ट्रकको आगलागीले कर्णाली पुलमा क्षति, आवतजावतको लागि वैकल्पिक बाटो प्रयोग गर्न प्रशासनको आग्रह
बुधबार, फागुन ३०, २०८० मा प्रकाशित

बर्दिया, फागुन ३०/ गुडिरहेको लाइटर बोकेको ट्रकमा एकाएक आगो लागेपछि चिसापानीस्थित कर्णाली पुलमा नै क्षति पुगेको छ । जसका कारण राजमार्ग नै अवरूद्ध हुन पुगेको छ । बर्दियाका प्रहरी प्रमुख एसपी प्रवीण धितालले चिसापानीस्थित कर्णाली पुलमा ट्रकमा सल्किएको आगोले केही क्षति हुन गएको जानकारी दिए ।

उनका अनुसार अहिले पुलमा सवारी आवतजावत रोकिएको छ । झन्डै आठदेखि दस मिटरजति पुलका सपोट लठ्ठाहरु जलेको अवस्था रहेकाले जोखिमलाई ध्यानमा राखेर सवारी आवामगन रोकिएको उनले बताए । ‘पुलमाथि आगोको मुस्लोका कारण तार र लठ्ठाको कभरिङहरू जलेका छन्,’ उनले भने ‘ती सपोर्ट लठ्ठाभित्र ग्रिज लगाइ बाहिर प्लाष्टिकको कभरेज गरिएको रहेछ ।’

चिसापानीको यो पुल एउटा पिलरमा मात्रै ठडिएको छ भने वारपार तारहरूको सपोर्ट छ । एसपी धितालका अनुसार पुलमाथि सेल्फी खिचिरहेका युवाले ट्रकमा आगो लागेको बताएका थिए । त्यसपछि चालक पुलको बीचमै ट्रक छाडेर भागेका थिए । लाइटरलगायत अति प्रज्ज्वलनशील वस्तु बोकेर गुडिरहेको ट्रकमा आगो सल्किएपछि त्यो निभाउन मुस्किल परेको एसपी धितालले बताए ।

‘बालुवा, माटो वा पानी जे हाले पनि झनै आगो बल्थ्यो,’ एसपी धितालले भने ‘साढे चार बजेतिर सल्किएको आगो राति साढे ९ बजेतिर बल्ल नियन्त्रणमा आयो ।’ वीरगञ्जबाट धनगढीतर्फ जाँदै गरेको ना ५ ख ५२९७ नम्बरको ट्रक र ट्रकको सबै सामान जलेर नष्ट भएको छ ।

पूर्वपश्चिम राजमार्गमा चल्ने सवारीसाधन कैलालीको लम्कीदेखि टीकापुर, बर्दियाको राजापुर, भुरीगाउँको वैकल्पिक मार्ग हुँदै पठाइएको छ । पुलको अवस्था जाँच गरेपछि वा मर्मत नहुञ्जेल राजापुरस्थित सत्ती पुल, कोठियाघाट गेरूवापुल, गुलरिया, नेपालगन्ज हुँदै यात्रा गर्न प्रहरी प्रशासनले आग्रह गरेको छ । एसपी धितालका अनुसार पुलमा पुगेको क्षतिका कारण झन्डै ५० किलोमिटर घुमाउरो बाटो यात्रा गर्नु पर्ने अवस्था सिर्जना भएको छ ।

पुलमा आगलागीबाट भएको क्षतिको अवस्था बुझ्न बुटवलबाट मंगलबार नै एउटा टोली आउन थालेको एसपी धितालले बताए । उपकरणसहित टोली आएर अवस्था जाँच गरेपछि मात्रै पुलमा सवारी साधन चलाउन मिल्ने नमिल्ने यकिने हुने एसपी धितालले बताए ।

आगलागीको कारण यकिन भइ नसके पनि पुल नजिकै ठूला ब्रेकरहरू रहेको र ती ब्रेकरमा ब्रेक लगाउँदा घर्षण उत्पन्न भइ ट्रकमा आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ । ‘चालकले गति सीमित गर्न स्पिड ब्रेकरमा एकाएक ब्रेक हानेपछि उत्पन्न घर्षण कारण लाइटरबाट आगो सल्क्यो कि, ट्रकको आन्तरिक वाइरिङबाट आगो लाग्न पुग्यो, यकिन भइ सकेको छैन,’ एसपी धितालले भने । एकाएक ट्रकमा भएको आगो लागेपछि कतिपय सवारीसाधनहरू सडकमै रोकिएको प्रहरीले बताएको छ । स्रोत सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर