फुटेर होइन जुटेर ईतिहास रचौं
सोमबार, फागुन २८, २०८० मा प्रकाशित

अंगद श्रेष्ठ
गुलरिया–६,बर्दिया

इतिहाँसको कालखण्डलाई नियाल्ने हो भने राजा राजेन्द्र विक्रम शाह कमजोर मानसिकताको हुनु, रानी राज्य लक्ष्मीले सम्पूर्ण अधिकारहरु आफ्नो हातमा लिनु, राजनीतिक अस्थिरता हुनु, दरवार भित्र भाईभारदारवीच मतभेद र गुटवन्दी चरमरुपमा हुनु यिनै कारणले रदरवार भित्रको निकृष्ट कृयाकलापले गर्दा जंग बहादुर राणाको उदय भयो ।

राणाहरुले १०४ वर्ष सम्म निरङ्कुश शासन सन्चालन गरे । राणाहरुको अन्याय र अत्याचारको विरुद्ध विद्रोह गर्दा गंगालाल,दशरथ चन्द, शुक्रराज र धर्मभक्त जस्ता होनहार युवाहरुले शहादत प्राप्त गर्नु प¥यो । वीर शहिदहरुको सपनालाई साकार पार्ने उदेश्यका साथ न्यायप्रेमी जनताहरु गोलवन्द हुन थाले । यसैको परिणाम वि.सं. २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको गठन भई वि.सं. २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसकाबीच एकता भई नेपाली कांग्रेसको स्थापना भएको थियो ।

त्यसबेलाको परिस्थितीमा क.पुष्पलाल श्रेष्ठले जँहानिया शासनको अन्त र नेपाली जनताको मुक्तिको लागि नेपाली कँग्रेसबाट मात्र परिवर्तन सम्भव नहुने देखेपछि वि.सं.२००६ बैशाख १० गते पाँचजना सहयोगी सहित नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नु भएको थियो ।

कम्युनिष्ट पार्टीको स्थापना पश्चात बामपन्थी पार्टीहरुले विभिन्न समुहमा र एकतावद्ध भई निरङ्कुशताको विरुद्धमा धावा बोलिरहे । नेपाली कँगे्रसले पनि आफ्ना गतिविधिहरु सन्चालन गरिरहिको थियो । तथापी, जँहानिया शासनको एक ईट्टा पनि हल्लाउन सकेनन् । आन्दोलनहरु चलिरहे, समयहरु आफ्नै गतिमा वग्दै गए । २००७ सालको क्रान्ती पश्चात त्रिभुवनले सत्ताको बागडोर सम्हाले । वि.सं.२०११ मा राजा त्रिभुवनको मृत्यु पश्चात जेष्ठ पुत्र महेन्द्रले सत्ता सम्हाल्न पुगे ।

देशलाई संविधान व्यवस्था तर्फ लैजानका लगि २०१५फागुन १ गतेसंविधान जारी गरेका थिए । सोही संविधान बमोजिम नेपाल कम्युनिष्ट पार्टीले चार सिट जित्न सफल रहयो भने नेपाली कँग्रेस सबैभन्दा ठुलो दलको रुपमा सरकारमा पुग्यो ।
तत्पश्चात,नदीहरुमा धेरै पानी बगिसकेकाछन । समयहरु क्रमिकरुपमा अगाडी बढी नै रह्यो । १०४ वर्षे राणा शासनको अन्त पछि ३० वर्षे पंचायती शासनको निरङ्कुशतामा जनता र देश पिल्सिरह्यो ।

सुधारिएको पंचायती व्यवस्थाले जनतालाई मालिक होईन रैतिको रुपमा राखिरहयो । पंचायती निरङकुशताको विरुद्ध कँग्रेस र कम्युनिष्टहरुले आफ्नै शैलीमा विरोध गरिरहे तर विकेन्द्रीत आन्दोलनले पंचायती व्यवस्थाको रौं सम्म पनि हल्लाउन सकेन ।

क.पुष्पलालको पंचायती व्यवस्थालाई ढाल्नको लागि कम्युनिष्ट र कँग्रेस एकतावद्ध भएर लागेपछि मात्र सम्भव हुन्छ भन्ने कुरालाई कँग्रेसले तिरस्कार गरिरहे । लामो अन्तराल पछि,गणेशमान सिंह,मनमोहन अधिकारी लगायतका नेताहरुको सुझबुझका कारणवि.सं.२०४६ सालमा क.पुष्पलालको भनाईलाई आत्मसात् गर्दै २०४६ साल फागुन ७ गते देखि जनआन्दोलनको शुरुवात भयो र वि.सं.२०४६ साल चैत्र २६ गते निर्दलीय पंचायती व्यवस्थाको अन्त भएको थियो ।

नेपाल अधिराज्यको संविधान २०४७ बमोजिम वि.सं. २०४८ बैशाख २९ गते २ सदनात्मक संसदको निर्वाचन सम्पन्न भएको थियो । जुन निर्वाचनमा नेपाली कँग्रेसले११० सिट प्राप्त गरी बहुमत सहित सत्तासिन भएको थियो भने नेकपा एमालेले ६९ सिट प्राप्त गरी प्रमुख प्रतिपक्ष दल बन्न सफल भएको थियो ।

बहुमत प्राप्त नेपाली कँग्रेस भित्रको आपसी द्वन्द्व र गिरीजा प्रसाद कोईरालाको हठको कारण कोइरालाले बहुमतको सरकार विघठन गरी मध्यावधिको घोषणा गरेका थिए । २०५१ को मध्यावधि निर्वाचन पछि नेकपा एमालेले २०५ सिट मध्ये ८८ सिट जितेर सबैभन्दा ठूलो दलको रुपमा क.मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार गठन गरेको थियो । वि.सं.२०५२ सालमा नेकपा माओवादीले सरकारसंग विद्रोह गरेर युद्धमा होमिए । २०६१ देखि २०६३ सम्म राजाले प्रत्यक्ष शासन चलाए । वि.सं.२०६४ देखि २०६८, वि.सं. २०७० देखि २०७२ सम्म भएका विभिन्न क्रियाकलाप पश्चात वि.सं.२०७२ असोज ३ गते नेपालले नयाँ संविधान प्राप्त गरेको थियो ।

यावत उतार चढावको विचमा कम्युनिष्ट पार्टीहरुले कुनै न कुनै रुपमा सत्तारोहण गरिरहे । तर, कम्युनिष्ट पार्टीले सोंचेको जस्तो समाजवादी व्यवस्था कायम गर्न विविध वाधा अडचनहरु व्यहोरी रहेका थिए । यद्यपि,संविधानमा समाजवाद उन्मुख लेख्न सफल भएपनि । नेपाली जनताहरुको आकर्षण वामपन्थीहरु प्रति अथाह थियो भन्ने सत्यता कम्युनिष्टहरु लाई दिएको मतबाट पनि आंकलन गर्न सकिन्छ । तर, विभिन्न खेमामा बाँडीएर रहेको वामपन्थीहरुको शक्ति विकेन्द्रीत भएकोले जनताको चाहनाहरु पुरा हुन सकेको थिएन ।

यसै कुरालाई ह््रदयङ्गम गर्दै वि.सं.२०७५ साल असोज ३ गते देशमा विद्यमान दुई ठुला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी (केन्द्र)विच एकता भएको थियो । जनताले भरोसा गरेका दुई कम्युनिष्ट पार्टीको एकतालाई २०७४ कोआनिर्वाचनमा अत्यधिक बहुमतका साथ स्थायी सरकार बनाउने अभिमत दिएर वाम एकता प्रति आफ्नो खुशि प्रकट गरेका थिए ।

क.केपि ओलीको नेतृत्व र क.प्रचण्डको साथले त्यतीबेलाको सरकारले जनताको जनजिविकाको सवाल, दुई छिमेकी देशसंगको सम्मानपूर्वकको समान सम्वन्ध कायम गर्नु, भौतिक पूर्वाधार विकास, राष्ट्रियताको सवालमा लिपुलेक–लिम्पियाधुरा समेत समावेश गरिएको नक्शालाई संसदबाट पूर्ण सहमतिका साथ मान्यता दिने कार्य, अंगिकृत नागरिकताको सवालमा लिएको राष्ट्रवादी निर्णयका कारण नेपाली जनताको माझमा जती ख्याती कमायो त्यती नै वाह््य देशहरुमा पनि आफ्नो क्षमता देखाउन सफल भएको थियो । राष्ट्रिय स्वाभिमानको सवालमा पक्ष प्रतिपक्ष नभई सबै एकतावद्ध भएर हिडन सकेमा जुनैपनि कार्यहरु सहजताका साथ गर्न सकिन्छ भन्ने उदाहरण पनि कम्युनिष्ट पार्टीको नेतृत्वले स्थापित गर्न सफल भएको थियो ।

वामपन्थीहरुको एकताबाट बनेको सरकारको कार्य देखेर आन्तरिक तथा वाह््य शक्तिहरु लाई असह्य पीडा भईरहेको थियो । क.केपि ओलीको सरकारलाई भित्र बाट असहयोग र बाहिरबाट घेर्ने कार्य भईरहेको थियो । देख्दा नेता द्वयेको संघर्ष जस्तो देखिएपनि कहि न कहि विचारको क्षयीकरण हो भन्दा अतिशयोक्ती नहोला । यीनै आन्तरिक संघर्षको कारण संसद विगठन देखि पार्टी फुट्ने सम्मको कार्य भए । जसलेगर्दा, जनताको अभिमतको अपमान त भयो नै समाजवाद उन्मुख कार्यहरु गर्न नपाउदै वामपन्थीहरु जनताको नजरमा दोषि हुन पुगे । त्यसको परिणाम २०७९ को निर्वाचनमा कम्युनिष्टहरु लाई जनताले दिएको अभिमतबाट नै बुझ्नलाई काफी छ ।

२०७९ को परिणाम प्राप्त भएपछिगठवन्धन पार्टीहरु विच सरकार निर्माणमा देखिएको आशक्तीको कारणले अन्यौलता सिर्जना गरीरहेको वेलामा क.प्रचण्डले नेकपा एमालेको सहयोगको अपेक्षा सहितको आग्रह पश्चात सारा तिक्तताहरु लाई विर्सिदै वामपन्थीको सरकार निर्माणमा नेकपा एमालेले साथ दियो । पुनः एकपटक वामपन्थीहरु लाई मिलेर जाने अवसर समयले जुराई दिएको थियो । तर,वामपन्थीको सरकारलाई वाह्य शक्तिले रुचाई रहेको थिएन । झिनामसिना कुरालाई आधार बनाएर अस्तित्व नै खतरामा पर्ने भयो जस्तो गरेर रातारात नेपाली कँग्रेससंग मिलेर सरकार परिवर्तन गर्ने कार्य गरियो । फेरी एकपटक समाजवादी आन्दोलनलाई धोखा दिने काम भयो । वामपन्थी एकताको आधारलाई भत्काउने कार्य भयो ।

२०८० सालमा फेरी एकचोटी वामपन्थीहरुलाई सुनौलो अवसर प्राप्त भएको छ । आफ्ना व्यक्तिगत ईच्छा आंकक्षालाई थाती राख्दै, अंहकारलाई परित्याग गर्दै कम्युनिष्टहरुको विचको एकतालाई मुर्तरुप दिन व्यवहारलाई सच्याउदै, एकअर्कालाई सम्मान गर्दै वाम एकतालाई सफलिभूत बनाउन सबै जिम्मेवार नेताहरु सजग र सचेत रहनु हुनेछ । अव,यो देशमा प्रगतिशिल र प्रजातान्त्रिक पार्टीविच ध्रुविकरण हुन जरुरी छ । धेरै पार्टीको उपस्थितीले राजनीतिमा तरलता उत्पादन गरिरहदो रहेछ । अहिले प्राप्त भएको अवसरलाई वामपन्थी एकतामा परिणत गर्न सक्यौ भने यो ऐतिहासिक र स्मरणयोग्य हुनेछ ।

आदरणीय क.मनमोहन अधिकारीको भनाई अनुसार, “नेता भन्दा नीति प्रधान हुन्छ ।” भन्ने भनाईलाई आत्मसात् गर्नुको विकल्प छैन । “मेरो गोरुको बाह्रै टक्का” भन्ने चरित्रपनि अव देखिनु हुदैन । वामपन्थीको एकता देख्न चाहने कार्यकर्ता र शुभचिन्तकहरुको लागि नेताहरु आदरणीय हुनुहुन्छ । जनताको जीवनस्तर उकास्ने, विकासको क्रमलाई अगाडी बढाउने, देशलाई सम्पन्न र समृद्धि तर्फ डो¥याउने अवसर पुनः प्राप्त भएको छ । यद्यपि, जटिल परिस्थितीमा सरकार बनेको छ । यसलाई असफल बनाउने प्रयत्न हुने नै छ । गठवन्धनको सरकार बनाउदाको संंवेदनशिलता आफ्नै ठाँउमा छ । यस्तो विषम परिस्थितीमा सम्पूर्ण नेतृत्वतहमा रहनु भएका नेताहरुले संयमता, धैर्यता देखाएर सरकारलाई पूर्ण समय वेझिझक कार्य गर्ने मौक दिनै पर्छ । सरकार चलाउनु प्राविधिक कुरा भएतापनि यो कार्यले वामपन्थी एकताको आधार तय गर्ने छ भन्ने हेक्का पनि नेतृत्वपंक्तीले राख्नु पर्छ ।

“समृद्ध नेपाल ः सुखि नेपाली” को सपनालाई साकार बनाउन एकतावद्ध पार्टी र आपसी एकता नै अपरिहार्य हुन्छ । हामीलाई थाहा छ नेताहरुले आफ्ना व्यक्तिगत स्वार्थलाई तिलान्जली दिएर, जीवनलाई राष्ट्र र जनताको नाममा न्यौछावर गरेर, जेलनेल र कैयौं त्रासदीपूर्ण समयलाई भोग्दै लडिएको लडाईको परिणाम आज हामी सबैले खुल्ला आकाशमुनी स्वतन्त्ररुपले स्वास फेर्न पाईरहेकाछौ । रैतीबाट सार्वभौम अधिकार सम्पन्न जनता बन्न पाएकाछौ । लामो संघर्ष पश्चात संविधानमा नै मौलिक हक,अधिकार सुनिश्चित गर्न, संविधानमा “संविधान उन्मुख” लेख्न पाएका छौ । तर, समाजवादी व्यवस्था प्राप्त गर्न अझै धेरै आरोह अवरोह पार गर्नु पर्ने छ ।

विश्व बजारमा देखिएको पूँजीवादको बोलबालालाई चिर्दै, दुई छिमेकी राष्ट्रहरुसंग मधुर सम्वन्ध कायम गर्दै आउने विषम चुनौतिहरुलाई व्यवस्थापन गर्दै यो देशलाई समृद्ध र नेपाली जनतालाई सुखि बनाउनु छ । यि सबै सपनाहरुलाई यथार्थमा परिणत गर्न सरकारमा रहेका पार्टीहरुले ईमान्दारीतालाई आत्मसात् गर्दै, आपसी विश्वासलाई कायम राख्दै, विशाल छाती, फराकिलो सोंच भयो भने मात्र सम्भव हुन्छ । निश्चितरुपले मिलिजुलि सरकारलाई समयावधि सम्मै कार्य गर्न पाउने वातावरण बनाई दिने विशेष कार्य नेकपा एमाले र नेकपा माओवादीकै हो भन्दा दुई मत नहोला । यि दुवै पार्टीले सुझबुझका साथ सरकार सन्चालन गरेमा वामपार्टीहरुको एकतालाई नै मलजल गर्ने छ । अन्यथा, भाई फुटे गँवार लुटे भन्ने उक्ति चरितार्थ नहोला भन्न सकिदैन ।

जनताले दिएको मतलाई सम्मान गर्ने वेलापनि हो यो अवसर । व्यक्तिगत स्वार्थका लागि वा देखाई दिन्छु भन्ने अंहमतामा सरकार ढाल्ने खेलमा लागियो भने वा यो अवसरलाई कम्युनिष्टहरुले उचितरुपमा उपयोग गर्न सकेनन भने ईतिहासले सराप्ने छ । यसर्थ,मिल्नु र आपसी एकताका साथ सरकारलाई स्थिरता दिनुको कुनै विकल्प नै छैन । सरकारलाई एउटै लयमा काम गर्न दिनु, सरकार नढाल्ने कुरामा नेताहरुलाई सचेत बनाउनु, सरकारको माध्यमबाट वामपन्थी एकताको डोरीलाई मजवुत बनाउने महत्वपूर्ण भूमिका निर्वाह गर्ने कार्य कार्यकर्ताहरुमा धेरै निर्भर पर्दछ ।

रुपमा नेकपा एमालेको साथले नेकपा माओवादीको नेतृत्वमा सरकार बनेको देखिन्छ । सारमा नेकपा एमाले र नेकपा माओवादीवीच पार्टी एकताको पनि सुरुवात हो भन्ने मेरो बुझाइृ छ । यद्यपि, मेरो बुझाई गलत होइन भने । यस्तो स्थितीमा नेता तथा कार्यकर्ताहरुले अति संयमित भएर,परिस्थितीको सुक्ष्म विश्लेषण गरेर मात्र आफ्ना मतहरु व्यक्त गर्नु पर्छ । यस घडीमा कार्यकर्ताहरु पनि उत्तेजित तथा आवेशमा नआई पार्टी नेतृत्वलाई एक हुन नैतीक दवाब सिर्जना गर्नु पर्छ । आउनुहोस हामी सबै मिलौं र पार्टी नेतृत्वलाई एक हुन र वामपन्थी एकता लाई जोड्दै कम्युनिष्ट पार्टीको ईतिहासलाई गौरवशाली बनाउन अपिल गरौं ।

कम्युनिष्टहरुले समृद्ध नेपालको परिकल्पना गर्दै निरङ्कुशता र एकतन्त्रिय शासनको विरुद्ध धेरै आन्दोलनहरु गरी सकेका छन । २००७ साल देखि २०४६ सालको आन्दोलनमा धेरै व्यक्तिहरुले शहादत प्राप्त गरीसक्नु भएको छ । कैंयौं व्यक्तिहरु अहिले पनि अपाङ्ग भएर जिवन गुजार्नु परेको छ भने, र्कैयौ व्यक्तिहरु शरिरमा गोली बोकेर बाँच्नु परेको छ । ंउदेश्य एउटै, लक्ष्य एउटै, सिद्धान्त उस्तै तरपनि वामपन्थीहरु विभिन्न चिरामा रहेका कारण लक्ष्य प्राप्तीमा चुकीरहेका छन । सबै नेताहरु देश र जनताप्रति ईमान्दार भई, ईच्छा शक्ति मजवुत रह्यो भने हरेक उदेश्यहरुलाई सहजताको साथ प्राप्त गर्न सकिन्छ र कुनैपनि शक्तिले कम्युनिष्टहरु लाई विभक्त गर्न सक्दैन ।

अहिले दोस्रो पटक फेरी कम्युनिष्टहरुले वाम एकताको अमूल्य अवसर प्राप्त गरेका छन । यो घडीलाई बडो सुझबुझ र ईमान्दारीका साथ आत्मसात् गरेमा २०८४ को निर्वाचनमा वाम एकताको विजय सुनिश्ति हुनेछ । मेरो अनुरोध छ हाम्रा आदरणीय नेतागणहरुसंग, जनताले चाहेको वामपन्थीको एकतालाई पूनर्जिवित गर्दै, विगतमा भएको कमिकिमजोरी लाई नदोह¥याउने प्रणका साथ वामपन्थी एकताको लागि ईमान्दार र परिणाममुखी पहल होस । अन्यथा, पाप लाग्ने छ कार्यकर्ताहरुको अनि सदैव धिक्कार्ने छ ईतिहासले साथै भाविपुस्ताले पनि ।

यसर्थ, एक युगमा एक पटक मौका आउछ, अएको यो अवसरलाई भरपुर उपयोग गरौं,जुटौं ईतिहास रचौं ।

प्रतिक्रिया

सम्बन्धित खवर