दुई यातायात समिति कागजमा एक व्यवहारमा अलग
बिहिबार, माघ १८, २०८० मा प्रकाशित

बर्दिया,माघ १८ (फरकसमाचार)/ अलग अलग रहेका दुई यातायात समिति लामो समयको प्रयासपछि एकआपसमा गाभिएको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरियो । तर तिनै यातायात व्यबसायी गुलरिया स्थित बसपार्कमा छुट्टाछुट्टै काउन्टर संचालन गरेका छन् । यात्रुलाई झुक्काउँने गरी दुई व्यबसायीको नेतृत्वतह विच गठबन्धन गरेको भन्दै तीब्र आलोचना भईरहेको छ ।

एकताको घोषणा गरेको दिनमा राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्य प्रसाद सिटौलाका उपस्थितिमा भएको गठबन्धन किन टुट्यो भन्ने बिषयले यतिबेला चर्चा पाएको छ । कसैले दुई संघ विचका कर्मचारीको बेमेल, नेतृत्वको जबरजस्तीले गरिएको एकता र दुई संघ विच ऋणमा सहमति हुन नसक्दा कागजमा मात्र दुई प्रालि विच एकता भएको दोष लागेको छ ।

बर्दिया कृष्णसार यातायात व्यवसायी प्राली र बर्दिया कृष्णसार यातायात प्राली माघ ४ गते एकआपसमा गाभिएको खबरले विभिन्न संचारमाध्यम तथा सामाजिक संजालमा छायो । लामो समय देखि अलग रहेको दुई समिति एक भएको खबरले धेरैले सामाजिक संजालमा खुसी व्यक्त गरे । दुई समिति एक भएर अर्को दिन देखि सर्वसाधारणलाई प्रभावकारी सेवा दिने निर्णय गरियो ।

तर, अर्को दिन एक नभई अलग अलग रहेरै सेवा प्रर्वाह गरेको देखियो । दुई समिति कागजमा एक भएको निर्णय भयो तर व्यवहारमा त्यस्तो भएन । अझै पनि गुलरिया बसपार्कमा बर्दिया कृष्णसार यातायात प्रालीको काउन्टर उत्तर र बर्दिया कृष्णसार यातायात व्यवसायी प्रालीको काउन्टर दक्षिण रहेको देखिन्छ । एक भएको खबर सार्वजनिक गरेर व्यवहारमा त्यस्तो नदेखिदाँ सर्वसाधारणले आलोचना गरिरहेका छन् ।

बर्दिया कृष्णसार यातायात व्यवसायी प्रालीले सम्झौता भए अनुसार बर्दिया कृष्णसार यातायात प्रालीका कर्मचारीको बाँकी रहेको तलब र बाँकी ऋणको कुरो नमिलेको बर्दिया कृष्णसार यातायात प्रालीका एक कर्मचारीले जनाए । बर्दिया कृष्णसार यातायात व्यवसायी प्रालीका अध्यक्ष शम्भु रिजालसंग सम्पर्क गर्दा भएन ।

दुई समिति एक भएको बर्दिया कृष्णसार यातायात प्रालीका अध्यक्ष मोहनलाल श्रेष्ठले बताए । ‘अलग अलग रहेका समिति एक गराएर आफु अध्यक्षको जिम्मेवारीबाट हटेको छु’श्रेष्ठले भने,‘आफ्नो समितिको तर्फबाट साथीहरुलाई विभिन्न पदमा जिम्मेवारी दिलाएको छु ।’ केही साथीहरुको कारण त्यस्तो वातावरण सिर्जना भईरहेको छ । दुई समिति एक जुट भएको निर्णयमा आफु सहमति रहेको जानकारी दिए ।

एक जुट भएको निर्णय भएको तर बर्दिया कृष्णसार यातायात प्रालीका केही साथीहरुको चित्त नबुझेकोले त्यस्तो भईरहेको वर्तमान अध्यक्ष तोकिएका रबि मल्लले बताए । ‘चित्त नबुझेको साथीहरुसंग छलफल भईरहेको छ’ मल्लले भने,‘छलफल छिट्टै टुग्ङिने छ ।’

बर्दिया कृष्णसार यातायात व्यवसायी प्रालीमा बर्दिया कृष्णसार यातायात प्रालीलाई समाहित गराईएको थियो । दुई वटा यातायात प्राली एक भई नयाँ तदर्थ कार्य समतिको अध्यक्षमा रबि मल्ललाई जिम्मेवारी दिएको थियो ।

जिल्ला प्रशासन कार्यालय बर्दियामा २०५७ सालमा दर्ता भई संचालित बर्दिया कृष्णसार यातायात व्यवसायी संघ नेपाल सरकारद्वारा प्रालीमा रुपान्तरण गराउने क्रममा विभाजित भई बर्दिया कृष्णसार यातायात प्राली कम्पनी रजिष्टर कार्यालयमा दर्ता भएको र बर्दिया कृष्णसार यातायात व्यवसायी प्राली नेपाल सरकारको निर्णय अनुसार रुपान्तरित भई दुवै प्राली हालसम्म अलग अलग रुपमा संचालनमा रहेका थिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको एकद्वार प्रणालीमा संचालन गर्ने निर्णयलाई आत्मसाथ गर्दै दुवै प्रालीका पदाधिकारी बिच विभिन्न चरणको छलफलपछि समझदारी जुटेको छ । बर्दिया कृष्णसार यातायात व्यवसायी प्रालीका अध्यक्ष शम्भु प्रसाद रिजाल र बर्दिया यातायात प्रालीका अध्यक्ष मोहनलाल श्रेष्ठलगायतका पदाधिकारी बिच समझदारी जुट्दा दुई वटा प्राली एकआपसमा गाभिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर