बर्दियामा दुई वटा यातायात प्राली गाभिए
शुक्रबार, माघ ०५, २०८० मा प्रकाशित

बर्दिया,माघ ५ (फरकसमाचार)/ बर्दियामा अलग अलग संचालनमा रहेका दुई वटा यातायात प्रालि एकआपसमा गाभिएका छन् । बर्दिया कृष्णसार यातायात व्यवसायी प्राली र बर्दिया कृष्णसार यातायात प्राली बिहीबार एकआपसमा गाभिएका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्य प्रसाद सिटौलाको उपस्थितीमा दुई वटा यातायात प्राली एकआपसमा गाभिएका छन् ।

बर्दिया कृष्णसार यातायात व्यवसायी प्रालीमा बर्दिया कृष्णसार यातायात प्रालीलाई समाहित गराईएको छ । दुई वटा यातायात प्राली गाभिएर अब बर्दिया कृष्णसार यातायात व्यवसायी प्राली संचालन हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जनाईएको छ ।

दुई वटा यातायात प्राली एउटा भई शुक्रबार देखि कार्यान्वय हुने गरि नयाँ तदर्थ कार्य समितिसमेत बनाईएको छ । दुई वटा यातायात प्रालीलाई एक बनाई जिल्लाका सर्वसाधारणलाई स्तरीय सेवा दिने उदेश्यले एकआपसमा गाभिएका छन् ।

नयाँ तदर्थ कार्य समतिको अध्यक्षमा रबि मल्ल, प्रबन्धक ऐतमाद अलि सैयद, सम्पनी सचिवमा विवेकानन्द पाठक र प्रशासनिक सचिवमा सन्त बहादुर ज्ञवाली रहेका छन् । त्यसैगरि आर्थिक प्रमुखमा प्रकाश टण्डन, दुर्घटना प्रमुखमा अजय धरुक, उच्च स्तरिय समितिमा शम्भु प्रसाद रिजाल, मोहनलाल श्रेष्ठ, भुमि दत्त शर्मा, पिताम्बर श्रेष्ठ र चन्द्र बहादुर बानिया छन् ।

बर्दिया कृष्णसार यातायात प्रालीका शेयर सदस्यहरुलाई रजिष्टर कार्यालय गई शेयर सदस्य थप गर्ने र संचालकमा थप गर्ने निर्णय भएको छ । त्यसैगरि बर्दिया यातायात प्रालीका तर्फबाट संचालकमा शेयर सदस्यहरुमा ऐतमाद अलि सैयद, भुमिदत्त शर्मा, मोहनलाल श्रेष्ठ, चन्द्र बहादुर बानिया, अजय धरुक र सालिम अहमद अन्सारी राख्ने निर्णय भएको छ । भएका निर्णयको छिट्टै कानुनी प्रक्रिया पुरा गर्ने जनाईएको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियामा २०५७ सालमा दर्ता भई संचालित बर्दिया कृष्णसार यातायात व्यवसायी संघ नेपाल सरकारद्वारा प्रालीमा रुपान्तरण गराउने क्रममा विभाजित भई बर्दिया कृष्णसार यातायात प्राली कम्पनी रजिष्टर कार्यालयमा दर्ता भएको र बर्दिया कृष्णसार यातायात व्यवसायी प्राली नेपाल सरकारको निर्णय अनुसार रुपान्तरित भई दुवै प्राली हालसम्म अलग अलग रुपमा संचालनमा रहेका थिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको एकद्वार प्रणालीमा संचालन गर्ने निर्णयलाई आत्मसाथ गर्दै दुवै प्रालीका पदाधिकारी बिच विभिन्न चरणको छलफलपछि समझदारी जुटेको छ । बर्दिया कृष्णसार यातायात व्यवसायी प्रालीका अध्यक्ष शम्भु प्रसाद रिजाल र बर्दिया यातायात प्रालीका अध्यक्ष मोहनलाल श्रेष्ठलगायतका पदाधिकारी बिच समझदारी जुट्दा दुई वटा प्राली एकआपसमा गाभिएका हुन् । दुवै प्राली एकआपसमा गाभिएकोले सम्पुर्ण सवारी साधन प्रकृति अनुसार डायल प्रक्रियामा संचालन गर्ने जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर