैया बस्नु पर्ने प्रथा अन्त हुनुपर्ने आवाज उठाउनु भयो ।

गाउँ भरिका मानिसलाई जिमिदारले आफ्नो निजी काम गराउने जसलाई बेठबेगारी भनिन्थ्यो, सो प्रथा अन्तको लागि राधाकृष्ण थारुले आवाज उठाउनु भएको थियो र पछि जननायक वि.पि. कोइराला नेतृत्वको नेपाली काँग्रेसले बेठबेगारी प्रथा अन्तको घोषणा गरेको थियो । विद्यालय खोल्ने, अस्पतालको व्यवस्था गर्ने, सिँचाईको लागि कुलोपानी खनाउने अभियानमा उहाँ लागि रहनु भयो । जिमिदारहरु र रैती किसानहरुका बीचमा विवाद हुन्थ्यो ती रैती किसानहरुलाई न्याय दिलाउने कार्यमा राधाकृष्ण थारु लाग्नुभयो ।

जनताको पक्षमा आफ्नो जीवन उत्सर्ग गर्ने क्रान्तिकारी नेता राधाकृष्ण थारु नेपाली काँग्रेसको छैठौँ महाधिवेशनबाट केन्द्रीय सदस्य बन्नु भयो । वि.पि. कोइराला, सुवर्ण शम्शेरका प्रिय राधाकृष्ण थारु २०१५ सालको आम निर्वाचनमा बर्दियाबाट ८९४५ अत्याधिक मतका साथ संसदमा निर्वाचित हुनुभयो । वि.पि. कोइरालाले राधाकृष्ण थारु र परशुनारायण चौधरी मध्ये एक जनालाई मन्त्री बनाउने सोच बनाई राधाकृष्ण थारुसँग सल्लाह माग्नुभयो, राधाकृष्ण थारुले सहजै परशुनारायण थारुलाई मन्त्री बनाउन प्रस्ताव गर्नु भएको थियो ।

२०१७ सालमा राजा महेन्द्रले जननायक वि.पि. कोइरालाको मन्त्रीमण्डल विघटन गरी दलहरुमाथि प्रतिबन्ध लगाए, नेपली काँग्रेसका नेताहरुलाई धमाधम पक्राउ गर्न थाल्यो । नेपाली काँग्रेसको चर्चित नेता भएकोले राधाकृष्ण थारुको खोजी प्रहरीले व्यापक रुपमा गर्न थाल्यो, वि.पि. कोइरालाको निर्देशनमा सबै नेताहरु जेल परेमा संगठनको काम कसले गर्ने त्यसैले राधाकृष्ण जी तपाई निर्वासित हुनुपर्छ भन्ने निर्देशन पाएपछि राधाकृष्ण थारु भारतको नानपारामा निर्वासित हुनुभयो र त्यहाँबाट पञ्चायती व्यवस्थाका विरुद्धमा डटेर विविध खाले गतिविधि गर्नुभयो । उहाँले निर्वासनबाट नै पञ्चायती व्यवस्थाका विरुद्धमा प्रजातन्त्र वादी नौजवानहरुको सहारामा गाउँगाउँमा पर्चा छर्ने, सीमा चौकी, भन्सार चौकीमा विद्रोह गराउने कार्य गर्नुभयो ।

यसैमा बाँकेका भागीरथ वर्मालाई नेपालगंजमा प्रहरीले पक्राउ गर्यो र निजलाई सजाय बापत नेपालगंज जेलमा हाल्यो । भागीरथ वर्माले नेपालगंजको जेल तोडेर नेपालगंज गोश्वारा कब्जा गर्ने योजना बनाए । त्यसका लागि दानबहादुर सिंह मार्फत राधाकृष्ण थारुलाई नानपारा खबर पठाए । राधाकृष्ण थारुले २ थान शक्तिशाली ८०० नं. को डाइनामाइट बम एक डिब्बामा तल बम माथि भात तरकारी राखेर तिनै दानबहादुर सिंह मार्फत पठाउनु भयो र त्यो बम भागीरथ वर्माले २०१८ साल चैत्र १६ गते जेलमा विस्फोट गराए जेल त तोडियो तर भागीरथ वर्माले नेपालगंजको गोश्वारा कब्जा गर्न सकेनन् । यसरी नेपालगंज जेल फोड्न भागीरथ वर्मालाई राधाकृष्ण थारुले सहयोग गर्नुभएको थियो । राजा महेन्द्रको कदम विरुद्ध राधाकृष्ण थारु लागे बापत उहाँको सम्पूर्ण सम्पत्ति पञ्चायती सरकारले जफत गर्यो ।

बर्दियाली किसानहरुका राधाकृष्ण थारु वारेस हुनुहुन्थ्यो, जनतामा उहाँको गहिरो प्रभाव थियो, 2036 सालको जनमत संग्रहमा नेपाली काँग्रेस राधाकृष्ण थारुकै नेतृत्वमा बहुदलीय व्यवस्थाको पक्षमा निर्वाचनमा होमिएको थियो, देशभरि अन्य जिल्लामा सुधारिएको पञ्चायती व्यवस्थाको पक्षमा मत गएतापनि बर्दिया जिल्लामा बहुदलीय व्यवस्थाको पक्षमा व्यापक जनमत प्राप्त भएको थियो । गरिबी, अशिक्षा, उत्पीडन, शोषण, अन्याय र अत्याचारका विरुद्धमा राधाकृष्ण थारु जीवनभर संघर्षरत रहनु भयो ।

जनताको मौलिक हक, मानव अधिकार तथा सम्मानजनक जीवन बाँच्ने अधिकारका खातिर आफ्नो जीवन उत्सर्ग गर्ने अमर व्यक्तित्व राधाकृष्ण थारुको विश्व मानव अधिकार घोषणा भएको ४० औँ वर्ष १० डिसेम्बर 1988 अर्थात वि.सं. 2045 मंसिर २५ गते निधन भएको थियो । एक सच्चा बर्दियाली धर्तीपूत्र, नेपाली काँग्रेसका आदर्शवान नेता, त्याग, तपस्या, बलिदान र संघर्षका प्रतिमूर्ति श्रद्धेय राधाकृष्ण थारुप्रति उहाँको ३५ औँ स्मृति दिवसको सुअवसरमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । जय नेपाल ।

प्रतिक्रिया

सम्बन्धित खवर