दुध उत्पादक किसानद्वारा आन्दोलनको कार्यक्रम सार्वजनिक
आइतबार, फागुन १३, २०८० मा प्रकाशित

बर्दिया,फागुन १३(फरकसमाचार)/ दुध उत्पादक किसानहरुको मागसहित आन्दोलनको कार्यक्रम जिल्ला दुग्ध उत्पादक सहकारी संघले सार्वजनिक गरेको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघले शनिबार पत्रकार सम्मेलन गरि चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

संघको नेतृत्वमा फागुन १५ गते जिल्ला प्रशासन कार्यालय बर्दियामा दुई घण्टा धर्नासहित ज्ञापनपत्र बुझाउने र फागुन १७ गते दुई घण्टा राजमार्ग तथा सम्भावित सडकमा चक्का जाम गर्ने तयारी रहेको दुग्ध उत्पादक सहकारी संघले जनाएको छ । त्यसैगरि तत्काल माग पुरा नभए फागुन २१ गते देखि निरन्तर माइती घर मण्डलामा धर्ना तथा बिरोध प्रर्दशन गर्ने संघको कार्यक्रम रहेको छ ।

दुग्ध उत्पादक किसानहरुले उत्पादन गरेको दुध सडकमा फाल्नु पर्ने स्थिती रहेको दुग्ध उत्पादक सहकारी संघका जिल्ला अध्यक्ष पवन कुमार यादवले बताए । ‘किसानले सरकारी निकाय डिडिसिलाई दिएको दुधको भुक्तानी नपाएको ६ महिना भयो’अध्यक्ष यादवले भने,‘त्यसैगरि दुध नबिक्ने समस्या विगत लामो समय देखि छ ।’ जिल्लामा धुग्ध संकलन गर्ने १९ वटा सहकारी रहेका छन् । दुध नबिकेर खोलामा लगेर फाल्ने अवस्था आएको छ । यी कुरालाई मध्यनजर गरि केन्द्रिय संघको अगुवाईमा देश व्यापी रुपमा आन्दोलनमा रहेको अध्यक्ष यादवले जानकारी दिए ।

हामीले सहकारीमार्फत संकलन गरेको दुध नबिकेर समस्या आएको गुलरिया नगरपालिका–४ स्थित रहेको दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाका व्यवस्थापक मुक्तिराम पौडेलले बताए । ‘गत पौष २० गते देखि दुध बिकेको छैन’ व्यवस्थापक पौडेलले भने,‘किसानहरुको आग्रहमा सस्तो मुल्यमा दुध लिएर दुधबाट बन्ने परिकार बनाएका छौं ।’ घ्यू, नौनि, छुर्पी, क्रिम र पनिर हामीसंग स्टक रहेको जनाए । कसैलाई आवश्यक परे उपलब्ध गराउने सकिने व्यवस्थापक पौडेलले जानकारी दिए ।

दुग्ध उत्पादक किसानको बाँकी रहेको भुक्तानी सरकारले तत्काल यहि महिनामा उपलब्ध गराउनु पर्ने दुग्ध उत्पादक सहकारी संघको केन्द्रिय सदस्य इन्द्र प्रसाद लुईटेलले बताए । ‘त्यसैगरि हामीले उत्पादनको दुध हिजो जसरी लिएको थियो, त्यसैगरि लिनुपर्ने हाम्रो माग हो’उनले भने । युवाहरुलाई राज्यले देशमा काम गर्ने वातावरण दिएको छैन । जसले गर्दा युवाहरु विदेशिनु परेको केन्द्रिय सदस्य लुईटेलले सुनाए । होइन भने देशमा कृषि कर्म गरेका युवाहरुलाई सहुलियमा ऋण दिनु पर्यो,पशुको निशुल्क बिमा गर्नु पर्यो र किसानले उत्पादन गरेका दुध लिने ग्यारेन्टी लिनु पर्योे भनाई केन्द्रिय लुईटेलले राखे ।

प्रतिक्रिया

सम्बन्धित खवर